
काठमाडौं । भारतीय स्टार महिला क्रिकेटर स्मृति मन्धनाको बहुप्रतिक्षित विवाह रोकिएपछि विभिन्न खाले अड्कालवाजी र टीकाटिप्पणी भइरहेका छन् । दुवै पक्षबाट विवाह रोकिनुको वास्तविक कारण सार्वजनिक गरिएको छन् ।
स्मृतिले ६ वर्षदेखिका प्रेमी पलाँस मुच्छलसँग इन्गेजमेन्ट गरेकी थिइन् । मुच्छलले मुम्बईको डिवाइ पाटिल क्रिकेट रंगशालाको पीचमै स्मृतिलाई औँठी लगाइदिएका थिए ।

२३ नोभम्बरमा विवाह गर्ने तय भएको थियो । विवाहपूर्वका विभिन्न समारोहहरू भइरहेका थिए । मेहेन्दी र संगीत समारोह भइसकेका थिए । अचानक बिहे स्थगित भएको सूचना आयो ।
स्मृतिका पिता अस्वस्थ भएर अस्पताल भर्ना गर्नु परेको र यही कारणले विवाह हाललाई रोकिएको दुवै पक्षबाट बताइयो । तर, विवाहको अर्को मिति तोकिएन । त्यसलगत्तै स्मृतिले पलाससँगका सबै तस्बिर र भिडिओहरू आफ्नो सामाजिक सञ्जाल अकाउन्टबाट हटाइदिएपछि सनसनी मच्चियो । यति मात्र होइन, स्मृतिका नजिकका क्रिकेटर साथीहरू र भाइले पलासलाई इन्स्टामा अनफलो गरिदिएपछि उनीहरुबीचको सम्बन्धमा ठूलै तनाव उत्पन्न भएको स्पष्ट संकेत मिल्यो । अन्ततः स्मृति र पलास दुवै विवाह सधैँका लागि रद्द भएको स्वीकारोक्ति बयान दिएका छन् ।

स्मृतिले इन्स्टामा हालेको पोस्ट यस्तो छ:
गत केही हप्ताबाट मेरो निजी जीवनबारे धेरै अड्कलबाजी भइरहेका थिए, र अहिले बोल्नु आवश्यक छ भन्ने मलाई लाग्छ । म अत्यन्तै निजी स्वभावको मान्छे हुँ र कुरा त्यत्तिकै राख्न चाहन्थेँ, तर म यो स्पष्ट गर्न चाहन्छु कि विवाह रद्द गरिएको छ । यस विषयलाई यहीँ अन्त्य गर्न चाहन्छु र तपाईँ सबैलाई पनि यही गर्न अनुरोध गर्दछु । कृपया दुवै परिवारको गोपनीयताको सम्मान गर्नुहोला र हामीलाई आफ्नै गतिमा यो प्रक्रियालाई बुझ्न र अघि बढ्न आवश्यक समय दिनुहोला । तपाईँहरूको सबै समर्थनका लागि धन्यवाद । अब अघि बढ्ने समय आएको छ ।
स्मृतिपछि पलाँसले पनि पोस्ट गरे । उनले आफूहरूको विवाह रद्द गरिएको विषयमा टीकाटिप्पणी गर्नेहरूमाथि कानूनी उपचार खोज्ने धम्की पनि दिएका छन् ।
पलासको पोस्ट यस्तो छ:
मैले अब आफ्नो जीवनमा अगाडि बढ्ने र व्यक्तिगत सम्बन्धबाट पछि हट्ने निर्णय गरेको छु । मेरो लागि निराधारका हल्लाहरूमा मानिसहरूले यति सजिलै प्रतिक्रियाहरू दिएको देख्नु निकै पीडादायी रह्यो— किनकि त्यो कुरा मेरो लागि अत्यन्त पवित्र थियो । यो मेरो जीवनको सबैभन्दा कठिन चरण हो र आफ्ना विश्वासहरू समातेर म यसलाई शान्त रूपमा सामना गर्नेछु ।
म साँच्चै आशा गर्छु कि हामी समाजका रूपमा, पहिचान नखुलेका स्रोतका अप्रमाणित गफका आधारमा कसैलाई जज गर्नुअगाडि केही समय थामिन सिकौँ । हाम्रा शब्दहरूले कहिले–कहिले यस्तो चोट पुर्याउन सक्छन् जसको गहिराइ हामीले कहिल्यै नबुझ्न सक्नेछौँ । मेरो टोली झूटो र मानहानिका सामग्री फैलाउनेहरू विरुद्ध कडा कानुनी कदम चाल्नेछ ।
दुवैको पोस्टमा मुख्य फरक भनेको यही छ कि पलासले ‘झूटा हल्ला फैलाउनेलाई’ कानूनी कदम चाल्ने चेतावनी दिएका छन्, जुन स्मृतिको पोस्टमा छैन ।
पलासकी आमाले स्मृतिका पिताको स्वास्थ्यका कारण आफ्नो छोराले नै अहिले विवाह रोक्ने निर्णय लिएको दाबी गरेकी थिइन् ।
उनले लेखेकी थिइन्, ‘पलास स्मृतिका पितासँग भावनात्मकरुपमा गहिरोसँग जोडिएको थियो । खासमा स्मृतिभन्दा पनि उनको बाबुलाई माया गर्थ्यो । जब उहाँ अस्वस्थ हुनुभयो, स्मृतिभन्दा अगाडि पलासले नै विवाह अहिले रोक्ने निर्णय गरेको हो ।’
हुनेवाला ससुराको चिन्ताले गर्दा पलास आफैँ बिरामी परेर अस्पताल भर्ना हुनुपरेको समेत हल्ला उनको परिवारको तर्फबाट चलाइएको थियो । स्मृतिका बुवा पुरा स्वस्थ भएपछि विवाह हुने दाबी पलासकी आमाले गरेकी थिइन् । तर, उक्त दाबी सत्य ठहरिएन । बरु पलासले स्मृतिलाई चिट गरेर अन्य युवतीहरूलाई एप्रोच गरेका प्रमाणहरू बाहिरिएका छन् । यही कारणले नै स्मृतिले विवाह नगर्ने निर्णय लिएको र उनका पितालाई हार्ट अट्याक आएको चर्चा सोसल मिडियामा व्याप्त छ ।
एक साताअघि मेरी डिकोस्टा नामकी युवतीले इस्न्टामा हालेका स्क्रिनसटहरुले सनसनी नै मच्चायो । ती स्क्रिनसट थिए केही समयअघि मात्रै पलासले उनीसँग गरेको गोप्य च्याटका । उक्त च्याट पढ्दा पलासले डिकोस्टालाई डेटका लागि लागि एप्रोच गरिरहेको स्पष्ट हुन्छ ।
संवादको सानो अंश यस्तो छन्:
पलास- अर्को हप्ता तिमी फ्री भएको दिन हामी मेरियट होटलमा स्वीम गर्न जाऊँ
मेरी– तर, तिमी त (अरुसितै) प्रेममा छौ होइन ? (रोएको इमोजी)
पलास– त्यसको मतलब हामी एकसाथ स्वीम गर्न जानै नहुने हो र ?
मेरी– तर मानिसहरूले तिमीलाई चिने भने त तनाव हुन्छ नि ?
पलास– म साथीहरूसँग चिल गरिरहेको हुन्छु । त्यसमा अनौठो केही छैन ।
मेरी– तिमी उनलाई (प्रेमिका) लाई हरेक दिन भेट्दैनौ ?
पलासः नसोध यार । लामो दुरीले वाक्क लाग्छ । कहिलेकाहीँ ३–४ महिनासम्म भेट हुँदैन । अधिकांश समय त हाम्रो रिलेसनसीप मृत अवस्थामा हुन्छ ।
मेरी– तर तिमी उनलाई माया त गर्छौ नि ।
पलास– अब यही मात्रै कुरा गर्ने हो र ? भोलि तिमी के गर्दैछौ ?
मेरी– त्यस्तो केही छैन ।
पलास- हामी कहिले भेट्ने त ? हाम्रो स्पा पनि पेन्डिङ छ ।
मेरी रोड्रिगेजले योबाहेक अरू पनि थुप्रै स्क्रिनसट हालेकी छन्, जसले पुष्टि गर्छ कि स्मृतिसँग रिलेसनसिपमा हुँदाहुँदै मेरीसँग डेट जाने पलासले भरमग्दुर प्रयास गरेका थिए । पलासले भेट्ने अफर गरे पनि आफूले नभेटेको दाबी मेरीले गरेकी छन् ।

यतिले नपुगेर अर्को अझै संवेदनशील घटना बाहिर आएको छ, जसअनुसार बिहेको अघिल्लो रात पलास अर्कै युवतीसँग थिए । ती युवती अरू कोही नभएर विवाहका लागि बोलाइएकी कोरियोग्राफर थिइन् । यो कुरा थाहा पाएपछि नै स्मृतिले विवाह रद्द गर्ने निर्णय लिएको केही समाचारहरूमा जनाइएको छ । लगत्तै स्मृतिका पितालाई हार्ट अट्याक भएको थियो । अहिले उनी बिसेक भएर घर फर्किसकेका छन् ।
स्मृति अब केही समय यो घटनालाई बिर्सिएर पूर्णरुपमा क्रिकेटमै केन्द्रित हुन चाहन्छिन् ।

Leave a Reply