
सिनेमाको प्रचलित भाषा हो, ‘मसाले दार’ र ‘मल्टिस्टारर’ । यसअनुसार एउटा सिनेमाभित्र अनेकन् मनोरञ्जक तथा बहु पात्रको उत्कृष्ट प्रस्तुति भन्ने बुझिन्छ । देशको राजनीति पनि प्रचलित वा परम्परागत ढर्रामा अगाडि बढिरहेको छैन । राजनीतिमा गैर राजनीतिक पात्रहरूको प्रवेशले यसलाई रोमाञ्चक, प्रेरणादायी र उत्सुकतापूर्ण बनाइरहेको छ । यसैभित्रको एउटा नाम हो, रिमा विश्वकर्मा ।
यो नाम नेपाली कलाकारिता र आमसञ्चारको क्षेत्रमा स्थापित छ । सानो पर्दामा कार्यक्रम प्रस्तोताको रूपमा बाल्यकालमै उदाएकी, म्युजिक भिडियो र चलचित्रमा अभिनयको जादु छरेको र ‘नेपाल आइडल’ वा ‘कमेडी च्याम्पियन’ जस्ता रियालिटी शोमार्फत घर–घरमा बौद्धिक प्रस्तोताको छवि बनाएको नाम हो, रिमा । उनी अर्को एउटा गह्रौँ जिम्मेवारी बोक्न तम्सिएकी छन् । त्यो हो, राजनीति ।
हालै घोषणा भएको र ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाल्दै रिमाले औपचारिक रूपमा राजनीतिमा होमिएको घोषणा गरेकी छन् । उनको यो निर्णय केवल एउटा कलाकारको रहर मात्र होइन, समकालीन नेपाली राजनीतिमा देखिएको वितृष्णा, युवा पुस्ता (जेन-जी) को विद्रोह र नेतृत्व परिवर्तनको हुटहुटीको एउटा प्रतिविम्ब पनि हो । पार्टी घोषणा सभामा उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली लगायत पुराना दलका शीर्ष नेतामाथि गरेको खरो टिप्पणीले अहिले सामाजिक सञ्जाल तताएको छ ।
बौद्धिक कलाकारका रूपमा परिचित: बाल्यकालदेखिको जग
रिमा विश्वकर्माको परिचयलाई केवल ‘ग्ल्यामर’ सँग जोडेर हेर्नु अन्याय हुन्छ । उनको सार्वजनिक जीवनको सुरुवात क्यामेराको लेन्स अगाडि अभिनय गरेर होइन, बोल्न सिकेर भएको थियो । नेपाल टेलिभिजनको लोकप्रिय बाल कार्यक्रम ‘जाँदाजाँदै’ बाट प्रस्तोता (भीजे) को रूपमा करियर सुरु गर्दा उनी निकै कलिली थिइन् । त्यहीँबाट उनले क्यामेरा फेस गर्ने, शब्द उच्चारण गर्ने र आम मानिससँग संवाद गर्ने कला सिकिन् ।
प्रधानमन्त्री ओली जस्ता शीर्ष नेतालाई मञ्चबाटै ललकार्ने उनको साहसले उनीभित्रको ‘आगो’ देखाउँछ । तर, यो आगोले न्यानो दिन्छ वा आफैँलाई डढाउँछ, त्यो उनको आगामी कार्यशैलीमा भर पर्छ ।
धेरै कलाकार अभिनयमा जमेपछि मात्र अध्ययन वा अन्य विधामा लाग्ने गर्छन्, तर रिमाले पत्रकारिता र आमसञ्चार विषयमा स्नातक (बीए) अध्ययन गर्दै आफूलाई शैक्षिक रूपमा पनि अब्बल साबित गरिन् । यही शैक्षिक पृष्ठभूमिले उनलाई अन्य कलाकारभन्दा फरक र ‘बौद्धिक’ कोटीमा उभ्यायो । उनले ‘स्वर’ चलचित्रबाट अभिनय यात्रा सुरु गरिन्, ‘भिसा गर्ल’, ‘बाटो मुनिको फूल–२’ जस्ता चलचित्रमा काम गरिन् । तर, उनलाई ‘मास’ ले चिनेको र पत्याएको भने टेलिभिजन होस्टिङबाटै हो । चाहे त्यो विश्व प्रतिष्ठित फ्रेन्चाइज ‘नेपाल आइडल’ होस् वा ‘कमेडी च्याम्पियन’, रिमाले मञ्च सञ्चालनमा देखाएको वाकपटुता, उपस्थितिलाई नियन्त्रण गर्ने क्षमता र तार्किक प्रस्तुतिले उनलाई केवल ‘नायिका’ मात्र रहन दिएन, एक ‘ओपिनियन मेकर’ बनायो ।
जेन-जी आन्दोलन र ‘इन्फ्लुन्जर’ ट्यागको प्रतिवाद
पछिल्लो समय नेपालमा ‘जेन-जी’ अर्थात् नयाँ पुस्ताको राजनीतिक चेतना ह्वात्तै बढेको छ । सामाजिक सञ्जालमा तिखो आलोचना गर्ने, सडकमा प्रश्न सोध्न निस्कने यो जमातलाई कतिपयले ‘फेसबुकिया क्रान्तिकारी’ वा ‘भर्चुअल इन्फ्लुन्जर’ मात्र भनेर होच्याउने प्रयास गरे । रिमा विश्वकर्मा पनि सामाजिक सञ्जालमा समसामयिक विषयमा खरो टिप्पणी गर्ने गर्छिन् । उनलाई पनि धेरैले ‘तिमीहरू हिरो–हिरोइन हौँ, टिकटक र इन्स्टाग्राममै ठिक छौ, राजनीति तिमीहरूको बसको कुरा होइन’ भन्ने आशयका ‘ट्याग’ भिराउने कोसिस गरे ।
रिमाको राजनीति प्रवेशलाई यही ‘ट्याग’ को एउटा सशक्त प्रतिवादका रूपमा लिन सकिन्छ । उनले घुमाउरो पाराले सन्देश दिइन्, ‘हामी स्क्रिनमा मात्र होइन, सडक र सदनमा पनि बोल्न सक्छौँ । हामीसँग ‘फलोअर्स’ मात्र होइनन्, ’भिजन’ पनि छ ।’ सामाजिक सञ्जालको ‘इन्फ्लुन्जर’ को परिचयलाई बदलेर ‘पोलिटिकल लिडर’ बन्ने उनको यो छलाङले ती आलोचकलाई जवाफ दिएको छ, जो कलाकारलाई केवल मनोरञ्जनको साधन ठान्थे । उज्यालो नेपाल पार्टी रोज्नुको पछाडि कुलमान घिसिङ जस्ता ‘कर्मयोगी’ पात्रको अप्रत्यक्ष वा प्रत्यक्ष छाया हुनुले पनि रिमाको छनोटलाई परिपक्व देखाउँछ । उनी भीडको पछि मात्र नलागी, नतिजामुखी काममा विश्वास गर्ने पार्टीसँग जोडिएकी छन् ।
ओलीमाथि खरो प्रहार: भाइरल भाषणको विश्लेषण
उज्यालो नेपाल पार्टीको घोषणा सभामा रिमा विश्वकर्माको भाषण शैली कुनै अनुभवी नेताको भन्दा कम थिएन । उनले मञ्चबाटै प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पुस्तालाई अब बिदा लिन चेतावनी दिइन् । भाइरल भएको भिडियो क्लिपमा उनको भनाइको सार थियो, ‘तपाईँहरूले देश बनाउँछु भन्दाभन्दै दशकौँ बित्यो, तर नतिजा देखिएन । अब भाषण होइन, काम चाहिएको छ ।’ उनले कुलमान घिसिङले लोडसेडिङ अन्त्य गरेर जनताको जीवनमा प्रत्यक्ष उज्यालो ल्याएको उदाहरण दिँदै भनिन्, ‘राजनीति भनेको भाषण छाँट्ने होइन, जनताको दैनिक जीवनमा परिवर्तन ल्याउने हो । जसरी कुलमान सरले स्वीच थिचेर उज्यालो ल्याउनुभयो, अब राजनीतिमा पनि त्यस्तै ’एक्सन’ चाहिएको छ । पुराना नेताको ‘म्याद’ सकियो ।’
यसले उनलाई ‘सेलिब्रेटी’ मात्र नभई ‘लिडर’ को रूपमा स्वीकार्न जनतालाई सहज बनाउँछ । चौथो उज्यालो नेपाल पार्टीसँग जोडिनु, जसको पृष्ठभूमिमा कुलमान घिसिङ जस्ता विश्वासिला पात्र छन्, रिमाका लागि ठूलो ‘ब्याकिङ’ हो । जनताले यो पार्टीलाई ‘काम गर्नेको समूह’ का रूपमा हेर्ने सम्भावना भएकाले कुलमान फ्याक्टर छ ।
उनको यो आक्रामक अभिव्यक्तिले धेरैको ध्यान तान्यो । कतिपयले यसलाई ‘चर्चाका लागि स्टन्ट’ भने भने धेरैले ‘युवाको मनको भडास’ भनेर समर्थन गरे । तर, एउटा कुरा पक्का छ, रिमा अब केवल ‘स्क्रिप्ट’ पढ्ने प्रस्तोता होइनन्, उनी आफ्नै ‘न्यारेटिभ’ सेट गर्न सक्ने वक्ता हुन् भन्ने उनले प्रमाणित गरिन् ।
राजनीतिमा रिमा: सम्भावनाका ढोका
रिमाको राजनीति यात्रामा सफलताका थुप्रै सम्भावना देखिन्छन् । राजनीतिमा सञ्चार सबभन्दा ठूलो हतियार हो । रिमासँग मानिसलाई कन्भिन्स गर्ने, स्पष्ट बोल्ने र तर्क राख्ने गजबको वाककला क्षमता छ । यो उनका लागि ठूलो सम्पत्ति हो । दोस्रो उनी युवा पुस्तामाझ लोकप्रिय छिन् । नयाँ मतदाता पुराना दलको विकल्प खोजिरहेका बेला रिमा जस्तो ‘फ्रेस फेस’ ले युवालाई आकर्षित गर्न सक्छ । तेस्रो उनी केवल ग्ल्यामरस मात्र छैनन्, शिक्षित र समसामयिक विषयमा जानकारी राख्ने व्यक्ति भएकाले बौद्धिक छवि देखिन्छ ।

यसले उनलाई ‘सेलिब्रेटी’ मात्र नभई ‘लिडर’ को रूपमा स्वीकार्न जनतालाई सहज बनाउँछ । चौथो उज्यालो नेपाल पार्टीसँग जोडिनु, जसको पृष्ठभूमिमा कुलमान घिसिङ जस्ता विश्वासिला पात्र छन्, रिमाका लागि ठूलो ‘ब्याकिङ’ हो । जनताले यो पार्टीलाई ‘काम गर्नेको समूह’ का रूपमा हेर्ने सम्भावना भएकाले कुलमान फ्याक्टर छ ।
रिमाका सामु चुनौतीका पहाड
तर, रिमाको बाटो फुलको ओछ्यान मात्र पक्कै छैन । उनका अगाडि पहाड जत्रा चुनौती पनि छन् । जसमा नेपालमा कलाकार राजनीतिमा आउने र असफल हुने वा निष्क्रिय बन्ने इतिहास लामो छ जसमा भुवन केसी, करिश्मा मानन्धर, रेखा थापा लगायत त्यसका उदाहरण भएकाले ‘सेलिब्रेटी’ राजनीतिको इतिहास त्यति धेरै उपलिब्धमुलक देखिँदैन । रिमालाई पनि जनताले ‘केही समयको रहर’ भनेर शंकाको दृष्टिले हेर्न सक्छन् । त्यो शंका चिर्नु उनको पहिलो चुनौती हो । दोस्रो पत्रकारिता र कलाकारिता ‘इन्डिभिजुअल’ अर्थात् व्यक्तिगत खेल हो, तर राजनीति ‘टिम गेम’ हो । पार्टीको संगठन निर्माण, कार्यकर्ता परिचालन र गुटबन्दी व्यवस्थापनमा रिमाको अनुभव शून्य भएकाले संगठनको अनुभव अभाव खड्किन सक्छ ।
यस्तै राजनीति २४ सै घण्टाको जागिर हो । सुटिङ, कार्यक्रम र विदेश भ्रमणको व्यस्तताका बीच उनले पार्टी र जनतालाई कति समय दिन सक्छिन् रु यदि उनी पार्ट–टाइम राजनीतिज्ञ बनिन् भने निरन्तरताको प्रश्नले उनको पतन निश्चित छ । त्यो सँगै कलाकारितामा फ्यानको ताली र प्रशंसा धेरै पाइन्छ, तर राजनीतिमा गाली, ट्रोल र चरित्रहत्याको प्रयास सामान्य हो । रिमाले प्रधानमन्त्री ओलीविरुद्ध बोल्दा जति ताली पाइन्, भोलि आफैँमाथि प्रश्न उठ्दा त्यो दबाब झेल्न सक्छिन् कि सक्दिनन् रु आलोचना सहने क्षमता बलियो चाहिन्छ ।
सफल राजनीतिज्ञ बन्न रिमालाई सुझाव
रिमा विश्वकर्माको राजनीतिक यात्रालाई सुखद र परिणाममुखी बनाउन केही सुझाव छन् । सबैभन्दा पहिलो उनीमा अध्ययन र धैर्यता हुन जरुरी छ । राजनीतिमा आवेगले ताली त दिलाउँछ तर भोट दिलाउँदैन । उनले नेपालको भू–राजनीति, अर्थतन्त्र र नीति निर्माणको गहिरो अध्ययन गर्नुपर्छ । केवल विरोध गरेर मात्र नेता भइँदैन, विकल्प दिन सक्नुपर्छ ।
सामाजिक सञ्जाल र काठमाडौंका कार्यक्रममा मात्र सीमित नभई, उनले दूर दराजका गाउँ बस्तीमा पुगेर जनताका वास्तविक समस्या बुझ्नुपर्छ । ‘भर्चुअल’ दुनियाँबाट बाहिर निस्केर ‘रियल’ दुनियाँको धुलोमा काम गर्नुपर्छ । राजनीतिलाई ‘साइड जब’ नबनाउन् । यदि साँच्चै परिवर्तन चाहेको हो भने, कलाकारितालाई केही समयका लागि गौण राखेर पूर्णकालीन राजनीतिमा होमिनु बुद्धिमानी हुन्छ । आफूलाई केन्द्रमा राख्ने कलाकारिताको बानी त्यागेर, सामूहिक निर्णय र सहकार्यको संस्कार विकास गर्नुपर्छ । अब उनले ‘कमेडी’ वा ‘रियालिटी शो’ को जज जसरी होइन, संसदमा नीतिगत बहस गर्ने तयारीका साथ बोल्नुपर्छ । उनका हरेक अभिव्यक्तिमा तथ्य र तथ्यांक हुनुपर्छ ।
एक आशालाग्दो तर जोखिमपूर्ण रिमाको यात्रा
रिमा विश्वकर्माको उज्यालो नेपाल पार्टीमार्फत राजनीतिमा आगमन नेपाली राजनीतिको आकाशमा देखिएको एउटा चम्किलो तारा हो । यसले राजनीतिमा युवा, महिला र बौद्धिक वर्गको हस्तक्षेपको मागलाई सम्बोधन गरेको छ । प्रधानमन्त्री ओली जस्ता शीर्ष नेतालाई मञ्चबाटै ललकार्ने उनको साहसले उनीभित्रको ‘आगो’ देखाउँछ । तर, यो आगोले न्यानो दिन्छ वा आफैँलाई डढाउँछ, त्यो उनको आगामी कार्यशैलीमा भर पर्छ ।
यदि उनले आफ्नो ‘स्टारडम’ लाई सही सदुपयोग गर्दै नीतिगत परिपक्वता देखाउन सकिन् भने उनी नेपाली राजनीतिको ‘गेम चेन्जर’ बन्न सक्छिन् । अन्यथा, यो केवल अर्को एउटा ‘सेलिब्रेटी स्टन्ट’ मा सीमित हुनेछ । रिमाको परीक्षा अब सुरु भएको छ र यो परीक्षाको प्रश्न पत्र उनले सोचेजस्तो सजिलो पक्कै हुनेछैन । शुभकामना, रिमा जी ! स्क्रिनको ‘हिरोइन’ अब जनताको ’हिरो’ बन्न सक्नू ।

Leave a Reply