योगेशको सन्देश- महाधिवेशनबाट अभूतपूर्व एकतामार्फत राजनीतिक सन्देश दिनुपर्नेछ

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीको ११ औँ महाधिवेशनलाई अभूतपूर्व एकता गरेर राजनीतिक सन्देश दिनुपर्ने जनाएका छन् ।

देशभरका २३ सय महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्दै आज दिएको शुभकामना सन्देशका उनले एमालेमाथि भएको चौतर्फी आक्रमणविरुद्ध अभूतपूर्व एकता गरेर सबै प्रश्नहरूको जवाफ दिनुपर्ने अवस्था आएको जनाएका छन् ।

‘यो महाधिवेशन विभिन्न कारणले ऐतिहासिक छ, देश र पार्टीका लागि असाधारण अवस्थामा छ, यो अवस्थामा अभूतपूर्व एकता कायम गर्नुपर्ने छ, चुनौतीका सगरमाथा खडा भएका छन्, एमालेलाई लोकप्रिय पार्टी बनाउन यी सबै चुनौती चिर्नुपर्ने छ, देशकै अवस्था कठिन छ, पार्टीको पनि अवस्था त्यस्तै छ, यसलाई पार लगाउन सबैको भूमिका जरुरी छ ।’ उनले भनेका छन् ।

सचिव भट्टराईले महाधिवेशनबाट नेतृत्व चुन्ने स्वाभाविक प्रक्रिया सम्झेर अघि बढ्न आग्रह गर्दै भनेका छन्–‘महाधिवेशन नेतृत्व चुन्नलाई नै हो, यो अवस्थामा एमालेलाई एकता गरेर राजनीतिक सन्देश दिन सबै प्रतिनिधिहरूको दायित्व हुनेछ, एमालेमाथि उठेका सबै प्रश्नको जवाफ दिनुपर्ने छ २३ सय प्रतिनिधिले यही संकल्प गर्नुपर्ने छ । प्रतिक्रियावादी शक्तिले साना कमजोरीलाई टेकेर विग्रहमा लैजान खोज्लान् सबै सचेत बनौँ ।’

उनले सबै महाधिवेशन प्रतिनिधिहरूलाई काठमाडौंमा स्वागत गर्दै भनेका छन्–‘देशभरका प्रतिनिधिहरू चुनिइसक्नु भएको छ, सबैलाई बधाई छ, अनि काठमाडौंमा स्वागत छ, काठमाडौँ बाहिरका प्रतिनिधि आउने क्रम सुरु भएको छ, सबै आउने तयारी थालिसक्नुभएको छ, मूल व्यवस्थापन समितिले आवास व्यवस्थापन गरेको छैन कसैको पनि । सकेसम्म सबैले आफ्नो व्यवस्थापन गरौँ नभएकाले जिल्लाको सम्पर्क समितिले गर्नेछ, व्यवस्थापन गर्न नसक्नेहरूले सम्पर्क कमिटी मार्फत गराउनुपर्नेछ ।’

उनले उद्घाटन भक्तपुरको सल्लाघारी र बन्द सत्र भृकुटीमण्डपमा हुने भएकाले त्यही अनुसारको बसाई व्यवस्थापन गर्न आग्रह गर्दै सबै प्रतिनिधिहरूलाई एक साताको समयसहित सबै बन्दोवस्तीको व्यवस्थापन गर्न आग्रह गर्दै भनेका छन् ‘करिब एक साताको समय सबैले मिलाउनुपर्नेछm नियमित औषधि खानेहरूले एक साताको औषधिमूलो लिएर, सबै समान लिएर आउनुहोला, जाडो बढेको छ, विशेष ख्याल गर्नुहोला । जाडोका कपडा बोकेर आउनुहोला ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *