
वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–५, खजुरियाका मेघराज साहलाई भारतीय प्रहरीले वीरगंजस्थित राधेमाइ टोलबाट पक्राउ गरेर भारत लगेको छ। यो घटनाबारे पर्सा प्रहरी भने बेखबर रहेको पाइएको छ ।
स्रोतका अनुसार शनिबार राति भारतीय नम्बरको गाडीमा आएका सादा पोशाकका भारतीय प्रहरीले साहको गाउँ खजुरिया हुँदै मनवा बजारसम्म खोजतलास गरेको थियो । उनी वीरगंज महानगरपालिका–१३ राधेमाइ टोलमा रहेको निवासमा प्रहरी पुगेको थियो । त्यहीँबाट साहलाई नियन्त्रणमा लिएर प्रहरीले भारत लगेको परिवारजनले बताए । थार गाडीमा सादा पोशाकमा तीन भारतीय प्रहरी आएका थिए ।
केही दिनअघि भारतमा ५० किलोभन्दा बढी चरेशसहित एक व्यक्ति पक्राउ परेका थिए । उनको बयानका आधारमा साहको पनि नाम जोडिएपछि उनी भारतीय प्रहरीको खोजीमा परेको बताइएको छ । पर्सा प्रहरीले भने यस विषयमा कुनै जानकारी नभएको बताएको छ ।

Leave a Reply