हुम्लाको समृद्धि सपना

हुम्ला शान्त, सौम्य र विराट छ। कुमार नगरकोटीका शब्द सापटी लिएर भन्ने हो भने ‘रिम्पोन्छेको वोधगम्य जिन्दगानी’ जस्तो। यस जिल्लामा संघीय सरकारको तर्फबाट खटिएको प्रशासनिक प्रमुखको रूपमा तीन महिना पूरा गर्दा विकासको विद्यार्थी पनि हुनुको नाताले हुम्लाको समृद्धिको सपना देखेको छु।

मूलत: कर्णाली करिडर (खुलालु-सिमकोट-हिल्सा) सडकको ट्र्याक ओपन पूरा भएसँगै राष्ट्रिय सञ्जालमा जोडिएको अवस्था, सिमकोटको उत्तर तर्फको भाग र नाम्खा गाउँपालिकाको बढ्दो पर्यटकीय महत्त्व एवं सिमकोट विमानस्थलको स्तरोन्नतिको काम एवं यी तीन सवालसँग जोडिएको स्थानीय ज्ञान, सिप, संस्कार र परम्परागत उत्पादन प्रणालीलाई यस लेखाइमा विश्लेषण गर्ने प्रयत्न गरिएको छ।

कर्णाली करिडोर

नेपाल सरकारबाट उत्तर दक्षिण आर्थिक करिडोरको रूपमा लिएका मार्गहरूमध्ये कर्णाली कोरिडर (खुलालु-सल्ली-सल्ला-सिमकोट) हिल्सा सडक पनि एक हो । वि.सं. २०५१ सालमा यो सडकको सपना बुनिएको रहेछ । २०६८ सालमा शिलान्यासको काम सुरुवात भई २०८२ असारमा खार्पुनाथमा रहेको चुवा खोलामा बेलिब्रिज बनेपछि राष्ट्रिय सडक सञ्जालमा हुम्ला जोडिएको हो।

सडक सञ्जाल जोडिएपछि हुम्लाबासीले भोगाई र सपना दायरा बढाएका छन् । करिब करिब वस्तु विनिमय प्रणालीमा चलेको समाजमा बजार पहुँच बढेको छ। रु. २०० प्रति केजी हवाई ढुवानीको दर सडक मार्गबाट १५/२० प्रति केजीमा झरेको छ । कठिन र चुनौतीपूर्ण यात्रा नै सही १-२ दिनको सडक यात्राबाट सुर्खेतसम्म पुगिने भएको छ। हवाईजहाज प्रतिको एकल भर पर्नुपर्ने बाध्यता हटेको छ । हुम्लाको स्याऊ लगायत स्थानीय उत्पादनले बजार पहुँच पाउन थालेका छन् । ऐतिहासिक कालमा समेत प्रमुख पारवहन मार्गमा परेको यस हुम्लाले अनुभव गरेको सताब्दीयौं पुरानो व्यापारिक र सांस्कृतिक आदान प्रदानको अनुभवलाई पुनर्जागरण गर्ने अवसर प्राप्त गरेको छ।

यो करिडोर शुरूवात मात्र भएको हो। राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको यो सडकलाई पर्याप्त स्रोतसाधनको व्यवस्था हुनै पर्ने अभ्यास छ। नत्र राष्ट्रिय गौरवको आयोजनामा अटाउनै हुँदैन ! अतः २०६८ सालमा शिलान्यास भएको यो आयोजना चाँडो भन्दा चाँडो उद्घाटनको पर्खाइमा छ । केवल स्रोतसाधन, जनशक्ति  र तीव्र निर्माणको पर्खाइमा छ ।

साँच्चिकै आर्थिक मार्गको रूपमा प्रचुर सम्भावना भएको यो सडक हुम्ला र आसपासका जिल्लाको सपना हो। नेपाल र मित्र राष्ट्र चीनको सीमामा रहेको विभिन्न नाका मध्ये अत्यन्त सम्भावना रहेको ५र६ वटा नाकाहरू मध्ये महत्त्वपूर्ण हिल्सा नाका एक हो। अतः भविष्यमा हिल्सा सिमकोट र सुर्खेत जमुनाह ५०५ किमी हुने यस  सडकलाई त्रिदेशीय व्यापारिक मार्गको रूपमा समेत विकास गर्न सकिने अवस्था छ। केवल सुझबुझ, स्थानीय उत्पादनको प्रवर्द्धन र व्यापारिक भाषाको बोधगम्याताको आवश्यकता छ। व्यापारिक मार्गलाई अवैध व्यापारिक रुटको रूपमा तस्करले प्रयोग गर्ने हुन की भन्नेमा राज्य र सरोकारवालाहरू चनाखो रहनु पर्दछ।

पर्यटकीय महत्त्व

हुम्लाको र विशेष गरी सिमकोट एवं नाम्खाको गाउँपालिकाहरूको पर्यटकीय महत्त्व दिन प्रतिदिन बढ्दो छ। यही वि.सं. २०८२ सालमा हालसम्म मूलत असोज सम्म करिब ७००० विदेशी पर्यटकले यो जिल्लामा भ्रमण गरेको छन्। यो संख्या मध्ये अधिकांश मानिस भारतीय पर्यटक हुन्। यी पर्यटकहरू कैलाश मानसरोवरको दर्शनको लागि आएका हुन्। प्राय नेपालगन्ज देखि सिमकोटसम्म हवाईजहाज र सिमकोट देखि हिल्सा सम्म हेलिकप्टरमा यात्रा गर्दछन्। र हिल्सा नाकाबाट मित्र राष्ट्र चीनको बाटो भएर कैलाश मानसरोवरको दर्शन गर्दछन्। भारतीय हिन्दूहरूको लागि कैलाश मानसरोवर पुग्नु भनेको ठूलो धार्मिक एवं आध्यात्मिक उपलब्धि हुँदो रहेछ।

यी तिर्थयात्रीहरु गुनिला पर्यटक रहेछन्। प्रशस्त खर्च गर्दछन्। करिब ३ देखि ४ लाखसम्म भारतीय रुपैयाँ प्रतिव्यक्ति खर्च गर्दछन्। त्यसमध्ये नेपालमा पनि प्रशस्त रकम रहन्छ। स्थानीय भाषा संस्कृतिमा अतिक्रमण गर्दैनन्। एक आपसमा सांस्कृतिक आदानप्रदान हुन्छ। यो पङ्तिकारले आफ्नो कार्यालयगत कर्तव्यको रूपमा गरेको सामान्य सहयोगलाई पनि उनीहरूले गौरवको रूपमा लिएको अनुभव समेत सँगालेको छु।

भारतीय पर्यटकहरूको टिकाउपना ठूलो चुनौती हो। करिब ४/५ वर्ष पछाडि मात्र करिब ७००० ले यो रुटबाट कैलाश मानसरोवरको दर्शन गरेका हुन्। भारतीय पर्यटक आउन चाहनुहुन्छ, नेपालीको त सेवा सत्कार गर्न चाहने नै हुन्छ। अब रह्यो मित्रराष्ट्र चीनको तर्फबाट हुने सहजीकरण। विगतमा कैलाश मानसरोवरसम्म नेपाली, हुम्लीबासी र हुम्लामा कार्यरत कर्मचारीलाई सहज पहुँच थियो। पछिल्लो समयमा हुम्लाबासीलाई ताकलाकोटसम्म यात्रा र अन्यको हकमा पासपोर्ट एवं भिसा प्रक्रियाबाट मात्र हिल्साबाट चीनको क्षेत्रमा जान पाइन्छ। यसको मतलब भारतीय पर्यटकहरू यही प्रक्रियाबाट जाने गर्दछन्। यसरी जाने अवस्थामा टिकाउपनाको लागि नेपाल, भारत र चीनबीच त्रिपक्षीय समझदारी हुन सके हुम्लाको पर्यटकीय सम्भावना बढेर जाने थियो।

हवाई सेवाको टिकाउपना

विकास र समृद्धिको लागि हवाई सेवा एउटा महत्त्वपूर्ण मानक हो। समय र स्रोतलाई अधिकतम उपयोग आवश्यक हुन्छ। हुम्लाको हकमा त हवाई सेवाले विगतमा हुम्लीबासीलाई खाद्यान्न उपलब्ध गराएको सुनौलो अनुभूति पनि छ। गुनिला पर्यटक भित्र्याउन र आपत् विपतमा सेवा पाउन हवाई सेवालाई स्तरोन्नति समेत गर्न आवश्यक छ।

नेपालको अधिकांश साना सहर र दुर्गममा रहेका विमानस्थलहरु नचल्ने अवस्थामा पुगेका छन्। यसको पछाडि ठूलो कारण सडक यातायात पुग्नु हो। सडक यातायात कम खर्चिलो, सहज र व्यापारिक वस्तुको ओसारपसारमा यो मेरुदण्ड नै हो। साथसाथै हवाई यातायातलाई टिकाउन प्रशस्त व्यापारिक गतिविधिको खाँचो रहन्छ। हुम्लाको हकमा हुम्लालाई २र३ वटा आँखाबाट हेर्न पर्दछ। निषेधित क्षेत्रको संवेदनशीलता, भारतीय पर्यटकको सम्भावना र सीमा एवं स्थानीयताको प्रवर्द्धनलाई सूक्ष्म विश्लेषण गरी उचित रूपमा परिचालन गर्नुपर्दछ। ताकी यी सवालमा हवाई सेवाको टिकाउपनालाई सुनिश्चित गर्न सकियोस्।

निषेधित क्षेत्र घोषणा गर्नुका पछाडि मूलत: प्रकृति र संस्कृतिको संरक्षण एवं रणनीतिक संवेदनशीलता हुने गर्दछ। अत: सिमकोट देखि माथिल्लो भेग नाम्खा गाउँपालिका क्षेत्रमा रहेको निषेधित क्षेत्रमा पर्यटक पठाउँदा निर्देशित पदयात्रा (Guided Tour) मात्र गराउनेमा राज्यले स्पष्ट मार्गदर्शन गर्नुपर्ने हुन्छ। त्यसैगरी विभिन्न प्रयासमा आउने भारतीय पर्यटकहरूलाई पनि निषेधित क्षेत्रमा चाही निर्देशित पदयात्रा (Guided Tour) मा समाहित गर्नुपर्दछ। यसको लागि स्थानीय पर्यटन व्यवसायीले सहजीकरण गर्नुपर्दछ ताकी उनीहरूमा असन्तोष नहोस्। यस प्रकारको निर्देशित यात्रा गराउने प्रचलन नेपाल र भारतको विभिन्न ठाउँमा रहेको छन्। तिनीबाट व्यवहारिक ज्ञान पनि सिक्न आवश्यक छ।

साथ साथै उच्च हिमाली क्षेत्रको उत्पादनको स्वास्थ्यजन्य मूल्य पनि उच्च रहेको अध्ययनले देखाएका छन्। हुम्ला जिल्लामा उत्पादन हुने स्याउ देखि अनाज हुँदै जडीबुटीसम्मको उत्पादन र दिगो सङ्कलन गर्न सके माथि उल्लेखित सबै सवालसँग आबद्ध गर्न सकिन्छ। सडक एवं हवाई यातायात र पर्यटकसँग यहाँको स्थानीयता र स्थानीय उत्पादनलाई आबद्ध गर्न सके हुम्लावासीको विकास र समृद्धिको सपना पूरा हुनेछ।

लेखक रेग्मी हुम्लाका सीडीओ हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *