
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले उर्जामन्त्री कुलमान घिसिङ आफ्नो बाटोमा तगारो बन्न खोजेको आरोप लगाएका छन् । घिसिङलाई दोहोरो चरित्रको व्यक्ति भन्दै उनले यस्ता मान्छे खतरनाक हुने टिप्पणी गरे ।
भर्खरै श्रम संस्कृति पार्टी खोलेका साम्पाङले आज काठमाडौंमा आयोजना गरेको आमसभामा बोल्दै यस्तो टिप्पणी गरेका हुन् । उनले घिसिङको नाम नलिइकन ‘बत्ती बाल्ने एक जना सर’ भनेर सम्बोधन गरेका थिए ।
साम्पाङले भने, ‘हाम्रो बाटो छेक्न धेरै मान्छे धेरै कालमा प्रयोग हुन्छन् । अहिले बत्ती बाल्ने एकजना सर बत्ती बाल्छु भन्दै आउनुभएको थियो । आफ्नो पार्टी होइन पनि भन्नुभो । घरी मेरो पार्टी हो पनि भन्नुहुन्छ । लिस्टमा उहाँको नाम पनि छैन । उहाँलाई देखाएर श्रम संस्कृतिको बाटो छेक्न एउटा तुरुप हानिएको छ ।’
आफूले कुनै जाति समूदायलाई नभएर व्यक्तिलाई मात्रै इङ्गित गरेको उनले प्रष्टीकरण दिए ।
उनले भने, ‘कहिलेकाहीँ व्यक्ति विशेषलाई गाली गर्नुपर्ने हुन्छ । मलाई पनि गाली गर्दा सहन तयार छु । कोही कसैले मन नदुखाउनु है । नाम पनि भन्दिनँ । श्रम संस्कृतिले यस्ता तगारो टेर्नेवाला छैन । भ्रममा नपर्नुहोला । अरुको त कुरै गर्नु परेन । अरुलाई कहाँ छोड्यौं छोड्यौं । रेसमा कोही छैन । हामी कुदिरहेका छौं । फर्स्ट हो हामी । तर घरि–घरि बाँसको तगारो, केको तगारो आउँछ । यसो हेर्यो फलानो रहेछ । हा हा हा । यस्तो दोहोरो चरित्रले नेतृत्व गर्दैन । नेतृत्व प्रष्ट हुन्छ । कन्फ्युज्ड हुँदैन । रहस्यमय मान्छेहरु, दोहोरो चरित्रका मान्छेहरु खतरनाक हुन्छन् ।’
धेरैले भन्छन् मलाई, नयाँ–नयाँ किन नमिलेको ? यत्रो नयाँ मान्छे भेटिरहेको छु । फलाना फलाना भन्छन् । फलानाजतिको त यहाँ हरेक मान्छे हो । एक–दुई मान्छेको नाम लिएर हुन्छ ? तीन करोड नेपालीले निर्णय गरिसक्यो ।’ उनले थपे ।

Leave a Reply