
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल बलदेवले नेत्रविक्रम चन्द विप्लव र जनार्दन शर्मा प्रभाकरले अन्तिम समयमा केपी ओलीलाई साथ दिने आरोप लगाएका छन् ।
आज रुपन्देहीको तिलोत्तमामा आयोजित एकता सभामा बोल्दै उनले कम्युनिष्टहरुको एकताको प्रक्रियामा नआएको भन्दै उनले विप्लवलाई कस्मेटिक,प्रभाकरलाई अराजक र घनश्याम भुसाललाई कर्मकाण्डी नेताहरू रहेको आरोप लगाउँदै उनीहरूको साथमा रहेका सबै कार्यकर्ता केही समयमा एकता अभियानमा जोडिने उनले दाबी गरे ।
‘विप्लवले कस्मेटिक प्रोपोगाण्डा गरिरहेका छन्, कुनै वडामा निर्वाचन लडेर जितेर देखाए भयो नि जनमत कस्तो छ भन्ने रु उनले चुनावमा केपीलाई साथ दिन्छन्, जनार्दन मैले जाने देखिकै अराजक हुन् उनी पनि अन्तिममा केपीको पछि लाएर सहयोग गर्नेछन्, घनश्याम भुसाल कर्मकाण्डी हुन् मार्क्सवादका किताब पल्टाएर भाषण गरेजस्तो होइन उनीसँग केही अपेक्षा छैन, अन्तिममा केपीलाई नै साथ दिने हुन्’ बलदेवले भने ।
उनले अब देशमा रहेका कम्युनिष्ट पार्टीहरूको नेतृत्व केपी ओली र प्रचण्डले मात्रै गर्ने तर्क गरे । ‘विप्लव, प्रभाकर र घनश्यामको सानो समूहले केपीलाई साथ दिनेछन् अरू सबै हामीतिर आउनेछन्, त्यसैले एमाले र नेकपाकै प्रतिस्पर्धा हुन्छ कम्युनिष्ट पार्टीमा’ उनले भने ।
अब निर्वाचनबाट एकताको सन्देश दिनुपर्ने जनाउँदै उनले संगठन सुदृढीकरण र वडा तहसम्मको एकता बलियो बनाएर जानुको विकल्प नभएको खनालले बताए ।
‘निर्वाचनमा एकताको सन्देश कस्तो जानेछ, कम्युनिस्ट आन्दोलन सक्यौ भन्नेहरू चुनावबाट आएर देखियोस् । कम्युनिस्ट जहाँ फुटे त्यहाँ शासन गर्न पाएनन् । कम्युनिस्ट फुटेर सकिने अवस्थालाई जोगाउन प्रचण्ड नेपालले जोगाएका हुन् । अब निर्वाचनमा हामीसँग कसैको गठबन्धन हुँदैन, एजेन्डा स्थापित गर्छौ नयाँलाई पनि साथ दिन्छौँ ।’ उनले भने ।
जेनजी आन्दोलनबाट हेलिकप्टरबाट भाग्नुपर्ने अवस्था सामान्य होइन, सबैतिर संकट थियो त्यसलाई सम्हाल्नुपर्ने अवस्थामा अहिलेको एकता भएको उनको तर्क थियो । नेता सोमप्रसाद पाण्डेले अब निर्वाचनको विकल्प नभएको बताउँदै एकताको सन्देश दिन चुनावी नतिजा निकाल्नु पर्ने बताउँदै पार्टीमा हिजोको पार्टी हेर्ने नभएर अहिलेको जिम्मेवारीलाई लिएर हिँड्न कार्यकर्तालाई आग्रह गरे ।

Leave a Reply