एमाले महाधिवेशन : वागमतीबाट केन्द्रीय सदस्य दाबी गर्नेको सङ्‍ख्या सय नाघ्यो, पदाधिकारीमा क-कसको तयारी ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन नजिकिँदै जाँदा वागमती प्रदेशका उपत्यकाबाहेक १० जिल्लाबाट पहिलोपटक केन्द्रीय नेतृत्वमा प्रवेश गर्ने आकांक्षीहरूको भीड बढेको छ।

मकवानपुरदेखि दोलखासम्मका सयभन्दा बढी नेताहरूले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मका पदमा दाबी सार्वजनिक गर्दै आन्तरिक प्रतिस्पर्धालाई तीव्र बनाएका छन् ।

पुराना पदाधिकारीहरू फेरिने–नफेरिने बहस चलिरहेका बेला सबैभन्दा कडा प्रतिस्पर्धा सचिव पदमा देखिएको छ । काभ्रेबाट पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले सचिवमा आकांक्षा सार्वजनिक गरेका छन् भने सिन्धुपाल्चोकका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले उप–महासचिवका लागि उम्मेदवारी घोषणा गरी प्रचार अभियानसमेत सुरु गरिसकेका छन् ।

काभ्रेबाटै पोलिटब्युरो सदस्य अरुण नेपाल पनि सचिवतर्फ उभिन तयार छन् । उपत्यकाभित्र भक्तपुरका महेश बस्नेत सचिवका सम्भावित उम्मेदवार हुन् भने काठमाडौंका कृष्णगोपाल श्रेष्ठ पनि पदाधिकारीका दाबेदार मानिएका छन् ।

दोलखामा नेतृत्व दाबी झनै तीव्र छ, पोलिटब्युरो सदस्य आनन्दप्रसाद पोखरेलले सचिवमा आकांक्षा देखाएका छन् भने पार्वत गुरुङ, इश्वरी रिजाल र रचना खड्का पनि सचिवका आकांक्षी हुन् । पोखरेल र गुरुङ दुवै अध्यक्ष ओलीको निकट टोलीका भए पनि जिल्लामा उनीहरूबीच लामो समयदेखि चल्दै आएको शक्ति–प्रतिस्पर्धा यसपालि पनि उस्तै देखिएको छ।

रामेछापबाट संगठन विभागका सचिव माधव ढुङ्गेलले पदाधिकारीमा चासो देखाएका छन् । उनी सचिवका उम्मेदवार हुन् । वागमती प्रदेशका सांसद आनन्द श्रेष्ठले लगातार तीन कार्यकाल एउटै पदमा बसिरहनु सही परम्परा नभएको भन्दै, पुराना नेताहरु ‘कि अपग्रेड, कि बिदा’ भन्ने धारणा राखेका छन् ।

चितवनबाट हाल केन्द्रीय संगठन विभाग प्रमुख काशीनाथ अधिकारीसहित ११ जना केन्द्रीय सदस्य छन् । बहालवाला केन्द्रीय सदस्यमध्ये अधिकारीको सचिवमा चर्चा भए पनि उनले खुलेर उम्मेदवारी घोषणा गरेका छैनन् ।

केन्द्रीय सदस्यका नयाँ दाबेदार

सिन्धुलीमा अहिले ७ जना केन्द्रीय सदस्य छन् । जसले नयाँ अनुहारका लागि ठाउँ खुम्चिएको छ । ‘सातै जना अटाउन गाह्रो छ, नयाँ आकांक्षी पनि धेरै हुनुहुन्छ ।’ नेता सुवास देवकोटा भन्छन् ।

यसबीच फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवार आफ्नै क्लस्टरबाट केन्द्रीय सदस्यमा उभिने तयारीमा छिन् ।

सिन्धुपाल्चोकबाट यसपालि नयाँ पुस्ताको उपस्थितिमात्र होइन, प्रभाव पनि उल्लेखनीय देखिएको छ। पूर्व जिल्ला अध्यक्ष कमल नेपाल लोकप्रिय मतसहित महाधिवेशन प्रतिनिधि भई केन्द्रीय सदस्यमा उभिन तयार छन् ।

पाँचपोखरी–थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले खुला नभए क्लस्टरबाट प्रतिस्पर्धा गर्ने योजना बनाएका छन् । ४० वर्षमुनिको युवा क्लस्टरबाट आङदोर्जे शेर्पाले ‘पार्टीले युवालाई खोलेको ढोका यसपालि उपयोग गर्छु ’ भन्दै तयारी अघि बढाएका छन् । इञ्जिनियर राजन थापाले त केही समय अघि नै सार्वजनिक घोषणा गर्दै प्रचार अभियान सक्रिय बनाइसकेका छन् ।

दोलखामा पनि केन्द्रीय सदस्यका लागि नयाँ अनुहारको प्रवेश तीव्र भएको छ । पूर्व जिल्ला तथा गाउँपालिका अध्यक्ष इश्वरचन्द्र पोखरेल, वागमती प्रदेशका मन्त्री भरत केसी र वालकृष्ण सिवाकोटी सबैले केन्द्रीय सदस्यमा तयारी गरेका छन् ।

काभ्रे, गोकुल बाँस्कोटाको गृहजिल्ला । यसपालि झनै प्रतिस्पर्धात्मक बनेको छ । निवर्तमान जिल्ला अध्यक्ष तथा धुलिखेलका मेयर अशोक व्याञ्जु, वागमतीका पूर्व मन्त्री चन्द्र लामा, पनौतिका पूर्व मेयर भीम न्यौपाने र कञ्चन अधिकारी नयाँ प्रवेशकर्ताका रूपमा सक्रिय छन् ।

यसअघि केन्द्रीय सदस्य रहेकी नविना लामा र रेशम लामाले एक तहमाथि उक्लने लक्ष्यसहित तयारी बढाएका छन् । रामेछापमा भने सांसद आनन्द श्रेष्ठबाहेक अन्यको आकांक्षा देखिए पनि प्रतिस्पर्धा तुलनात्मक रूपमा शान्त देखिन्छ ।

भक्तपुरमा हुन लागेको ११औँ महाधिवेशनले यसपालि वागमती प्रदेशमा उल्लेखनीय रूपमा नयाँ पुस्ता उदाउने सङ्केत दिँदै गरेको छ । पुराना र नयाँबीचको प्रतिस्पर्धा, क्लस्टर प्रणालीले गर्दा धेरै नयाँ अनुहार आउने निश्चित देखिएको छ ।

वागमती प्रदेशमा धेरै केन्द्रीय सदस्य रहेको जिल्ला चितवन पनि हो । चितवनबाट केन्द्रीय सदस्य रहेकी पार्वती रावल पनि पुनः केन्द्रमा निरन्तरता दिने तयारीमा छिन् । युवा संघको राजनीतिबाट उदाएकी रावलले नेकपा विभाजन हुँदा जिल्ला नेतृत्व सम्हालेको र नेकपा एमालेको सौराहामा सम्पन्न १० औँ महाधिवेशन सम्पन्न गर्न भूमिका निर्वाह गरेका कारण पनि उनी पार्टीको रोजाइमा पर्ने विश्लेषण छ ।

चितवनबाटै अन्य केन्द्रीय सदस्यहरु कृष्णभक्त पोखरेल, जेएन थपलिया, कपिल पोखरेललगायतको नाम पुनः दोहोरिने चर्चाबीच अरु तीनजना प्रतिनिधिले केन्द्रीय सदस्यको रुपमा अगाडि बढ्ने तयारी गरेका छन् ।

महिला क्लस्टरबाट प्रतिनिधि भए पनि ४० वर्ष उमेर नकटेकी निशा अधिकारीले आफू केन्द्रीय सदस्यको उम्मेदवारका रुपमा अघि बढेको दाबी गरेकी छन् । अखिलको राजनीतिबाट उदाएकी अधिकारी ‘युवा’ पार्टीका पूँजी भएकाले आफू पार्टीको रोजाइमा पर्ने दाबी गर्छिन् ।

नेकपा एमालेको जिल्ला अध्यक्ष भइसकेका विजय सुवेदी र रामप्रसाद न्यौपाने पार्टीको केन्द्रीय सदस्यमा डेब्यू गर्ने तयारीमा छन् । चितवनमा भूगोलबाट छानिएका २४ जना प्रतिनिधि छन् भने अन्य निर्वाचन क्षेत्रबाट छानिएका र आयोजक गरी ४७ जना प्रतिनिधि रहने छन् ।

वागमती प्रदेशको राजधानी मकवानपुरबाट १७ जना प्रतिनिधि चयन भएका छन् । खुलाबाट ७ जना, दलित एक, महिला ६ र युवा २ छन् । भूगोलबाट छानिएका प्रतिनिधिले अहिलेसम्म सार्वजनिक रुपमा केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका छैनन् ।

मकवानपुरबाट तीन जना केन्द्रीय सदस्य छन् भने चार जना थप पेशागत, खेलकुदलगायतका क्लष्टरबाट प्रतिनिधि चयन भएका छन् । पार्टीको निर्वाचन आयोग सदस्य रहेका अनन्त पौडेलले केन्द्रीय सदस्यको उम्मेदवारी दिने चर्चा भए पनि उनले पनि सार्वजनिक रुपमा मत मागेका छैनन् ।

धादिङ जिल्लाबाट १८ जना प्रतिनिधि चयन भएका छन् । १८ मध्ये जिल्ला अध्यक्ष नै केन्द्रीय सदस्यमा फड्को मार्ने तयारीमा छन् । २०७० सालदेखि निरन्तर जिल्लाको अध्यक्ष रहेर नेतृत्व सम्हालेका भूमी त्रिपाठी आफू सँधैभरि जिल्लामा बस्दा नेतृत्व जाम हुने बताउँछन् । केन्द्रीय सदस्यमा जान लागेको उनको दाबी छ । धादिङमा दुई जना केन्द्रीय सदस्य छन् । आफ्नो उम्मेदवारीमा बहालवाला केन्द्रीय सदस्यलाई समेत समस्या नहुने त्रिपाठी बताउँछन् ।

यस्तै नुवाकोट जिल्लाबाट १५ जना प्रतिनिधि छानिएका छन् । हाल केन्द्रीय कमिटीमा रहेका आयोजकका रुपमा चार प्रतिनिधि छन् । तीमध्ये हालका केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाको उम्मेदवारीको चर्चा भइरहेको छ । यसअघि तीन कार्यकालसम्म जिल्ला अध्यक्ष भइसकेका बद्री मैनाली, अनेरास्ववियूको लेखा आयोग सम्हालेका निलकण्ठ आचार्यलगायतको पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने चर्चा छ ।

जन्मस्थान नुवाकोट भए पनि भूगोलको राजनीतिमा नुवाकोट नरोजेका जिफण्टको राजनीतिबाट आएका बिन्दा पाण्डे र विष्णु रिमाल पनि केन्द्रीय कमिटीको पदाधिकारीमा उम्मेदवार हुने सम्भावना छ ।

त्यस्तै वागमती प्रदेशकै रसुवा भूगोलबाट ८ जना प्रतिनिधि चयन भएका छन् । अहिले बहालवाला दुई जना केन्द्रीय सदस्य गरी १० जना प्रतिनिधिको रुपमा ११ औँ महाधिवेशनमा सहभागी हुँदैछन् ।

तीन कार्यकाल जिल्ला अध्यक्ष रहेका कर्न्याल लामा केन्द्रीय सदस्यको उम्मेदवारी दिने तयारीमा छन् । हालका केन्द्रीय सदस्य माधव अर्याल र प्रेम तामाङले पनि पुनः केन्द्रीय सदस्य बन्ने तयारी गरिरहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *