
डोटी । बझाङमा एक शिशुको जन्मेकै दिन बैंक खाता खोलिएको छ । जिल्लाको साइपाल गाउँपालिका-१, धलौनका श्याम बोहराकी श्रीमती सिता बुढाले शुक्रवार बिहान ११.४० बजे स्थानीय स्वास्थ्य संस्थामा छोरी जन्माइन् ।
वडा कार्यालय नजिकै भएका कारण शुक्रवारै श्यामले छोरीको जन्म दर्ता गराए । शुक्रवारै एभरेष्ट बैंक लिमिटेडको साइपाल शाखामा बैंक खाता समेत खोलिएको छ ।
“मैले पहिलेदेखिनै बच्चा जन्मेकै दिन जन्म दर्ता गराउने सोचेको थिएँ, सोही अनुसार बच्चा जन्मिने बित्तिकै नजिकै रहेको वडा कार्यालय गएँ” शिशुका बुवा श्याम भन्छन् “वडामा जन्म दर्ता भइहाल्यो ।” श्रीमान्-श्रीमतीबीच सल्लाह भए बमोजिम छोरीको नाम उन्नति राखेर जन्म दर्ता गरिएको श्याम बताउँछन् ।
जन्म दर्ता भइसकेपछि उनलाई बैंकमा खाता खोल्ने कुरा याद आयो । सामाजिक सुरक्षा भत्ताका लागि बैंक खाता खेल्नै पर्ने भएपछि उनले शुक्रवारै बैंक खाता समेत खोलिदिए । “एक पटक जन्म दर्ता गराउनै पर्ने हो, ढिलो भएपछि जरिवाना पनि लाग्ने भएका कारण समयमै गराएको हुँ” उनले भने “जन्म दर्ता भइसकेपछि खाता पनि खोलिहालौँ भन्ने भयो र हिजै (शुक्रवारै) खाता खोलेँ ।” सोही दिन बैंक खाता खोल्नका लागि आफूलाई वडा सचिव र बैंकका कर्मचारीहरूले प्रेरित गरेको श्याम बताउँछन् ।
शिशु उन्नतिको जन्मेकै दिन बैंक खाता खोलिएको एभ्रेष्ट बैंक लिमिटेड, साइपाल शाखा अपरेसन इन्चार्ज हरिस अवस्थीले पुष्टि गरे । उनले भने “यसरी जन्मेकै दिन शिशुको खाता खोलिएको मेरो जानकारीमा पहिले घटना हो ।”

Leave a Reply