एमालेका ७ सचिवका लागि ४० बढी आकांक्षी, लिस्ट नबाँडी खुला प्रतिस्पर्धा गर्न दिन सुझाव

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि सबैभन्दा बढी प्रतिस्पर्धाको पद सचिव हुने निश्चित भएको छ । सात सचिव रहेको एमाले विधानअनुसार पदाधिकारी प्रवेशको पहिलो पद नै यही रहेकाले र लामो समय स्थायी कमिटीमा काम गरेका धेरै नेताहरू अब त्यो पद नभएपछि अन्त जाने विकल्प नभएकाले धेरैको रोजाइमा परेको हो ।

अर्कोतर्फ माथिल्लो पदमा रहेका पदाधिकारीहरू अधिकांश दोहोरिने भएकाले र यो पटक पदाधिकारीको संख्यासमेत कटाइएकाले पनि नेताहरूलाई यसमा जानुको विकल्प नभएको नेताहरूको भनाइ छ ।

चितवनमा भएको १० औँ महाधिवेशनमा ७ सचिव निर्वाचित भएकोमा टोपबहादुर रायमाझी निलम्बनमा परेसँगै ६ जना अहिले सचिव रहेका छन् । मंसिर २७ देखि २९ सम्म हुने ११ महाधिवेशनका लागि पदाधिकारीको संख्या १९ बाट १५ बनाइएको छ । त्यसकारण यसअघिका सचिवहरू माथिल्लो पदमा जान पुरानालाई हटाउनुपर्ने बाध्यता भएकाले पनि बढी चुनौती भएको हो ।

हाल सचिवमा गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, लेखराज भट्ट, रघुवीर महासेठ रहेका छन् । उनीहरूमध्ये विष्ट र भट्टराई नवौँ र १० औ महाधिवेशनमा सोही पदमा बसेका हुन् ।

अध्यक्षमा केपी ओली दोहोरिने भएसँगै र उनीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । अहिले काटेको पदमा वरिष्ठ उपाध्यक्ष नै नभएकाले पोखरेललाई चुनौती पनि छ ।

त्यसैगरी ५ उपाध्यक्ष घटाएर ३ बनाइएको छ । युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यबाहेक विष्णुप्रसाद पौडेल, रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डे, गुरु बराल दोहोरिने संकेत गरिसकेका छन् ।

महासचिव शंकर पोखरेल सोही पदमा दोहोरिन खोजेका छन् भने उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णु रिमाल महासचिवमा जाने तयारी गरेपनि शंकर उपाध्यक्षमा नजाँदासम्म उनीहरूले ठाउँ पाउने छैनन् र सचिवबाट माथि जान खोजेकालाई समस्या आउने छ ।

तर निर्वाचन भएको खण्डमा अलग अलग उम्मेदवारी दिएर धेरै आकांक्षीहरुबाटै सचिव ल्याउनुपर्ने बाध्यता हुनसक्ने नेताहरूको तयारी छ । एमालेको नेतृत्वले पनि यसपटक पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय सदस्य कटौती गरेका कारण पदाधिकारीको प्रवेश पद सचिव र केन्द्रीय सदस्यमा खुला प्रतिस्पर्धाबाट नै गर्नुपर्ने अवस्था आउने संकेत गरेका छन् ।

अध्यक्षका उम्मेदवारले सचिव र केन्द्रीय सदस्यको समेत प्यानल बनाउँदा त्यसमा समेटिन नपाएकाहरू असन्तुष्ट बनेर परिणाम नै उलटफेर हुने आशंका पनि नेताहरूमा छ । कतिपय नेताले उपमहासचिवभन्दा तल लिस्ट बनाउन भन्दा पनि स्वतन्त्र प्रतिस्पर्धा गर्न दिएमा लोकप्रिय व्यक्तिहरू जितेर आउने र सबैको रह पनि पूरा हुने सुझाव समेत दिइरहेका छन् ।

निजामती र फौजी संगठनमा जस्तो क्रमशः पद बढुवा हुने परिपाटीले राजनीतिक दलहरूमा युवा क्षमता रोकिने र परम्परागत ढर्राका नेताहरूले पद ओगट्ने अवस्था आउने भएकाले पनि देशव्यापी नेटवर्क भएका र योग्य युवा नेताहरूले खुला प्रतिस्पर्धाबाट नेतृत्वमा स्थापित हुने मौका पाउने उनीहरूको भनाइ छ ।

यी हुन् पदाधिकारीका नयाँ र पुराना दाबेदार

सचिव पदमा प्रवेशका लागि सबैभन्दा बलिया दाबेदार धेरै कोशी प्रदेशबाट देखिएका छन् । कोशीबाट अध्यक्ष केपी शर्मा ओली अध्यक्ष तेहरिने तयारीमा छन् भने उपाध्यक्ष रहेका गुरु बराल र सचिव योगेश भट्टराईसँगै अरू धेरै बलिया नयाँ अनुहार यहाँबाट देखिएका छन् । सचिव योगेश महासचिव वा उपमहासचिवको उम्मेदवार हुनेछन् । कोशीबाट भीम आचार्य, शेरधन राई, हिक्मत कार्की, भानुभक्त ढकाल, राजेन्द्र गौतम, अग्नि खरेल, विनोद ढकालले आफ्नो पक्षमा लबिङ गरिरहेका छन् ।

मधेशबाट पदाधिकारीमा सचिव रघुवीर महासेठ छन् । उनले सचिवभन्दा माथिल्लो पदमा दाबी गर्ने तयारी गरे पनि नपाए दोहोरिने छन् । यहाँबाट सरोज यादव, जुलीकुमारी महतो, ज्वाला कुमारी साहले पदाधिकारी प्रवेशका लागि चाहना राखेका छन् ।

बागमती प्रदेशबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल, उपाध्यक्षहरूमा अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा र उपमहासचिव विष्णु रिमाल छन् । यहाँबाट पदाधिकारीमा प्रवेशका लागि काशीनाथ अधिकारी, रघुजी पन्त, राजन भट्टराई, गोकुल बास्कोटा, महेश बस्नेत, शेरबहादुर तामाङ, बिन्दा पाण्डे, माधव ढुङ्गेल, आनन्द पोखरेल, पार्वत गुरुङलगायतका नेता सचिव र उपमहासचिव पदका दाबेदार हुन् ।

गण्डकी प्रदेशबाट अहिले पृथ्वीसुब्बा गुरुङ उपमहासचिव र पद्मा अर्याल सचिव छन् । यी दुई अहिले पनि पदाधिकारीमा समेटिदा नयाँ अनुहारले पदाधिकारीमा प्रवेश पाउन चुनौती रहेको नेताहरूको भनाइ छ । यहाँबाट खगराज अधिकारी, किरण गुरुङ, पदम गिरी, थममाया थापा र जगत विश्वकर्मा पदाधिकारी प्रवेशको दौडमा छन् ।

लुम्बिनी प्रदेशबाट अहिले उपाध्यक्षद्वय युवराज ज्ञवाली, विष्णुप्रसाद पौडेल महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण विष्ट, छविलाल विश्वकर्मा छन् । टोपबहादुर रायमाझी सचिव नै रहे पनि अहिले निलम्बित रहेको र पुर्पक्षका लागि थुनामा रहेकाले उनी नअट्ने निश्चित छ । पुराना सचिवमध्ये गोकर्ण दोहोरिएकाले त्यो पदमा नरहने बताइसकेका छन् भने छविलाल एक मात्र दलित समुदायबाट पदाधिकारीमा पुगेकाले निरन्तरता पाउने निश्चितजस्तै छ तर पदाधिकारीको संख्या थपेर उपाध्यक्ष थप राखिए उनी त्यहाँ जाने योजनामा छन् । लुम्बिनीबाट पदाधिकारी प्रवेशका लागि नेताहरू सूर्य थापा, खिमलाल भट्टराई, रामकुमारी झाँक्री, ठाकुर गैरे, लीला गिरीसहितका नेताहरू दौडधुपमा छन् ।

कर्णाली प्रदेशबाट सचिवमा गोरख बोगटी र यामलाल कँडेलले आकांक्षा राखेका छन् । यसअघि यो प्रदेशबाट पदाधिकारी नपरेको आलोचना भएकाले यहाँबाट एक जना पर्ने निश्चित छ तर कसको पल्ला भारी हुन्छ अहिले यसै भन्न नसकिने नेताहरू बताउँछन् । यहाँबाट नेता विष्णु रिजाल पनि आकांक्षी रहेको नेताहरू बताउँछन् ।

सुदूरपश्चिम प्रदेशबाट सचिवमा लेखराज भट्ट १० औँ महाधिवेशनबाट निर्वाचित भएका थिए । भट्ट अहिले पनि पदाधिकारीमा समेटिने करिब निश्चितजस्तै छ । स्थायी कमिटी सदस्य कर्ण थापा र केन्द्रीय सदस्य ऐन महर पनि पदाधिकारीको आकाङ्क्षी छन् । यी दुवै अहिले सचिवका दौडमा छन् । सुदूरपश्चिमबाट पुर्व उद्योग मन्त्री दामोदर भण्डारी, पोलिटब्युरो सदस्य नारदमुनी राना र लीला भण्डारी पनि पदाधिकारीको आकांक्षी छन् ।

एमालेको मौजुदा केन्द्रीय कमिटी ३५५ सदस्यीय छ । विधान महाधिवेशनले तय गरेको प्रावधानअनुसार अब १५ पदाधिकारीसहित २५१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित हुनेछन् । अध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव ३, सचिवहरू ७ जना रहनेछन् ।

के भन्छन् नेता ?

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पदाधिकारी थप्ने विषयमा कुनै संस्थागत निर्णय नभइसकेको र पदाधिकारी प्रवेशको पहिलो पद सचिव भएकाले धेरै आकांक्षी हुनु स्वाभाविक भएको जनाए । ‘अहिले नै पदाधिकारी थप्ने विषयमा कुनै संस्थागत निर्णय भएको छैन, पदाधिकारी प्रवेशका लागि पुरानो मापदण्डमा कुनै परिवर्तन हुँदैन, आकांक्षीको नाम धेरै नै आएको छ’ उनले भने ।

एमालेको नेतृत्वका लागि अहिलेसम्म केपी शर्मा ओली र ईश्वर पोख्रेलले अध्यक्षमा उम्मेदवारी घोषणा गरे पनि दुवै पक्षबाट अन्य पदमा कोही नेताहरूले उम्मेदवारीको आकांक्षा सार्वजनिक गरेका छैनन् ।

अध्यक्ष ओलीलाई मार्गप्रशस्त गर्न आग्रह गरिरहेका उपाध्यक्ष युवराज ज्ञवाली निर्वाचन हुने अवस्थामा आफूहरूले धेरै युवाहरूलाई तथा नयाँ अनुहारलाई पदाधिकारीमा समेट्ने दाबी गर्छन् ।

‘हामीले त मूल नेतृत्व नै परिवर्तनको कुरा गरिरहेका छौँ । प्रमुख पदमा धेरैमा दुई कार्यकालमा भन्दा बढी कोही रहनु हुँदैन भन्ने हाम्रो माग हो’ ज्ञवाली भन्छन्, ‘यस पटक हामीले पदाधिकारी सन्तुलित बनाउँछौँ । धेरै नयाँ अनुहार पनि समेटिनुहुन्छ ।’

एमाले सचिव छविलाल विश्वकर्माले भने अहिले प्रतिनिधिहरूको हकमा ४० वर्षभन्दा कम उमेरका युवाहरूको सहभागिता सुनिश्चित गरिएको भन्दै त्यसबाहेक कुनै निर्णय पार्टीले नगरेको बताए ।

‘अहिले युवाहरूको प्रतिनिधिमा सुनिश्चित भएको छ । केन्द्रीय समिति वा पदाधिकारीको विषयमा निर्णय भएको छैन ’ उनले भने ‘अहिले पार्टी भित्र छलफल जारी छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *