दुर्गा प्रसाईँले प्रधानमन्त्री कार्कीलाई दुर्गाको मूर्ति उपहार दिँदै माफी मागेको सचिवालयको दाबी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज नागरिक बचाउ महाअभियानको टोलीसँग भेटघाट र कुराकानी गरेकी छन् । उक्त अभियानका संस्थापक दुर्गा प्रसाईंसहितको टोली भेटवार्ताका लागि सिंहदरबार गएको थियो ।

छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना, मुख्य सचिव सुमनराज अर्याल पनि सहभागी थिए । प्रसाईँले प्रधानमन्त्री कार्कीलाई उपहारस्वरूप भगवती दुर्गाको मूर्ति प्रदान गरे । उनले प्रधानमन्त्रीका विषयमा आफूले दिएका अभिव्यक्तिलाई लिएर माफीसमेत मागेको कार्कीको सचिवालयले जनाएको छ ।

सचिवालयले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘प्रसाईँले उपहार प्रदान गर्दै भन्नुभयो, ‘मैले बाहिर भनेका कुरामा सरी भन्छु । माफी माग्छु । तपाईँ माता हो, दुर्गा हो । दुर्गाको रूप धारण गरेर काम गर्नुहोस् । तपाईँको साथमा हामी छौँ । यो सरकारको पक्षमा हामी हुन्छौँ । सगरमाथाजस्तै अटल भएर यो सरकारको पक्षमा उभिन्छौँ ।

प्रसाईँले केही दिनअघि सञ्चारकर्मीहरूसँग बोल्दै प्रधानमन्त्री कार्कीका विषयमा लैंगिक हिंसाजन्य अभिव्यक्ति दिएका थिए ।

आजको वार्तामा प्रसाईँले आफ्ना कुरा सुन्न तयार भएकामा सरकारलाई धन्यवाद दिए । शान्तिपूर्ण वार्ताका माध्यमबाट सडकको आवाज सुन्ने वातावरण बनाइदिएको भन्दै उनले गृहमन्त्री ओमप्रकाश अर्यालको प्रशंसा गरेको सचिवालयले जनाएको छ ।

‘यसअघिका सरकारहरू हाम्रा माग सुन्नै चाहेनन् । यही कारण दुर्घटना भयो । कमसे कम यो सरकार सुन्न तयार भयो । प्रधानमन्त्रीको टेबुलमै आएर हाम्रा माग राख्न पायौँ । यसका लागि माननीय गृहमन्त्रीज्यू र सम्माननीय प्रधानमन्त्रीज्यूलाई हार्दिक धन्यवाद दिन चाहन्छु,’ प्रसाईँको भनाइ उद्धृत गर्दै सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री कार्कीले आफूहरू पनि बेथिति र भ्रष्टाचार नियन्त्रणकै लागि आएको बताउँदै सरकार त्यसका लागि प्रयासरत रहेको बताइन् । प्रसाईँले उठाउनुभएका कतिपय माग जेनजी आन्दोलनका क्रममा उठेकै माग भएकाले तिनको सम्बोधन गर्नु आफ्नो दायित्व रहेको उनको भनाइ थियो । तर ऋण मिनाहा गर्ने विषय भने राज्यले कसरी थेग्न सक्छ भनेर हेर्नुपर्ने उनले टिप्पणी गरिन् ।

प्रसाईँले अघि सारेका मागका विषयमा आगामी दिनमा पनि छलफल गर्दै जाने समझदारी भएको सचिवालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *