प्रदेश स्वास्थ्यमन्त्रीको गुनासोः पाँच वटा अस्पताल प्रदेशस्तरीय बनाउन खोज्दा अर्थले दिएन बजेट

काठमाडौँ । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले बागमती प्रदेशभित्रका ५ वटा आधारभूत अस्पताललाई प्रदेशस्तरका अस्पताल बनाउन लागेको तर समस्या भइरहेको बताएका छन् ।

सिन्धुलीको दुधौली नगरपालिकामा आयोजित मेडिकल उपकरण हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री थापाले प्रदेश अस्पताल बनाउने काममा उल्झन भइरहेको बताए । उनले प्रदेशस्तरीय अस्पताल बनाउने काममा अर्थ मन्त्रालयले बजेट विनियोजन नगर्दा आफ्ना योजना सफल हुन नसकेको सुनाए ।

कार्यक्रममा मन्त्री थापाले स्वास्थ्य क्षेत्रको विकासको लागि सबैले भूमिका खेल्नु पर्ने बताए । उनले अझै पनि नेपालको स्वास्थ्य क्षेत्र प्राथमिकतामा नपरेको गुनासो गरे ।

तीनवटै तहका सरकारले कार्यक्रम बनाउँदा र नागरिकले योजना माग गर्दा समेत भौतिक पूर्वााधरमा जोड दिने तर स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा नराख्ने अनुभव उनले सुनाए । ‘हामी बाटो, पुल, सिँचाइ लगायत अनेक संरचनामामा बजेट छुट्याउँछौँ तर स्वास्थ्यलाई छुट्याउँदैनौँ’, उनले भने ।

एउटा नागरिक स्वास्थ्य हुँदा सिङ्गो समाज स्वास्थ्य हुन्छ भन्ने कुरामा ध्यान जान नसकेको उनको भनाई छ । ‘हामीले नागरिकको स्वास्थ्यमा खेलबाड गरिरहेका छौँ, स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट छुट्याउँदा मात्र हामीलाई स्वास्थ्य नागरिक बनाउन सक्छौँ,’ उनले भने ।

उनले अस्पतालहरू राज्य र नागरिकका प्राथमिकतामा पर्नुपर्नेमा जोड दिए । उनले सिन्धुलीको दुधौली, रामेछापको मन्थली लगायतका अस्पतालहरूमा बिरामीको अत्यधिक चाप भएकोले ती अस्पताललाई प्रदेशस्तरका अस्पताल बताउन अति आवश्यक रहेको बताए । यसको लागि आफूले पहल गरिरहेको थापाले जानकारी दिए ।

कार्यक्रममा स्वास्थ्य विभाग टेकु र बागमती प्रदेश स्वास्थ्य मन्त्रालयलाई अक्सिजनका कन्सटेटर, बेड, ह्विलचियर लगायतका सामाग्री हस्तान्तरण गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *