
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को ऐतिहासिक ११ औँ राष्ट्रिय महाधिवेशन मंसिर २७, २८ र २९ गते काठमाडौंमा आयोजना हुँदैछ । महाधिवेशनको मूल मुद्दा विचार होइन, अनुहार बनेको छ ।
ब्यहोरा र चेहरा नै एमालेका हरेक महाधिवेशनमा बहसका विषय हुँदै आएको सिलसिला नै छ । मदनको युगमा जनताको बहुदलीय जनवादीबीच ‘राम–लक्ष्मण’ को जस्तो भातृत्वपूर्ण सम्बन्ध र सहकार्य थियो । त्यो निष्ठा हाबी भएको कालखण्ड थियो । कुण्ठा विस्फोट र गडबडीका अभ्यासले शिर उठाउन खोजे पनि मौका पाएको थिएन ।
मदनले मति, गति र सरस्वतीले अग्रज पुस्ताका मनमोहन अधिकारी, सहाना प्रधान, सिद्धिलाल सिंह, बलराम उपाध्याय, भरतमोहन अधिकारी, मोहनचन्द्र अधिकारी, मोदनाथ प्रश्रितदेखि आफूभन्दा जेठा र सिनियर सहकर्मी सीपी मैनाली, झलनाथ खनाल, जीवराज आश्रित, राधाकृष्ण मैनाली, अमृतकुमार बोहरा, माधवकुमार नेपाल, केपी शर्मा ओली, वामदेव गौतम सबैको टहल गर्नु भएको थियो । पार्टीलाई वैचारिक स्पष्टता, जनतासँग घनिष्ठ सम्बन्ध, आन्दोलन हाँक्ने क्षमता, सबल र सुदृढ संगठनका हिसाबले सशक्त र सबल बनाउने मदनको लगाव र पहलका अगाडि असन्तुष्टिहरू छताछुल्ल भएनन् ।
धर्तीमा दुई वटा अनमोल मणि छन् । पहिलो मातृत्व हो । दोस्रो नेतृत्व । आफूलाई नमेटाई मातृत्व र नेतृत्व सम्भव हुँदैन । रगत सुकाएर ओथारो बस्ने, चल्लालाई चुच्चाले चराउने प्वाँखले ढाक्ने त्याग र लगावले मात्र एक मै मत्ता बैँस चढेको पोथी रगत सुकेको जर्जर चल्ली माऊमा रूपान्तरित हुने गर्छ । निजी स्वार्थ, रहर र लहडमाथि डोजर चलाउन सक्ने महान् त्यागी मात्र भीडलाई पन्छाएर महानायक बन्न सक्छ ।
देख्नेले मदन भण्डारीलाई चेहरा र व्यहोरा दुवैले साथ दिएको युवावयको नेकपा (एमाले) को प्रखर र प्रभावशाली महासचिव देखे । वास्तवमा पञ्चायत पल्टाउने क्रममा निजी स्वार्थ र रहरमाथि डोजर चलाउँदा चलाउँदा शरीर दुब्लो-पातलो र व्यक्तिगत जीवन अस्तव्यस्त भएका धेरै सहकर्मी, तिनीहरू सुषुप्त र प्रकट इच्छा, आकांक्षा र महत्त्वाकाङ्क्षा ज्वालामुखीमाथि उभिएर मदन आफू बाँचेर एमालेलाई बचाइराख्नु भएको थियो ।
नेता हुन औकात र इमान चाहिन्छ । औकात भएको नेताको ओत लागेर इमान मात्र भएको नेताले पनि तहल्का चुटेका उदाहरण छन् । पुटिन, बीपी, जीपी, मोदी, ओली र देउवा औकातले उठेका नेता हुन् भने दिमित्री मेतभेदेव, कृष्णप्रसाद भट्टराई, सुशील कोइराला, पूर्णबहादुर खड्का, अमित शाह, जेपी डन्डा इमानले चम्केका हिरा हुन् । भण्डारी र पोखरेल दुवैले औकात र इमान दुबैबाट एकैसाथ जोर लात्ती खानु परेको छ ।
शक्तिको शिरमाथि नांगो खुकुरी हुन्छ । शक्तिको पाइतालामुनिको जमिनमा ज्वालामुखी हुन्छ । दैव, दरबार र दिल्लीको खुट्टामा भकुन्डो मानिएको नेपालको राजनीतिलाई नेपाली जनताको चेतना, रोजाई र शक्तिको मियोमा उभ्याउनु मदनको गल्ती थिएन, बरु देश र जनताको हातमा थमाएको कहिल्यै ननासिने नासो थियो । मदनको मौजुदीले राजा-महाराजा र तिनका फौजी तथा गैर फौजी ताबेदारहरूको पुस्तौनी रजगजमा तलमाथि परेको थियो । हस्तक्षेप र हालीमुहालीका सिकारीलाई मदनको उपस्थितिले तल बितल पारेको थियो । उनीहरूमध्ये कसैले दासढुंगा काण्ड रचे ।
मदनको अवसानपछि कार्यवाहक महासचिव बनाइएका माधवकुमार नेपालमाथिको एमालेको लगानी बालुवामा पानी भयो, खेर गयो । मूलतः माधवले मदनले जसरी सहकर्मी जुटाई राख्न सकेनन् । उनमा जनताको बहुदलीय जनवाद विरोधीलाई समेट्न सक्ने मदनको जस्तो औकात त देखिएन नै, बहुदलीय जनवादीबीचको एकता कायम राख्ने सामर्थ्य र तत्परता भएन । मदनले काठमाडौंमा जीवराज आश्रित र माधव, भूगोलतिर पूर्वमा केपी शर्मा ओली र पश्चिममा वामदेव गौतमको भर गरेर ‘एमाले रथ’ हाँक्नु भयो ।
माधवले निष्ठा र कुण्ठा, काम गर्ने र कान भर्ने, मुठ्ठी कस्ने र चिल्लो घस्नेको भेद छुट्याउनु भन्दा पनि आफूलाई केन्द्र भागमा राखे । माधव नेपाल महासचिव निर्वाचित हुँदा पनि पार्टी विभाजन भयो- २०५४ सालमा । अध्यक्षमा पराजित हुँदा पनि पार्टी विभाजन भयो– २०७८ सालमा ।
२०५४ सालको माघमा नेपालगन्जमा सम्पन्न एमालेको छैटौँ महाधिवेशनमा महासचिव पदको आकांक्षी वामदेव गौतमले पराजयलाई सहन नसक्दा पार्टी विभाजनको अपजस आयो । जसले गर्दा गौतमले बोकेको विराट सम्भावना खण्डहर बन्यो । केपी ओलीको महानता हार्दा नआत्तिने र जित्दा नमात्तिने बिछट्टको कलामा देखियो । सीपी, झलनाथ, मदन, मनमोहन सबैलाई काँध थाप्ने धैर्य, २०५० सालमै महासचिव बन्न आएको प्रस्ताव ठाडै अस्वीकार गरी माधव नेपाललाई अघि सारेर गरेको त्याग, २०५३ सालमा कार्यवाहक महासचिव माधव नेपालविरुद्ध छेडिएको ‘महासचिव हटाऊ अभियान’ असफल पारेर एमालेको पार्टी सत्तालाई जगैदेखि मजबुत पार्ने दूरदर्शिता, आफैँले मजबुत पारिदिएको पार्टी सत्ताको डन्डा आफैँमाथि चलाइँदा पनि माधव, झलनाथ र ईश्वर त्रिकोणको कृतघ्नताको सामना गर्ने संयममा पढ्न सकिन्छ– एमालेले मदन र मनमोहनपछि पाएको अर्काे सौभाग्य ओली रत्नको मूल्य, महानता, गहनता र गरिमा ।
आचार्य चाणक्य भन्छन्–
यथा चतुर्भिः कनकं परीक्ष्यते
निघर्षणच्छेदनतापताडनै
तथा चतुर्भिः पुरुषः परीक्ष्यते
त्यागेन शीलेन गुणेन कर्मणा ।
अर्थ हो- जसरी घोटेर, काटेर, पोलेर तथा पिटेर सुनको परीक्षा हुन्छ, त्यसरी नै सत्पात्रको परीक्षा उसको त्याग, शील स्वभाव, सद्गुण र सत्कर्म हेरेर हुने गर्छ । माधव, झलनाथ, केपी र वामदेवपछि एमाले कार्यकर्ताको अदालतले विद्या भण्डारी र ईश्वर पोखरेललाई आशाको नजरले हेरेकै हो । सानो छँदा राई सतायो, ठूलो भए चोरी सतायो भनेझैँ यो जोडा मिल्नुपर्ने बेला झगडा गरेर बस्यो र आराम गर्नुपर्ने बेला मोर्चा कस्न पुगेको छ । समयले हरेक लालचीलाई त्यागी हुने अवसर दिन्छ । वामदेव र सीपीको बहिर्गमन लगत्तै माधव र ओलीको एकतालाई मजबुत पार्न अनवरत र इमानदार प्रयास नगरी दरारमा छिना चलाउने हतारो विद्या भण्डारी र ईश्वर पोखरेलको सबैभन्दा ठूलो चुक थियो ।
अझ एउटाले माधवको र अर्कोले ओलीको फेर समातेर चाँडै ‘किङमेकर’ र ‘किङ’ हुने हतारो गरे । भण्डारी र पोखरेल दुवै सहकर्मीप्रति असहिष्णु अवतारमा अवतरित भएका दृष्टान्त धेरै छन् । विद्या भण्डारी पक्षका मानिने उपत्यकाका तत्कालीन सचिव रामेश्वर फुयाँल र मीठा राम शर्मा बजगाईँ अपदस्थ पारिनुको अपजस माधव नेपालको थाप्लोमा गए पनि खेल ईश्वरको थियो ।
आधा आकाश र महिला अधिकार स्थापित गरेको दुहाई दिए पनि विद्या भण्डारीले ओलीको आडको दुरुपयोग गरेर अन्य महिला नेतृमाथि असहिष्णु भएको अपवाद घटना होइन, सिलसिला नै छ । सहाना प्रधान, अष्टलक्ष्मी शाक्य, उर्मिला अर्यालदेखि रामकुमारी झाँक्रीसम्मसँगको चिसो सम्बन्धले विद्या भण्डारीमा मदनमा जस्तो सबैको आँखामा अटाउने गुण नभएको संकेत गर्छ । भण्डारी कार्ड फ्याँक्नेहरूलाई के थाह, राजनीति नश्लले होइन, निष्ठाले परिचालित हुन्छ ।
माधव नेपालको छाता ओढेर ओलीलाई पार्टी सत्ताको छेउछाउसम्म पुग्न नदिने ईश्वर पोखरेलको सपना त्यति बेला ध्वस्त भयो, जब एमालेले २०६४ सालको निर्वाचनमा शर्मनाक पराजय बेहोर्यो । एमाले नै जीवन मरणको दोसाँधमा पुगेको बेला ईश्वर पोखरेलको त्यो दुःस्वप्न चर्चामै आएन । प्रचण्डको चुनौती एमालेले पाएको एक सौभाग्य थियो भने सामना गर्न नसक्दा हातमा पतन गर्नेवाला थियो । उदयकलाका प्रचण्डको चालबाजी थाहा पाउने घ्राण शक्ति ओलीसँग मात्र थियो ।
सुमसुम्याएर सिध्याउनमा ब्वाँसोलाई, आफूभन्दा ठूला शक्तिसँग पंगा लिनमा हनी ब्याजरलाई र रंग फेर्नमा छेपारोलाई छक्क पार्ने प्रचण्डको कला यसरी छताछुल्ल भएको थिएन । एमालेको पुनर्जीवनका लागि प्रचण्डसँग टक्कर लिन सक्ने एक लौह पुरुषको खाँचो थियो । छलछाम र धाँधलीको माध्यमबाटै सही, जनादेशको माध्यमबाट १२० सीट प्रत्यक्षतिर माओवादीले जितेको र ३३ सीटमा समेटिएपछि एमालेको दीर्घजीवन कल्पना बाहिरको विषय थियो । संकट आएको बेला वीरको परीक्षा हुन्छ । एमाले जब–जब संकटमा पर्छ, तब–तब कायर, कृतघ्न, कुरौटे र कपटीको चेतनामा फ्युज जान्छ ।
उनीहरू शत्रुको प्रशंसा र आफ्नाको आत्म निन्दामा रमाउने गर्छन् । बाह्य चुनौती बढेको बेला पार्टीभित्र हुँडलो ल्याउनु ईश्वर पोखरेलको माओवादी उन्मादको बेलादेखिकै बानी हो । अहिले जेन–जी चुनौतीका बेला मात्र होइन, उहिले माओवादी चुनौतीको बेला पनि ईश्वरबाट ओलीलाई साथ होइन, घात भएको थियो । सौभाग्यको कुरा एमालेको दियोको तेल सकिएको रहेनछ । सेनापति काण्डले प्रचण्डको ओरालो यात्रा सुरु गराइदियो । कोइराला, केपी र कटुवाल त्रिकोणको हिम्मतले अग्र वामपन्थी अधिनायकवादको खतरालाई सदाको लागि पूर्णविराम लगाइ दियो ।
एउटा खास परिस्थितिले जननेता मदन भण्डारीलाई २०४८ सालमा काठमाडौंको निर्वाचनमा उतारेको थियो । त्यसपछि एमालेले एकपछि अर्काे गरी काठमाडौं बाहिरका नागरिकताधारी नेतालाई असिना पानी वर्षाए झैँ उतार्ने गलत नीति अख्तियार गर्यो । स्थानीय नेतृत्व विकासमा जोड नदिई विद्या भण्डारी, मनमोहन अधिकारी, ईश्वर पोखरेल, प्रदीप नेपाल, योगेश भट्टराई उतार्दाको एकमुष्ट झटारो र मारमुंग्री २०६४ सालमा भोग्नुपर्यो । मदन र मनमोहनको राप र ताप रहुन्जेल विजेता बने पनि विद्या भण्डारी र ईश्वर पोखरेलको खासै दम देखिएन ।
२०६४ सालको एउटा चुनाव हारे पनि केपी ओलीले २०७० सालमा झापाबाट चुनाव जित्दै गर्दा काठमाडौंमा भण्डारी र पोखरेलको ‘कमब्याक’ सम्भव भएन । पोखरेल नरहरि आचार्यबाट पराजित हुँदै गर्दा भण्डारीले मैदान छाडेर समानुपातिकको बाटो रोज्नु परेको थियो । वैचारिक प्रखरताको हिसाबले शंकर पोखरेल र प्रदीप ज्ञवाली, चुनावी धरातलका हिसाबले विष्णु पौडेल र पृथ्वी सुब्बा गुरुङले लिएको उचाइ सापेक्षतामा भण्डारी र पोखरेलको नेतृत्व खारिएको नभई थुपारिएको प्रकृतिको हुने हुनाले पनि एमालेमा नेतृत्व हस्तान्तरणको मुद्दा पेचिलो र असम्भव बनेको हो ।
आवधिक निर्वाचन लड्नु मात्र कुनै दल लोकतान्त्रिक हुनुको प्रमाण होइन । नेपालको वामपन्थी हस्तीहरूको लोकतान्त्रिक आचरण र परिपक्वताको चरणमा पुग्न अझै बाँकी छ । लोकतन्त्र एक निरन्तरको अभ्यास र आचरण हो । सर्वोच्च पदमा रहे पनि, नरहे पनि लगातार तीन चार दशक बीपी ध्रुवमा उभिएरै नेपाली कांग्रेस तङ्ग्रिएको हो । बीपीले कृष्णप्रसाद भट्टराई, जीपीले सुशील कोइरालालाई, देउवाले पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति बनाए पनि कुनै खटपट र रडाको भोग्नुपरेन ।
अध्यक्षमा रहे पनि, नरहे पनि भाजपा हिजो अटल बिहारी बाजपेयी ध्रुवमा उभिएको थियो भने आज मोदी ध्रुवमा अडिएको छ । अमेरिकामा रिपब्लिकन र डेमाक्र्याटिक पार्टीका प्रमुखले राष्ट्रपतिलाई सताउने होइन, सघाउने गरेको अभ्यास छ । प्रचण्डलाई आफू हाराहारीको अध्यक्ष बनाउँदा अदालतको एक फैसलाले नछेकेको भए ओलीको उठिबास र एमालेको अपहरण कसैले रोक्ने थिएन । प्रचण्ड र ‘प्रचण्ड प्रवृत्ति’ प्रतिको सजगता र असावधानी नै सक्कली एमाले र नक्कली एमालेको भेद रेखा हो । बाहिरी चुनौती चिन्न सक्ने घ्राण शक्ति र सामना गर्ने शक्तिमै एमालेको जीवन रथ निर्भर छ ।
प्रचण्डको वीषाक्तता होइन, ओलीको महानायकत्वलाई चुनौती देख्ने ईश्वर पोखरेलको दृष्टि दोष सेनापति काण्डदेखिकै हो । त्यही दृष्टि दोषमा फेरि लपेटिएपछि भण्डारी र पोखरेलको विराट सम्भावना र व्यक्तित्व लिलिपुट कदमा समेटिँदै छ । मदन, मनमोहन र ओली त्रिकोणको महत्तामाथि गौरव बोध र माधव, प्रचण्ड र झलनाथ त्रिकोणको ‘शक्ति ऐठन’ राम्ररी जाने-बुझेको कार्यकर्ताको नेतृत्व गर्ने नैतिक र राजनैतिक गुण गुमाएको हुनाले पनि भण्डारी र पोखरेलको सान्दर्भिकता सकिएको हो ।
एमालेलाई प्रचण्ड र ‘प्रचण्ड प्रवृत्ति’ को खतरा अझै टरिसकेको छैन । एमालेमा कमजोर नेतृत्वको थपना र ओलीको उठिबास प्रचण्डको उहिल्यै देखिको अधुरो सपना हो । विद्या भण्डारीका प्रतिको प्रचण्डका नुनिला आँसु र ईश्वर पोखरेलसँगको विद्या भण्डारीको गठ जोड छलकारी प्रकृतिका छन् । एमाले हुँडल्नु र ओली ब्रान्डको जागरणबाट माधव–झलनाथकालीन एमाले पार्टी ‘भाले न पोथी’ संस्करणमा फेरि फर्काउनु यस साजिसको मक्सद हो ।
धर्तीमा दुई वटा अनमोल मणि छन् । पहिलो मातृत्व हो । दोस्रो नेतृत्व । आफूलाई नमेटाई मातृत्व र नेतृत्व सम्भव हुँदैन । रगत सुकाएर ओथारो बस्ने, चल्लालाई चुच्चाले चराउने प्वाँखले ढाक्ने त्याग र लगावले मात्र एक मै मत्ता बैँस चढेको पोथी रगत सुकेको जर्जर चल्ली माऊमा रूपान्तरित हुने गर्छ । निजी स्वार्थ, रहर र लहडमाथि डोजर चलाउन सक्ने महान् त्यागी मात्र भीडलाई पन्छाएर महानायक बन्न सक्छ ।
नेता हुन औकात र इमान चाहिन्छ । औकात भएको नेताको ओत लागेर इमान मात्र भएको नेताले पनि तहल्का चुटेका उदाहरण छन् । पुटिन, बीपी, जीपी, मोदी, ओली र देउवा औकातले उठेका नेता हुन् भने दिमित्री मेतभेदेव, कृष्णप्रसाद भट्टराई, सुशील कोइराला, पूर्णबहादुर खड्का, अमित शाह, जेपी डन्डा इमानले चम्केका हिरा हुन् । भण्डारी र पोखरेल दुवैले औकात र इमान दुबैबाट एकैसाथ जोर लात्ती खानु परेको छ ।
आधुनिक राष्ट्र–राज्य थेग्ने राजनीतिक दल गतिला परेनन् भने देशले दुःख पाउँछ । सँगै स्वतन्त्रता पाएका भारत र पाकिस्तान यसका उदाहरण हुन् । कंग्रेस आई र भाजपाले जनता र जनादेशलाई कदर गर्ने संस्कार बसालेकाले आठ दशकको अभ्यासमै भारतलाई अमेरिकी र युरोपेली मापदण्डको उन्नत लोकतन्त्रमा पुगाएका छन् भने पाकिस्तान र बंगलादेशमा राजनीति विरोधी समाप्त पार्ने लाइसेन्स बनेको छ ।
नेपालमा राज्यका चारै अंग– शासक, सुप्रिम कोर्ट, सेना र सञ्चार क्षेत्र उन्नत लोकतन्त्र र पाकिस्तानी मोडेलतिरको दोसाँधमा छन् । बलिया र लोकतान्त्रिक आचरण भएका दलहरू एमाले र कांग्रेसमात्र यस महासंकटका तारणहार बन्न सक्छन् । देश थेग्ने दलको निर्माण एक जटिल र लामो प्रक्रिया हो ।
डिल्लीरमण रेग्मी र मातृकाप्रसाद कोइरालाजस्ता अवसरमा अर्जुन दृष्टि राख्ने, तर चुनौती थाह नपाउने र खतरासँग सम्झौता गर्ने सहकर्मीबाट कांग्रेसलाई मुक्त गरेरै बीपीले आजको नेपाली कांग्रेस उभिने धरातल खडा गर्न सिंगो जीवन खर्चिनुपरेको थियो । मोररजी देसाई र चौधरी चरण सिंहजस्ता आफ्नो सरकार आफैँ ढाल्ने सहकर्मीबाट वाक्क दिक्क भएरै अटल बिहारी बाजपेयीले चार दशक लामो यात्रा तय गरी आजको भाजपा निर्माण गर्नुभएको थियो । आजको भाजपालाई मर्यादाको लक्ष्मण रेखा, टेक्ने जमिन र उभिने स्वाभिमानका जरा बिहारीको दीर्घ राजनीतिक साधनामा रोपिएका छन् ।
प्रचण्ड, माधव र झलनाथबाट एमालेलाई उन्मुक्ति दिलाउने र नयाँ पुस्तालाई सहकार्य र सहअस्तित्वको पाठ सिकाउने अर्थमा ओलीको दीर्घ राजनीतिक साधना एमालेको उज्ज्वल भविष्य र अटल सौभाग्यको आधार हो ।
Leave a Reply