
७८ वर्षको उमेरमा नामग्याल स्वर्गलोकतिर गए ।
उनको भौतिक शरीर मात्रै चराङमा विसर्जन भयो । आत्मा उडेर चराङको हावामा मिसियो । झरीमा मिसियो । मराङ खोलाको पानीमा मिसियो । चराङका फाँटहरूमा मिसियो । घरहरूमा पुतपुताइरहने धुवाँमा मिसियो ।
ती नामग्याल (छिरिङ पेम्बा गुरुङ) ले बाँचुन्जेल सत्कर्म मात्रै गरिरहे । मानिसहरूमा मानवीयता बाँडे । इमानदारिता बाँडे । प्रेम बाँडे । शान्ति बाँडे । दुःखको चिङबुछीमा फुलेका निश्चल मुस्कानहरू बाँडे ।
आकाशको स्थिति हेरे, बारीमा अनाजको बीउ गाडे । घामको अवस्था हेरे, समयको गति पत्ता लगाए । र मानिसहरूको अनुहार पढे, त्यो अनुहारमा मनको भावना बुझ्ने यत्न गरे ।
बाँचुन्जेल आफू मात्रै बाँचेनन्, प्रकृतिलाई पनि सग्लै बचाए । खोलालाई आफ्नै गति र लयमा बग्न दिए, आफ्नो इच्छा अनुरूप बगाउने चेष्टा गरेनन् । बाँचुन्जेल लुङ्दरहरुमा ठोक्किरहने बतासको लयमा बाँचे ।
उनै नामग्याल सदाको लागि चराङलाई छाडेर गए ।
नामग्याल, जोसँग दुई महिनाको सत्संगपछि क्षितिज समर्पणले चराङमाथि उपन्यास लेखिरहेका थिए । नामग्याल, जसले बिताएका हरेक हिउँद र बर्खा ‘तोरकीन’ मा समेटिँदै थियो । नामग्याल, जसको माध्यमबाट चराङ मात्रै नभएर सिंगो उपल्लो मुस्ताङको जनजीवन ‘तोरकीन’मा अटाउँदै थियो । रीतिथिति, संस्कार र पर्वहरू अटाउँदै थिए । लोककथा, मिथक, विश्वास पद्धति र चाराङबासीको जीवन–जगतलाई हेर्ने दृष्टिकोण अटाउँदै थिए ।
तर, क्षितिज समर्पणले मगमगाउँदो किताब छिरिङ पेम्बालाई अर्पण गर्नु अगावै उनलाई क्यान्सरले लग्यो । उनी माटोका थिए, माटोमै बिलाए । बतासका थिए, बतासमै समेटिए । उनी हिउँका थिए, हिउँमै हराए ।
लामो समयपछि चराङमा पानी पर्दैन । परे पनि समयमा पर्दैन । छङछङ गडगडिएर बग्ने मराङ खोला सुक्दै जान्छ । हिमालहरूमा हिउँ रित्तिँदै जान्छ । च्याङ्ग्राका चरण क्षेत्रमा घाँसहरू नै उम्रँदैनन् । कहिल्यै देखा नपरेका स्यालहरू गाउँमै देखा पर्छन् ।
तथापि नामग्यालको रूपमा छिरिङ पेम्बा गुरुङ हजारौँ पाठकका हृदयको कुनामा सदा–सदा बसिरहनेछन् । कतै छुक्कीको प्रतिछाया बनेर पाठकको मनको दैलो उघार्नेछन् । कतै पाठकले छेवाङलाई सम्झिँदा उसको सम्झनामै मिसिनेछन् ।
नयाँ बानेश्वरको एक कफीसपमा बसेर लेखक क्षितिज समर्पणले नामग्यालको मृत्युको खबर सुनाइरहँदा लागिरह्यो,– छिरिङ पेम्बा भाग्यमानी रहिछन्, नामग्याल नामक पात्रमा जुनी फेरेर हजारौँ पाठकको सम्झनामा रहिरहने भए । झुसीलकीरा पुतली बनेजस्तो छिरिङ पेम्बा गुरुङ पनि नामग्याल बनेर साहित्य लोकतिर फैलिए ।
अर्कातिर चराङ गाउँमा मुखिया प्रथा थियो ।
गाउँमा स–साना झैँ–झगडा, विवाद भइरहन्थ्यो । कहिले कसैको च्याङ्ग्राले अर्काको बाली खाइदिन्थे । यस्तो लफडाको उजुरबाजुर कहाँ गर्ने रु मुखियाकहाँ गर्ने १ गाउँको न्यायालयको न्यायाधीश मुखिया हुन्थे । मुखियाले सुनाएको फैसला अन्तिम हुन्थ्यो । सबै गाउँलेले मुखियाको फैसलालाई निशर्त स्वीकार गर्थे ।
उसो त मुखियाले अन्यायपूर्ण फैसला पनि त सुनाउँदैनथे ।
ती मुखिया पनि बिते । उनका दुई छोराहरू थिए, तिनले मुखिया प्रथालाई निरन्तरता दिन चाहेनन् । उनीहरू काठमाडौंको रमझम र झिलिमिलीमा अलमलिए । तर, गाउँलेलाई त मुखिया चाहिएको थियो ।
गाउँलेले मुखियाकी छोरीलाई बिन्ती बिसाए, – हजुर मुखिया बन्दिनुपर्यो ।
मुखियाकी छोरीले गाउँ–सहर गरिरहन पाउनुपर्ने सर्त राखिन् । गाउँलेले उनको सर्त स्वीकार गरे । र चराङ गाउँको इतिहासमा पहिलो पटक महिला मुखिया बनिन् ।
‘तोरकीन’ मा क्षितिजले मुखियाबारे पनि लेखेका छन् । तर, किताब सार्वजनिक नभईकन मुखिया पनि स्वर्गे भइन् । क्षितिज समर्पण भन्छन्, ‘उहाँको मृत्युको खबर सुनेर निकै दुःख लाग्यो ।’
तिनै नामग्याल, मुखिया र चराङ गाउँबासीको कथा हो, ‘तोरकीन’ ।
उपन्यास पढिरहँदा कुनै वृत्तचित्र हेरिरहे झैँ लाग्छ । कहिल्यै चराङ नपुगेका पाठकलाई पनि चराङमै पुर्याउँछ किताबले । आँखै अगाडि छेवाङ हुर्किए झैँ लाग्छ । आँखैअघि छुक्की वृद्धा भए झैँ लाग्छ ।
सरल भाषा शैलीले उपन्यासलाई स्वादिलो बनाएको छ । सिलसिलेबर कथाले पाठकलाई बोझिलो महसुस गराउँदैन । बरु पात्रहरूले पाएको दुःख र अप्ठ्यारोमा पाठकहरूको सहानुभूति रहन्छ । ‘तोरकीन’मा पात्रका दुःख मात्रै छैन, कष्टकर हिमाली जनजीवनको वृत्तान्त पनि छ ।
चराङको कथामा घोलिएको संस्कृतिले उपन्यासलाई बडो रुचिपूर्ण बनाएको छ । विभिन्न पर्वहरूको सविस्तार वर्णन र मिथकहरूको बखानले उपन्यासमा बेग्लै रोमाञ्चकता थपेको छ । किताब पढिरहँदा कुनै आख्यान मात्रै नभएर सांस्कृतिक–ऐतिहासिक उपन्यास पढे जस्तो लाग्छ ।
उपन्यासका पात्रसँगै अगाडि बढेको कथाको सुरमा पाठकले यति धेरै सांस्कृतिक अवयवहरू केलाएका हुन्छन् कि किताब पढिसक्दा उनीहरूलाई लाग्छ,– अहो कति धेरै जानकारी समेटिएको रहेछ १ त्यसैले यो उपन्यास मात्रै नभएर चराङको सांस्कृतिक दस्ताबेज पनि बनेको छ ।
सांस्कृतिक पाटोसँगै उपन्यासले चराङको विकासको चित्र पनि देखाएको छ । पैदल बाटोदेखि गाउँमा रोड पुगेको समयको कथा छ । भारी बोक्ने, घोडा चढ्ने नामग्यालहरुदेखि ट्याक्टर हुँदै जिप चलाउने छेवाङसम्मको कथा छ । गाउँभन्दा टाढा नगएकी छुक्कीदेखि अमेरिकासम्म पुगेकी कुन्साङको कथा छ ।
गाउँमा सुस्त–सुस्त छिरेको विकासको कथा पनि हो, ‘तोरकीन’ । सँगै बसाइसराइको कथा पनि हो । मान्छेहरू अवसर खोज्दै–खोज्दै गाउँ छाडेर पोखरा, काठमाडौंतिर बस्न थाल्छन् । जग्गा किन्न नसक्नेहरू टहरामै सही, पोखरातिर झर्न थाल्छन् ।
समयसँगै रित्तो हुँदै गएको चराङको बदलिएको रूपरेखाको कथा पनि हो, ‘तोरकीन’ ।
लामो समयपछि चराङमा पानी पर्दैन । परे पनि समयमा पर्दैन । छङछङ गडगडिएर बग्ने मराङ खोला सुक्दै जान्छ । हिमालहरूमा हिउँ रित्तिँदै जान्छ । च्याङ्ग्राका चरण क्षेत्रमा घाँसहरू नै उम्रँदैनन् । कहिल्यै देखा नपरेका स्यालहरू गाउँमै देखा पर्छन् ।
जलवायु परिवर्तनले आदिवासीको जीवनमा पारेको प्रभावको कथा पनि हो, ‘तोरकीन’ ।
यो उपन्यास राज्यविहीनताको अवस्थामा गुज्रिएका नागरिकहरूको कथा पनि हो । उनीहरूको सोझोपन, निर्दोषपनको कथा हो । यो उपन्यास लेख्नलाई क्षितिजले डेढ वर्ष लगाएका रहिछन् । दुई महिना त चराङमै पुगेर बसेका रहिछन् । त्यसैले त यो उपन्यास माथिल्लो मुस्ताङ बुझ्न चाहनेहरूका लागि जानकारीमूलक पनि छ ।
अहिले छोटो समयमै किताबको दोस्रो संस्करण पनि आइसकेको छ ।
दोस्रो संस्करणको फ्रेस–कपी हातमा खेलाउँदै क्षितिज समर्पणले प्रफुल्लित मुद्रामा मुख खोले, ‘कस्तो प्रतिक्रिया आउला भनेर सुरुवातमा त डर लागेको थियो, तर पाठकहरूले मन पराइदिनुभयो ।’

Leave a Reply