विष्णुमायाबाट सिक्नुपर्ने जीवनको जिम्मेवारी- आफू गाउँपालिका उपाध्यक्ष, पति २२ वर्षदेखि खाडीको श्रमिक

रुपन्देही । पति होस् या पत्नी, जीवनको जिम्मेवारी बराबर हुन्छ । पाल्पाको माथागढी गाउँपालिकामा सर्वसाधारणका समस्याकी साधक विष्णुमाया लुङ्चे मगर र पति सोमबहादुरका जीवनमा अनेकन् जिम्मेवारी आइलागे । त्यसलाई निर्वाह गर्ने सिलसिलामा व्योहोर्नुपर्ने कष्ट बराबरी बाँडेका छन् ।

सोमबहादुर २२ वर्षदेखि दुबईमा पसिना बगाइरहेका छन् । यहाँ विष्णुमायाले घर-परिवार, छोराछोरी, सासूआमाको चित्त बुझाएर सामाजिक काममात्रै गर्दिनन्, राजनीति पनि धानिरहेकी छन् । रोचक त के छ भने, उनले स्वास्थ्यसेवाको स्थायी जागिर छाडिन् । अहिले गाउँपालिका उपाध्यक्षको जिम्मेवारी सम्हालेकी छन् । २०४८ सालमा विवाह गरिन् । पति सोमबहादुर २०५८ सालदेखि वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा छन् । विष्णुमायाचाहिँ सरकारीसमेत छोडेर जनताको सेवा गर्न जुटिन् ।

घामको किरणले धर्तीलाई राम्रोसँग चुम्न नपाउँदै विष्णुमाया जहिल्यै गाउँपालिकामा झुल्किएकी हुन्छिन् । शालीन र दायित्वप्रति अत्यन्तै संवेदनशील जनप्रतिनिधिको परिचय छ उनको । गाउँपालिकाको काम बाहेकको समयमा पनि स्थानीयको घरघरमा पुगेर दुःख–सुख, समस्या र समाधानका कुरा गरिरहेकी हुन्छिन् । अनुहारमा आत्मविश्वास, व्यवहारमा आत्मीयता र काममा दृढता– यी विष्णुमायाका विशेषता हुन् । पाल्पाको राजनीति बुझेका दलबहादुर गुरुङ भन्छन्, ‘उनी केवल उपाध्यक्ष मात्र हैनन्; गाउँकी आशा, महिला माझको प्रेरणा र समुदायसँग एकाकार भएको नेतृत्व हुन् ।’ जागिरमा हुँदाभन्दा अहिले दोब्बर खटिएको उनले बताए ।

विष्णुमायाले २८ वर्ष मातृ-शिशु स्वास्थ्यसम्बन्धी सेवामा बिताइन् । २०७९ सालमा राजीनामा दिएर गाउँपालिका उपाध्यक्षको उम्मेदवार बनिन्, जितेरै देखाइन् । ‘मैले अझै १२ वर्ष काम गर्न पाउने समय थियो, कमाउनका लागि घरमा श्रीमान् नबसेर दुबई जानुभएको छ २२ वर्षदेखि’, उनले भनिन् ‘तर, म स्थानीयको काममा सहज बनाउन सक्छु, पहिलेभन्दा बढी सेवा दिन सक्छु भनेर घरपायकको स्थायी जागिर छाडेर राजनीतिमा आएकी हुँ, जनताको काम गर्न आएकी हुँ ।’

उनले स्वास्थ्य क्षेत्रमा पाएको अनुभव अहिले विकास, स्वास्थ्य, कृषि, महिला उद्यम, पर्यटन, शिक्षा-सबै क्षेत्रमा उपयोग भइरहेको छ । ‘उनको यात्रा लामो छ । उतार–चढावले भरिएको छ । संघर्ष र सिर्जनाले रंगिएको छ । र, यही यात्राले आजका विष्णुमाया लुङ्चे मगर बनाएको छ- गाउँको विकासमा होमिएकी, आमा-बच्चाको जीवनजल्ती बनिसकेकी, महिलाको आवाज बनेकी र नेतृत्वको अग्रपंक्तिमा उभिएकी दृढ आत्मा हुन्’ प्रशंसक गुरुङले भने ।

विष्णुमायाको जीवनमा जिम्मेवारीको थालनी विवाहपछि झनै बढ्दै गएको बताउँछिन् । उनका श्रीमान् २२ वर्षदेखि अबुधावीमा काम गर्छन् । घर-परिवार, छोराछोरी, सासूआमा, समाज, राजनीति-सबै जिम्मा प्रायः उनको काँधमा । तर उनले कहिल्यै गुनासो गरिनन् । बरु समय मिलाएर श्रीमानलाई भेट्न खाडी पुग्छिन्, कहिलेकाहीँ परिवारका सदस्यलाई घुमाउन पनि लैजान्छिन् । ‘यति धेरै जिम्मेवारी हुँदाहुँदै मलाई कहिल्यै थकान आउँदैन । किनकि यो कामलाई पेशा होइन, सेवा मानेर आएकी हुँ, त्यसैले मातृ-शिशु स्वास्थ्य सेवामा बिताएका २८ वर्षलाई मैले ‘जीवनका स्वर्णिम क्षण’ मानेर अगाडि बढेकी छु’ विष्णुमायाले भनिन् । गाउँमा उनले स्वास्थ्य क्षेत्रमा काम गर्दा नै सबैको मन जितेकी हुन् ।

मातृ–शिशु सेवा: जहाँ उनले हजारौँ जीवन छोएको बताउँछिन् उनले । साबिक कसेनी गाविसको जगात स्वास्थ्य चौकीमा उनले लामो समय सेवा गरिन् । उही ठाउँ जहाँ विष्णुमायाले जीवनका महत्त्वपूर्ण २८ वर्ष खर्चिन् । मातृ-शिशु स्वास्थ्य कार्यकर्ता दरबन्दीमा नियुक्त भएकी उनी, सेवामै समर्पित भएर ५औँ तहसम्म बढुवा भएर काम गरेको बताउँछिन् । ‘अस्पताल र केन्द्रमा सीमित स्रोत, अस्पताल नपुगेका आमाहरू, परम्पराले बाँधिएका परिवारका बीचमा मैले सेवा दिएकी हुँ’ उनले भनिन्- ‘कति आमा मृत्युको मुखबाट फर्काएँ, कति नवनियलालाई पहिलो रोदनसम्म पुर्‍याएँ । यो कुनै शब्दमा भन्न सकिँदैन, विषय मेरो रोजीरोटीभन्दा बढी सेवाको भावनाले दिएको समयभन्दा अन्य समयमा बढी गरेकी हुँ ।’ उनका यी शब्दमा केवल सम्झना होइन, गहिरो समवेदना छ ।

नेपालमा मातृ मृत्युदर बढेको समयमा विष्णुमायाजस्ता सहकर्मीहरूको निरन्तरता, समर्पण र सामाजिक समझाइ–बुझाइले नै धेरै क्षेत्रहरूमा मातृ-शिशु मृत्युदर घटाउन टेवा पुर्‍याएको र यो अभियानमा विष्णुमाया अग्रस्थानमा रहेको स्थानीय बताउँछन् । ‘जनजीवन बुझेर बनेकी नेता हुन्, स्वास्थ्य सेवामा काम गर्दा गाउँ-घरका पीडा उनले नजिकबाट देखिन् । महिलाको मौनता, छुवाछुत, लैंगिक हिंसा, घरायसी भार, गरिबी, शिक्षा अभाव- यी सबै समस्या उनले आफ्नै आँखा अगाडि देखेकी थिइन् । त्यसैले अहिले उपाध्यक्ष बनेपछि उनले प्राथमिकता नै बनाइन्’ उनीहरू भन्छन् । त्यसलाई विष्णुमाया पनि स्वीकार गर्छिन् । अहिले उनले जनप्रतिनिधि बनेपछि महिला सशक्तीकरण, उद्यमशीलता, लैंगिक हिंसाविरुद्ध अभियान, कृषि र पर्यटनबाट रोजगारी, स्वास्थ्य तथा शिक्षा सुधारलाई अघि सारेको बताउँछिन् ।

गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीसँग हातेमालो गर्दै उनी दिनभर कार्यालय, सकेपछि घर, त्यसमाथि दलगत कार्यक्रम सबै सम्हाल्छिन् । उनको ऊर्जा प्रशंसनीय छ । छोटो दूरी होइन, दीर्घ दृष्टिले काम गर्छिन् । साबिक कसेनीको जगात हाल माथागढी–६ मा जन्मेकी उनले कक्षा ७ पढ्न सातपोखरी निम्न माध्यमिक विद्यालय र माध्यमिक तह झडेवाको किसान माविबाट गरेकाले स्थानीय क्षेत्रका सबै समस्या बुझेकी थिइन् ।

विष्णुमायाका तीन छोरा छन् । जेठो छोरो-फार्मेसी पढेर बुवा भएकै देश दुबईमा काम गर्न गएका छन् भने जेठी बुहारी-स्टाफ नर्स छन् । माइलो छोरो डिप्लोमा इञ्जिनियरिङ सकाएर बसेका छन् भने कान्छो छोरा अहिले अक्सफोर्ड कलेज, बुटवलमा १२ कक्षामा पढ्दैछन् । ‘जीवनमा जिम्मेवारी कहिल्यै कम भएन । जागिर गर्दा पनि घर-परिवार, कार्यालय-समाज, राजनीति-सबैलाई बराबरी सन्तुलनमा राखेकी थिएँ, अहिले पनि सबैतिर पूरा गरेकी छु’ उनले भनिन् ।

राजनीतितर्फको आकर्षण: सेवा र समर्पणकै निरन्तरता भएको उनको भनाइ छ । ‘म विद्यार्थी रहँदा नै संगठनमा आबद्ध भएँ तर बिहेपछि केही अवरुद्ध भयो, पछि जागिरसँगै आन्तरिक रूपमा सबै जिम्मेवारी पूरा गरेँ, जागिर,परिवार, राजनीति सबै मिलाउन गाउँमा जन्मेका महिलालाई चुनौती त हुन्छ नै तर सबै मिलाएर यहाँसम्म आएँ कहिले कतैबाट आलोचना खेप्नुपरेन’ उनले भनिन्- ‘स्वास्थ्य सेवामा रहँदादेखि नै म राजनीतिक रूपमा सचेत थिएँ, आफ्नो पार्टी, संगठन र गतिविधिमा आर्थिक, नैतिक, भौतिक सबै प्रकारले सहयोग गर्थे, तर महिला भएर गर्न सक्दैनन् कि भनेर आशंका गर्ने बानी धेरैमा थियो तर म ढुक्कसँग भन्थे गरेपछि सकिन्छ ।’

उनको यही समर्पित छविलाई देखेर २०७९ को स्थानीय तह निर्वाचनमा उनी आबद्ध नेकपा एमाले पार्टीले उनलाई जागिर छोडाएर उपाध्यक्षका रूपमा उम्मेदवार बनाउने निर्णय गर्‍यो । र, उनी विजयी भइन् । आज उनी जनप्रतिनिधिसँगै जिल्लास्तरमै सक्रिय नेतृ बनेकी छिन् । उदाहरणीय जनप्रतिनिधि बनेकी छन् । मगर संस्कृतिको पहिचान बोकेकी नेतृ बनेकी छन् । मगर समुदायमा जन्मिएकी विष्णुमाया आफ्नो भाषामा फड्कारेर कुरा गर्छिन् । संस्कृति, परम्परा, पहिचानबारे गहिरो ज्ञान छ । उनलाई धेरैले ‘संस्कृतिसँग जोडिएको नेतृ’ भन्छन् ।

उनले अब बाँचुञ्जेल समाजसेवामा समर्पित हुने अठोट गरेकी छन् । उनी भन्छिन्,‘मलाई जति संघर्ष गर्नुपर्ने समय थियो पूरा गरेँ अब बाँचुञ्जेल समाजसेवामा समर्पित हुन्छु । यहीबाट मलाई आनन्द मिल्छ ।’ उनले राजनीतिक पदमा भन्दा पनि सेवामा विश्वास गर्ने भनेर सबैलाई चिनाउन सकेको बताइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *