हाकिम फेरिँदा वाक्क पाख्रीबासका मेयर: मन्त्रालयलाई लेखे- दिनैपिच्छे पठाउँदा हुन्छ, दाइँ गर्न समस्या छैन

काठमाडौं । धनकुटाको पाख्रीबास नगरपालिकाका नगर प्रमुख ज्ञानबहादुर गुरुङले सम्भव भए दिनदिनै प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारी तोकी पठाउँदा पनि फरक नपर्ने बताएका छन् ।

उनले सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय तह कर्मचारी प्रशासन शाखालाई पत्राचार गर्दै मन्त्रालयलाई प्रत्येक महिना वा सम्भव भए दिनदिनै छुट्टाछुट्टै एक एक जना प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारी तोकी पठाउँदा पनि फरक नपर्ने व्यहोरा अनुरोध गरेका हुन् ।

पत्रमा नगर प्रमुख गुरुङले पाख्रीबास नगरपालिकामा दैनिक प्रशासनिक र आर्थिक कामकाज हुँदा र नहुँदा यस क्षेत्रमा धान फल्न, दाइँ गर्न, थन्क्याउन, बालीनाली लगाउन, गाई भैंसी ब्याउन, दूध उत्पादन गर्न, सिंचाइ गर्न, फलफूल लगाउन फुल्न र सो को निकासा गरी बिक्री वितरण गर्न कुनै समस्या नरहेको उल्लेख गर्दै प्रमुख प्रशासकीय अधिकृतको हकमा दिनैपिच्छे वा महिनैपिच्छे पठाउँदा पनि हुने लेखेका छन् ।

मन्त्रालयले चालु आवमा १०१७ र १०२७ को चलानी नम्बरसहितको गत मंसिर १७ गते पत्र पठाउँदै प्रमुख प्रशासकीय अधिकृतका बारेमा राय मागेको थियो ।

नगर प्रमुख गुरुङले मन्त्रालयलाई पठाएको पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र नगर कार्यपालिकालाई दिएका छन् ।

मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत चाँडोचाँडो सरुवा गरेका कारण नगरप्रमुखले पत्राचार गरेको हुनसक्ने नगर उपप्रमुख नम्रता गौतमले बताइन् ।

‘मन्त्रालयले हाकिम सरुवा गरेको गरै गरेकाले मेयर साबको असन्तुष्टि थियो ।’ उपप्रमुख गौतमले भनिन्, ‘हाकिम सरुवा हुने र समयमा नआइदिनाले नगरको कामकारबाही प्रभावित हुँदै आएको छ ।’

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *