गगन थापा काठमाडौं- ४ बाट पनि एकल सिफारिस, समानुपातिक र राष्ट्रियसभाका निम्ति को को परे ?

काठमाडौं । फागुन २१ मा हुने आम निर्वाचनका निम्ति नेपाली कांग्रेसले देशभरबाट उम्मेदवारी सिफारिसको क्रम चलाएपछि रोल्पाबाट संघीय सांसदका निम्ति एकल सिफारिसमा परेका महामन्त्री गगनकुमार थापा काठमाडौंको क्षेत्र नम्बर ४ बाट पनि एकल सिफारिसमा परेका छन् ।

नेपाली कांग्रेस, क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति श्यामकृष्ण संगतको अध्यक्षतामा बुधबार सम्पन्न बैठकले महामन्त्री थापाको नाम सिफारिस गरेको हो ।

बैठकको निर्णय सुनाउँदै क्षेत्रीय सचिव दामोदर भट्टराई (बद्री) ले भने, ‘संघीय संसदका निम्ति महामन्त्रीको नाम एकल रुपमा, समानुपातिक र राष्ट्रियसभाका निम्ति पनि उपयुक्त नामहरु सिफारिस गरेका छौँ ।’

बैठकले प्रतिनिधिसभाको समानुपातिकतर्फ राधा घले, विसुकुमार केसी र राजन विश्वकर्माको नाम सिफारिस गरेको छ । घले र विश्वकर्मा नेपाली कांग्रेसमा लामो समयदेखि सक्रिय स्थानीय नेता हुन् । केसी प्रशासनिक र साहित्यिक गतिविधिसँगै लामो समयदेखि नेपाली कांग्रेसमा आवद्ध रहँदै आएका छन् ।

बैठकले राष्ट्रियसभाको सदस्यका निम्ति राजनीतिक विश्लेषक अरुणकुमार सुवेदी, सुदर्शन आचार्य, दिव्यमणि राजभण्डारी, कर्माछिरिङ शेर्पा, अनारदेवी बस्नेत, उमेश थानीसहितलाई सिफारिस गरेको छ । सुवेदी विश्व राजनीतिलाई शुक्ष्म विश्लेषण गर्ने कुशल लेखक मानिन्छन् ।

आचार्य पत्रकारिता पृष्ठभूमिका हुन् । उनी नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकका पूर्वअध्यक्ष हुन् । हाल कांग्रेससम्वद्ध लेखक तथा चिन्तकहरुको संस्था नेपाली लेखक संघका केन्द्रीय सदस्य हुन् । उनी नेपाल प्रेसका स्तम्भकार पनि हुन् ।

राजभण्डारी २०७४ मा कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा समानुपातिक सांसद थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *