
काठमाडौं। गत असोज ३१ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘जेरी अन टप’ ले शनिबार प्रदर्शनको ५१ औं दिन मनाएको छ। अभिनेता अनमोल केसी र अभिनेत्रीद्वय आँचल शर्मा र जसिता गुरुङ मुख्य भूमिकामा रहेको यो चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गर्दै हिजो प्रदर्शनको ५१ औं दिन मनाएको हो।
यहीँ अवसरमा निर्माण टिमले शनिबार साँझ एफक्युब सिनेमाजमा एक कार्यक्रम आयोजना गरी केक काटेर खुसी साट्यो। कार्यक्रममा चलचित्रका कलाकार, निर्देशक तथा निर्माता उपस्थित थिए। तर चलचित्रकी मुख्य अभिनेत्री आँचल शर्मा भने अस्वस्थताका कारण सेलिब्रेसनमा उपस्थित हुन सकिनन्। त्यस्तै, होम प्रोडक्सनको चलचित्र ‘बाटुलो जुन’ को छायांकनका कारण अभिनेता भुवन केसी र कार्य व्यस्तताका कारण उषा खड्गी पनि कार्यक्रममा उपस्थित हुन सकेनन्।
अनमोल आफ्नो आगामी फिल्म ‘बाटुलो जुन’ को छायांकन सेटबाट सिधै ‘जेरी अन टप’ को सेलिब्रेसनमा पुगेका थिए। सेलिब्रेसनमा बोल्दै उनले दर्शकको मायाले यो सफलता सम्भव भएको बताए। उनले भने,‘जेरी अन टपको ५१ औँ दिनको सेलिब्रेसन हाम्रो मात्र हैन, समग्र नेपाली फिल्मकै सेलिब्रेसन हो। आगामी दिनहरुमा अझै राम्रा फिल्म लिएर आउने छु।’
‘चलचित्रले नेपालमा मात्र नभएर बाहिर पनि राम्रो प्रतिक्रिया पाइरहेको छ। यो मायाको लागी म एकदमै आभारी छु। सबैलाई यहीँबाट धन्यवाद पनि दिन चाहन्छु। फेरि पनि यो टिमसँग सहकार्य गर्ने मौका जुरोस्,’उनले सुनाए।
अनमोलसँगै अभिनेत्री जसिता गुरूङ र निर्देशक सुयोग गुरूङले पनि दर्शकप्रति आभार व्यक्त गरे। सेलिब्रसन कार्यक्रममा बोल्दै सुयोगले भने,‘हामीले अलिअलि माया त पाउँछौ भन्ने सोचेका थियौ, तर यति धेरै पायौ। यो मायाको लागी दर्शकलाई धन्यवाद। हामी आभारी छौँ ।अनि दिनरात नभनी दिनरात मेहेनत गर्नुभएका सबै टिम र क्रिउलाई पनि यहीँबाट धन्यवाद’
प्रदर्शनको सुरुवाती दिनदेखि नै दर्शकको राम्रो साथ पाएको यो चलचित्रले बक्स अफिसमा ५१ दिनसम्म आइपुग्दा १२ करोड माथिको व्यापार गरेको छ। १२ करोडको व्यापार गरेसँगै यो चलचित्र अनमोलको एक दशक लामो करिअरकै सर्वाधिक कमाउने चलचित्रसमेत बनेको छ। यसअघि उनका कुनै पनि चलचित्रले १० करोडको आँकडा पार गर्न सकेका थिएनन्।
अनन्या फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्मित यो चलचित्रमा अनमोल, जसिता र आँचलका अलावा भुवन केसी, केदार घिमिरे, उषा खड्गी लगायतका कलाकारहरूको समेत अभिनय छ। सरोज न्यौपाने प्रस्तुतकर्ता रहेको यो चलचित्रलाई सुयोग गुरुङले निर्देशन गरेका हुन।
यसैबीच, ‘जेरी अन टप’ को दोस्रो शृंखला पनि निर्माण हुन सक्ने चलचित्रका निर्देशक सुयोग गुरुङले जानकारी दिएका छन् । नेपाल प्रेससँग कुरा गर्दै उनले भने,’दोस्रो भाग पनि बनाउने भनेर सरोजजीले कुरा राख्नुभएको छ तर फाइनल भइसकेको छैन। हामी सल्लाह गरिरहेका छौँ । कथा फाइनल हुनुपर्यो पहिला। बन्ने भएपनी समय लाग्छ। सल्लाह हुदैछ, फाइनल हुनासाथ हामी घोषणा गर्छौं।’

Leave a Reply