एमाले ओखलढुंगाको विवाद समाधान, १२ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत

काठमाडौं । नेकपा एमाले ओखलढुंगाको महाधिवेशन प्रतिनिधि चयनको विवाद समाधान भएको छ । कोशी प्रदेश इन्चार्ज शेरधन राई, संगठन विभाग सदस्य विशाल भट्टराईसहितका नेताहरूको पहलमा सर्वसम्मतरूपमा १२ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

एकपक्षीयरूपमा घोषणा गरिएको प्रक्रिया बदर गरेर केन्द्रीय संगठन विभागले ५ दिनभित्र पालिकास्तरमा चुनाव गराउन वा सहमति कायम गर्न राई र भट्टराईका साथै ओखलढुंगा जिल्ला इन्चार्ज यज्ञराज सुनुवार र किशोर अधिकारीको कार्यदललाई जिम्मा लगाएको थियो ।

यसबीचमा पटकपटकको छलफलपछि मंसिर १३ गतेको प्रतिनिधि चयन प्रक्रिया बहिष्कार गरेको पक्षलाई ४ प्रतिनिधि दिएर मिलाइएको स्रोतले जनाएको छ । पूर्व जिल्ला कमिटी अध्यक्ष मोहनकुमार श्रेष्ठ, जिल्ला कमिटी उपसचिव तथा लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापा, संविधानसभा सदस्य हर्कबोल राई र सकुन्तला राजभण्डारी महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

अन्य प्रतिनिधिमा जिल्ला कमिटी अध्यक्ष जीबी खड्का, कोशी प्रदेशका पूर्वमन्त्री अम्बिरबाबु गुरुङ, जिल्ला उपाध्यक्ष कमल न्यौपाने, इच्छाकुमारी गुरुङ, उपसचिव राजीव कटुवाल, रमिला मगर श्रेष्ठ, टीका धमला र ज्यानु कालिकोटे यसअघि नै घोषित भएको टीमबाट परेका छन् ।

आइतबार दिनभर काठमाडौंमा नेताहरूबीच छलफल भएको थियो । उपसचिव अस्मिता थापाबाहेक सबै पदाधिकारी एक प्यानल भएका कारण निर्वाचन समिति गठनदेखि नै विमति भएको थियो ।

ओखलढुंगाको प्रतिनिधि चयनको विवाद समाधान भएर सर्वसम्मतरुपमा सबै महाधिवेशन प्रतिनिधिको नाम इन्चार्ज शेरधन राईमार्फत संगठन विभागमा पठाइएको संगठन विभागका सहजकर्ता विशाल भट्टराईले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *