
रुपन्देही । नेपाल सरकारले भन्सार प्रक्रियामा हुने सामान्य त्रुटिमै कुल भ्यालुको १० प्रतिशत जरिवाना तोक्ने व्यवस्था लागू गरेपछि भन्सार एजेन्ट तथा व्यवसायी आन्दोलित भएका छन् । सोमबार बिहानैदेखि भैरहवा भन्सार कार्यालयका एजेन्टहरूले सम्पूर्ण कारोबार ठप्प पारेर विरोध प्रदर्शन गरे ।
एजेन्टहरूका अनुसार कम्प्युटरमा डाटा इन्ट्री गर्नेदेखि कागजपत्र मिलाउने क्रममा देखिने सानातिना गल्तीलाई कानुनी रूपमा ठूलो अपराधजस्तै ठहर गर्दै भारी जरिवाना लगाउनु अन्यायपूर्ण छ । उनीहरू भन्छन्, ‘व्यापारीलाई मार्ने जरिवाना हो यो । सरकारले पहिले विद्यार्थीलाई लखेट्यो अब व्यवसायी र कामदारलाई लखेट्ने तयारी गर्दैछ ।’
सरकारको कठोर निर्णयले सर्वसाधारण कामदार नै मारमा पर्ने उनीहरुको चिन्ता छ ।
‘सामान्य टाइपिङ गल्ती, अङ्कमा भिन्नता वा इन्ट्रीमा देखिने सामान्य त्रुटि भए पनि कुनै सहजीकरण वा सुधारको मौका नदिई सिधै जरिवाना थोपरिन्छ । व्यापारीले तिर्ने होइन, एजेण्टले तिर्नुपर्छ, अनि एजेण्टभित्र पनि त्यो इन्ट्री गर्ने व्यक्ति—जसको मासिक कमाइ १५ हजार मात्र छ,उसैलाई ५० हजारको जरिवाना कसरी सम्भव हुन्छ ?’ आन्दोलनकारीहरूको प्रश्न छ ।
भन्सार कार्यालय प्रमुखले इन्ट्री त्रुटि भए निवेदन दिएका आधारमा पछि सच्याउन सकिने सङ्केत दिए पनि एजेन्टहरूले जरिवाना तोक्ने निर्णय पूर्ण रूपमा खारेज नभएसम्म आन्दोलन नरोकिने अडान लिएका छन् ।
उता भन्सार अधिकृत आशुतोष राईले नयाँ भन्सार ऐनअनुसार नै त्रुटिका आधारमा जरिवाना लगाउने व्यवस्था भएको बताउँदै कागजपत्र र इन्ट्रीबीच मिलान नहुँदाको समस्या समाधानका लागि प्रावधान लागू गरिएको स्पष्ट पारे । एजेन्टहरूले भने यस्तो कठोर नीति व्यवहारगत रूपमा असम्भव र अन्यायपूर्ण रहेको भन्दै तुहिएको निर्णय तत्काल फिर्ता लिन सरकारसँग आग्रह गरेका छन् ।

Leave a Reply