
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता देव गुरुङले नेपालमा दुई तिहाई जनमत कम्युनिस्टको भएको तर टुटफुटले समाजवादी क्रान्ति बाँकी रहेको बताउँदै त्यसैका लागि अहिलेको एकता अभियान थालिएको जनाएका छन् ।
उनले १६ वटा वाम घटकको एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको बताए । आज रुपन्देहीको तिलोत्तमामा आयोजित एकता सभामा बोल्दै उनले कम्युनिष्ट आन्दोलनको एकता र स्वाधीनताको रक्षाका लागि प्रचण्ड नेतृत्वको विकल्प नभएको दाबी गरे।
‘एमाले दक्षिणपन्थी धार हो, माओवादीबाट निस्केका र मोहनविक्रमसँग रहेका संकृर्ण धार अहिलेको एकतामा नआएका हुन् तर त्यो समूहबाट पनि धेरै आउने वातावरण बन्दै छ’ उनले भने–‘विचार मिल्नेहरूबीच एकता र सहकार्य गर्ने हो । अब वामहरूको संयुक्त मोर्चाको विकल्प छैन, प्रचण्ड र नेपालबाहेक नेतृत्वको विकल्प सोच्न पनि सकिँदैन ।’
उनले विप्लव र प्रभाकरको कडा आलोचना गर्दै भने- ‘उहाँहरू अन्तिम समयसम्म आउने भन्ने नै थियो तर नेतृत्व परिवर्तन नभएकोले एकतामा नआउने कुरा सुनियो अनि त्यो विषय माओवादी केन्द्रीय बैठकमा प्रस्ताव जाँदा ९८ प्रतिशतबाट प्रचण्डबाहेक कसैले यो आन्दोलन जोगाउन सक्दैन भन्ने निचोड आयो, विगतमा बाबुराम पुगेको ठाउँमा प्रभाकर पुगे विचलनमा आएको अवस्था हो ।’
नेता गुरुङले अहिले १६ घटकको एकता भएको र समाजवाद यसको आधारभूत कार्यक्रम रहने बताउँदै आत्मनिर्भर अर्थतन्त्रको वातावरण बनाएर अघि जानुपर्ने प्रष्ट धारणा रहेको बताए ।
उनले सकेसम्म शान्तिपूर्ण नै आन्दोलन हुने तर जेनजी आन्दोलनजस्तो अरू कारणले आन्दोलन शान्तिपूर्ण मात्रै नभएर सबै संघर्षको योजनामा जानुपर्ने हुनसक्ने संकेत कार्यकर्तालाई सुनाए ।
उनले अहिले धेरै घटकको एकता भएकोले अन्तर्विरोध हुनसक्ने भए पनि त्यो एकता महाधिवेशनसम्म मिलाउँदै लैजाने बताउँदै भने-‘६ महिनासम्म एकता महाधिवेशन हुन्छ, अहिले हिजो जुन जिम्मेवारीमा थियौँ सबैलाई त्यही जिम्मेवारीमा राख्ने हो, को सिनियर को जुनियर, को ठूलो पार्टी को सानो पार्टीबाट आएको भन्ने विषय कसैले गर्नुहुँदैन, केन्द्रदेखि सबै कमिटीमा जिम्मेवारी यही अनुसार जानेछ ।’

Leave a Reply