
कैलाली । कैलालीको घोडाघोडीमा सुरु भएको १६ औँ नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता–२०८२ को उपाधि कान्तिराज्यलक्ष्मी माध्यमिक विद्यालय पहलमानपुरले हात पारेको छ ।
२० स्वर्ण, १७ रजत र ७ कांस्य गरी जम्मा ४४ पदकसहित कान्तिराज्यलक्ष्मी विजेता बनेको हो । मङ्सिर १७ गते सुरु भएको प्रतियोगितामा सहभागी २४ वटा विद्यालयलाई पछि पार्दै कान्तिराज्यलक्ष्मी माध्यमिक विद्यालयले उपाधि जितेको हो । कान्तिराज्यलक्ष्मीले योसँगै लगातार ४ वटा प्रतियोगितामा हित हासिल गरेको छ ।

राष्ट्रिय माध्यमिक विद्यालय तारानगर ८ स्वर्ण, ३ रजत र ६ कांस्य गरी जम्मा १७ पदकका साथ दोस्रो भएको छ भने ७ स्वर्ण, ८ रजत र ७ कांस्य गरी जम्मा २२ पदकका सहित राष्ट्रिय माध्यमिक विद्यालय सुखड तृतीय भएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयका खेलाडीहरूलाई घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावतले एक औपचारिक कार्यक्रमका बिच पुरस्कार तथा शिल्ड प्रदान गरेका थिए ।नगर प्रमुख रावतले प्रतियोगिताले विद्यालयको सृजनशीलतालाई उजागर गर्दै विद्यार्थीहरूको खेलकुदको सम्भावना बढाइरहेको बताएका थिए ।
प्रतियोगितामा भलिबल, कबड्डी, शर्टफुट, रिले दौड, हाई जम्प, दौड, ट्रिपल जम्प, ज्यावलिङ थ्रो, तेकान्दो, किराते र बौद्धिक लगायतका खेलहरू सञ्चालन भएको थियो ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ मङ्सिर १७ गते देखि सञ्चालन भएको माध्यमिक तहको नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २० गते सम्म सञ्चालन भएको थियो ।
प्रतियोगिता १२ सय खेलाडी विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
अघिल्लो संस्करणमा कान्तिराज्यलक्ष्मी मावि २५ स्वर्ण, ५ रजत र ६ कांस्य गरी जम्मा ३९ पदकका साथ प्रथम भएको थियो । त्यस्तै राष्ट्रिय माध्यमिक विद्यालय सुखड ६ स्वर्ण, ९ रजत र ६ कांस्य गरी जम्मा २१ पदकका साथ दोस्रो भएको थियो भने ४ स्वर्ण, ८ रजत र ९ कांस्य गरी जम्मा २१ पदकका सहित घोडाघोडी सामुदायिक माध्यमिक विद्यालय सुखड तृतीय भएको थियो ।

Leave a Reply