अरूको चलचित्रलाई उडाउने बिटी कान्छाको हावादारी दृश्यले बिग्रेको सिरिज ‘हरामी’

काठमाडौं । हलबाट उत्रिसकेका चलचित्रहरूलाई उडाएर रिभ्यु गर्ने बिटी कान्छा (विश्वास तिम्सिना) को लेखन तथा निर्देशन रहेको सिरिज ‘हरामी’ युट्युबमा सार्वजनिक भएको छ । सिरिजको पहिलो एपिसोडले युट्युबबाट तीन दिनमा बल्लतल्ल ७० हजार भ्युज कटाएको छ । जब कि सिरिजमा अभिनेत्री गौमाया गुरुङ, आना शर्मा जस्ता कालाकारको समेत अभिनय छ ।

बिटी कान्छाले हलबाट उत्रिसकेका चलचित्रहरूको रिभ्यु गर्ने गर्छन् । प्रदर्शनरत चलचित्रहरूको रिभ्यु अहिलेसम्म गरेका छैनन् । उनको छनोटमा मीनबहादुर भामको ‘शाम्बाला’, दीपक रौनियारको ‘पूजा सर’ जस्ता अब्बल चलचित्रहरू पर्दैनन् । बरु युट्युबतिरै अलपत्र परेका दुईअर्थी सर्ट फिल्महरूको रिभ्यु गरिरहेका हुन्छन् ।

कमेडी दरबारमा कमेडी समेत गरिरहेका बिटी कान्छाले अन्य चलचित्रलाई उडाएको देख्दा लाग्छ, उनीसँग चलचित्रप्रतिको ज्ञान धेरै गहिरो छ । उनले चलचित्र बनाए भने धेरै राम्रो बनाउँछन् । तर, पहिलो सिरिजमै उनी कमसल साबित भएका छन् । ‘हरामी’मा न कथा बलियो छ, न त निर्देशन बलियो छ । कलाकारलाई पनि ओभर एक्टिङ गर्न बाध्य पारेका छन् ।

सुरुवातमै एउटा दृश्यमा एकजना पात्रले तीनवटा बियरको बोतल एकै पटक मुखमा हाल्छ । यस्ता हावादारी दृश्यको चंगुलमा ‘हरामी’लाई बिटी कान्छाले फसाएका छन् । अर्को दृश्य छ, जहाँ मुख्य पात्रले साथीलाई गर्लफ्रेण्डसँग ब्रेकअप गराउन कनिभन्स गर्छ । तर, साथीले मान्दैन । यसपछि अचानक कोठाको कम्प्युटर अन गरेर पावर प्वाइन्ट प्रेजेन्टेसनमार्फत् साथीलाई सम्झाउन सुरु गर्छ । त्यो पात्रले त्यति छिटो कसरी बिजुली गतिमा पावर प्वाइन्ट बनायो, दर्शकलाई थाहै हुँदैन ।

आउँदो शुक्रवार यो सिरिजको अर्को एपिसोड आउने बताइए पनि बिटी कान्छालाई पहिलो गाँसमै ढुंगा परेको छ । यद्यपि सुधार गर्दै जाने ठाउँ प्रशस्तै देखिन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *