
काठमाडौँ । वीरगंज महानगरपालिकाले वीरगंजका ठूला उद्यमी र घरानाले दाबी गरेको जग्गालाई सार्वजनिक बनाएर तरकारी बजारमा परिणत गरेको छ । करिब तीन दशकदेखि विवादमा रहेको जग्गा कानूनी प्रक्रियाबाट सार्वजनिक कायम गराउने काममा महानगरलाई फलता मिलेको हो । ताराचन्द केडिया, जगदीश नारायण साह कानु, इन्दु देवी, तारणी विक्रम शाह, शरद विक्रम शाह, हरिनारायण गुप्तालगायतले स्वामित्व दाबी गरेको जग्गामा आइतबारदेखि तरकारी बजार शुरु भएको छ । २०४६ सालको नयाँ नापीमा जग्गा ‘महल खाली’ रहेको र कुनै स्वामित्व नदेखिएको जग्गालाई विभिन्न उद्यमी र घरानाले आफ्नो दाबी गर्दै किचलो गरेका थिए ।

उनीहरुले नक्कली कागजात तयार गरी कब्जा प्रयास गरेपछि २०८० असोज २६ गते वीरगंज महानगर बोर्ड बैठकले जग्गा सार्वजनिक कायम गर्न निर्णय गर्दै मालपोत कार्यालय पर्सामा निवेदन दिएको थियो । मालपोत कार्यालयले १६ असोज २०८१ मा दाबी खारेज गर्दै जग्गा सार्वजनिक कायम गर्ने र नेपाल सरकारको नाममा दर्ता गर्ने निर्णय गरेको थियो । यसपछि जग्गामा दाबी गर्नेहरु पाखा लागेका थिए ।
त्यही जग्गा अर्थात् वीरगंज महानगरपालिकाद्वारा वडा नं. २ रेल्वे रोडस्थित छपकैयाको जग्गामा छपकैया तरकारी तथा फलफूल थोक बजार केन्द्र आइतबारदेखि सञ्चालनमा आएको छ । योसँगै वीरगंजमा लामो समयदेखि रहेको व्यवस्थित थोक तरकारी बजारको अभाव पनि समाधान भएको छ । थोक बजार शुभारम्भ गर्दै महानगर प्रमुख राजेशमान सिंहले बजार निर्माण छपकैयावासीकै पहिचान र नाममा जोडिएको बताए । उनले स्थानीय समुदायको भूमिका बजार सञ्चालनको मुख्य आधार हुने उल्लेख गर्दै उनले भने, ‘यो बजार छपकैयाबासीकै नाममा बनाइएको हो । सफा, सुरक्षित र व्यवस्थित राख्न यहाँका स्थानीयवासीको भूमिका महत्वपूर्ण छ । यो यहाँकै सम्पत्ति र धरोहर हो ।’

सिंहका अनुसार बजार निर्माण अढाई वर्षअघि नै शुरु गर्ने योजना भए पनि बिपी उद्यानमा रहेका व्यवसायीको कारण ढिलाइ भएको हो । बिपी उद्यानलाई हरित पार्कका रूपमा विकास गर्दै त्यहाँ रहेको अव्यवस्थित बजारलाई हटाइने र उनीहरूलाई छपकैया बजारमै स्थानान्तरण गर्न विकल्प दिएको उनको भनाइ छ । सिंहले थपे, ‘हाम्रो लक्ष्य स्पष्ट छ, वैभव वीरगंज । व्यवस्थित बजार, हरित क्षेत्र, सेवा सुविधामा सुधार र कानूनको कडाइ । यही अवधारणामा महानगर अघि बढिरहेको छ ।’
महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णका अनुसार पहिलो चरणमा ७० लाख रुपैयाँ लागतमा निर्माण गरिएको १४ युनिटमा २८ वटा सटर सञ्चालनमा आएका छन् । बजार परिसरमा बिजुली, पानी, शौचालय, ढल निकास र सुरक्षा व्यवस्थासहित सबै आधारभूत सुविधा उपलब्ध छन्। आगामी चरणमा थप ७० लाख रुपैयाँ लगानी गर्दै युनिट संख्या र भौतिक संरचना विस्तार गर्ने योजनासमेत रहेको कर्णले जानकारी दिए ।
उनका अनुसार खुद्रा र थोक कारोबारलाई अलग–अलग संरचनाबाट सञ्चालन गरिने भएकाले व्यवसायीलाई दीर्घकालीन योजनासहित कारोबार गर्न सहज हुनेछ । ‘यसले रोजगारका अवसर पनि सिर्जना गर्छ,’ उनले भने ।


Leave a Reply