प्रधानमन्त्रीले बोलाएको सर्वपक्षीय बैठकमा निर्वाचनै विषय केन्द्रित, के भने दलका नेताहरूले ?

काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले शुक्रवार बोलाएको सर्वपक्षीय बैठकमा फागुन २१ को निर्वाचनकै विषयले प्राथमिकता पाएको छ ।

सरकारी निवास बालुवाटारमा बसेको शुक्रवार साँझ बसेको बैठकमा निर्वाचन आयोग, सुरक्षा निकाय र राजनीतिक दलका प्रतिनिधिसहितको सहभागिता रहेको थियो ।

दलका नेताहरूलाई प्रधानमन्त्रीले निर्वाचनका लागि सहयोग गर्न आग्रह गर्दै सरकारले यसको वातावरण बनाउन तयार रहेको बताइन् । ‘हामी निर्वाचन गराउन तत्पर छौँ । निर्वाचन गराएर नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौँ, हामीलाई सहयोग गर्नुस्’ प्रधानमन्त्री कार्कीले भनेकी थिइन् । बैठकमा निर्वाचन तयारी, सुरक्षा व्यवस्था र निर्वाचन वातावरणका विषयमा केन्द्रित रहेको नेताहरूले जनाएका छन् ।

बैठकमा प्रधानमन्त्री कार्कीसहित मन्त्रीहरू, नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत राजनीतिक दलका प्रतिनिधि सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सर्वदलीय बैठकमा कांग्रेसबाट महामन्त्री गगन थापा र पुष्पा भुसाल, एमालेबाट शंकर पोखरेल र महेश बर्तौला, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट प्रकाश ज्वाला सहभागी रहेका थिए । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट शिशिर खनाल र सोबिता गौतम, राप्रपाबाट राजेन्द्र गुरुङ र भुवन पाठक, जसपा नेपालबाट प्रकाश अधिकारी र जनमत पार्टीबाट नरेन्द्र चौधरी सहभागी भएका थिए ।

बैठकमा निर्वाचन आयोगका पदाधिकारी र सुरक्षा निकायका प्रमुखसमेत सहभागी थिए । प्रतिनिधि सभा र राष्ट्रियसभा सदस्य निर्वाचनलाई केन्द्रित गर्दै सरकारले सरोकारवाला पक्षसँग निरन्तर छलफल गर्दै आएको छ। निर्वाचनका लागि आयोगले दुवै निर्वाचनको कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ। निर्वाचनमा भाग लिन भनी आयोगमा निवेदन दिएका दलहरूले निर्वाचन केन्द्रित गतिविधि अगाडि बढाइसकेका छन्।

बैठकमा सबै पक्षबाट आ–आफ्ना तयारीबारे जानकारी गराउने काम भएको छलफलमा सहभागी नेताहरूले बताएका छन् ।

कांग्रेस महामन्त्री गगन थापाले पार्टीले निर्वाचनमा सहयोग गर्ने तर त्यसको वातावरण बनाउन नसकेको जनाएका थिए । राप्रपाले नवीन समझदारीमा गएर अहिलेको समस्या समाधान गर्नुपर्ने प्रस्ताव राखेको थियो भने रास्वपाबाट नेतृ सोबिता गौतमले अहिलेको सरकारलाई पार्टीले पूरा साथ दिएको बताउँदै निर्धारित मितिमा चुनाव गराउनुको विकल्प नभएको बताएकी थिइन् ।

बैठकमा सहभागी एमाले नेता महेश बर्तौलाले सबै दलले आफ्ना धारणाहरू राखेको र सरकारले निर्वाचनका विषयमा कुनै ठोस योजना नदिएको जनाए ।

‘हामीले बैठकमा चार प्रस्ताव राखेका थियौँ, पहिलो एमाले अध्यक्षलाई स्थान हद गरेर निर्वाचनको तयारी गरेको छैन, सुरक्षाको कुनै वातावरण नै बनेको छैन, सरकारको संवैधानिक परीक्षण बाँकी छ सरकारका विषयमा अदालतमा रहेका मुद्दाको टुंगो लाग्नुपर्छ, चुनावी कानुनका विषयमा सरकारले अनावश्यक प्रचार गरेको छ, यसले चुनावको वातावरण बनेकै छैन भन्ने प्रष्ट धारणा राखेका छौँ’ उनले नेपाल प्रेससँग भने ।

उनले यो विषयमा सरकारबाट कुनै ठोस जवाफ नपाएको जनाएका थिए । बैठकमा सहभागी सुरक्षाकर्मीले सुरक्षा चुनौती भएपनि त्यसलाई थेग्न सकिने धारणा राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *