
रूपन्देही। रुपन्देहीको बुटवल क्षेत्रमा अर्को महत्त्वपूर्ण विकासको योजना अघि बढेको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल-गोरुसिङे सडक खण्डमा पर्ने तिनाउ नदीमा सिग्नेचर ब्रिज निर्माणका लागि ठेक्का आव्हान भएपछि लामो समयदेखि चर्चामा रहेको यो आयोजना निर्माण प्रक्रियामा अघि बढ्ने भएको हो ।
साढे २ अर्ब लगानी लाग्ने अनुमान गरिएको यो योजना नेपालमै नमुनामध्येको हो । यसअघि तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमै पहिलो पटक चितवनको नारायणी नदी र तिनाउ नदीमा यस प्रकारको पुल निर्माणका लागि नीति तथा कार्यक्रम र बजेट व्यवस्थापन गरेका थिए । रुपन्देहीबाटै धेरै पटक निर्वाचन जितेका उनले आफ्नो निर्वाचनको प्रतिबद्धतामा यसलाई राखेर प्रचार गरेका थिए ।
बुटवलको तिनाउ नदीमा आकर्षक सिग्नेचर ब्रिज (पुल) निर्माणका लागि तयारी सुरु गरिएको छ । चिनियाँ, भारतीय, स्वीस र नेपालका पुल विज्ञहरूसँगको परामर्शमा सिग्नेचर पुलको आर्किटेक्ट र स्ट्रक्चर डिजाइन तयार भइसकेको छ । नेपाली र विदेशी इन्जिनियरहरूको टोलीले पुलको आर्किटेक्ट डिजाइनको सम्बन्धमा छलफल गरेको छ।
के हो सिग्नेचर ब्रिज ?
पुलको आधुनिक प्रकार हो, सिग्नेचर ब्रिज । यो अन्य पुलको तुलनामा निकै आकर्षक हुन्छ । अधिकांश शहर नजिकैका नदीहरूमा इन्जिनियरहरूले सिग्नेचर ब्रिज डिजाइन गर्छन् । इरासमस ब्रिज, रोटर्डाम ब्रिज, लण्डनको मिलेनियम ब्रिज, अल्मिलिया ब्रिज आदि सिग्नेचर ब्रिजका नमूना हुन् । ‘यो पुल जहाँ पायो त्यहीँ बन्दैन । निश्चित ठाउँमा मात्र बनाइन्छ’ पूर्वाधार क्षेत्रका जानकारहरू भन्छन् ।
लागतको हिसाबले निकै महँगो मानिने सिग्नेचर ब्रिजको अवधारणा भारतबाट सुरु भएको मानिन्छ । भारतको यमुना नदीमा रहेको वाजिरवाद र पूर्वी दिल्ली जोड्ने यमुना नदीका पुल भारतका पहिला सिग्नेचर ब्रिज हुन् । सिग्नेचर ब्रिज सिमेट्रिकल आकारमा निर्माण गरिन्छ । त्यसले पुलको सम्पूर्ण भार थाम्ने गर्छ । पछिल्लो समय एसिमेट्रिकल आकारमा पनि सिग्नेचर ब्रिज निर्माण गर्ने प्रचलन छ । सिग्नेचर ब्रिजको डिजाइन निकै जटिल हुने गर्छ ।
यसअघि नेपालमा पहिलो पटक ०७९ कार्तिकमा चितवन र नवलपरासीको गैँडाकोट जोड्ने नारायणी नदीमा नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’ बनाउन ठेक्का आह्वान भएर काम अघि बढेको थियो । ५०० मिटर लामो हुने उक्त पुल पर्यटकीय रूपमा समेत आकर्षक बनाउने तयारी छ । हाल सञ्चालनमा रहेको चितवन–नवलपरासी जोड्ने पुल ४६० मिटर लामो छ ।
कर्णाली चिसापानीमा निर्माण गरिएभन्दा अझै अत्याधुनिक प्रविधि प्रयोग गरेर नारायणी नदीमा आकर्षक एवम् कलात्मक पुल निर्माण गर्न लागिएको हो । उक्त पुलमा रातको समयमा आकर्षक बत्तीले सजाउने योजनासमेत बनाइएको छ । साँझ वा बिहानको समयमा विभिन्न धार्मिक भजनसमेत पुलमा सुन्न पाइनेछ । देवघाट हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल भएकाले पनि पुललाई पर्यटकमैत्री बनाउन लागिएको हो ।
बुटवलको सिगनेचर पुल निर्माणका लागि पुल आसपासमा रहेका जग्गाहरूको व्यवस्थापनमा समस्या आएर ढिलाइ भएको थियो । यो विषयमा बुटवल उपमहानगरपालिकाको कार्यालयमा विश्व बैंकका प्रतिनिधिले जनप्रतिनिधि र सरोकारवालासँग पुलको आर्किटेक्ट डिजाइन, यसले ओगट्ने क्षेत्र र पार्ने प्रभावका बारेमा छलफल गरेका थिए ।
पुल निर्माणको प्रक्रिया अघि बढाउन बुटवलमा आएका विश्व बैंकका प्रतिनिधिलाई पुल निर्माणमा उपमहानगर सहकार्य गर्न तयार रहेको र बुटवलको आवश्यकताको विषय रहेको बताइएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिएका थिए । पुल निर्माणका क्रममा आवश्यक पर्ने जग्गा व्यवस्थापन र पुल आसपासको क्षेत्रको बस्तीका बारेमा थप अध्ययन गरेर निर्णय गर्ने जानकारी गराएको तर अन्तिम समझदारी नभएको उनको भनाइ छ।
‘छलफलमा बसेर कुनै समझदारी नभई उठेका हौं, मलाई टेण्डरको विषयमा त जानकारी छैन’ उनले भने–‘हामीले केही प्रस्तावहरू राखेका थियौँ कुनै समझदारीमा पुगेर गर्नुभएको हो ।’ पुलको डिजाइन तयार पार्ने क्रममा पुलको पूर्वी प्रवेशद्वार नजिकै राधाकृष्ण टोल र विकास पथका बीचमा भूमिगत सडक जोड्ने र पश्चिमतर्फको मार्ग पनि कायमै रहने गरी डिजाइनलाई अन्तिम रूप दिन उपमहानगरले सुझाव दिएको थियो।
‘यो सामान्य पुल मात्र हुनेछैन, यसले जितगढी किल्ला, युद्ध सङ्ग्रहालय, बुटवलको पुरानो बस्ती, हिन्दू मन्दिर र मुस्लिम मस्जिदका बीचमा समेत मैत्री भाव राख्ने सन्देश दिनेछ’ मेयर पाण्डेले त्यो बेलामा भनेका थिए ।
‘जितगढी किल्ला, युद्ध सङ्ग्रहालय, पुरानो बुटवल, आसपासका धार्मिक र पर्यटकीय स्थलहरूको अवलोकन गर्न पुलले सहयोग गर्नेछ,’ उनले भने, ‘पुल र यहाँका ऐतिहासिक, पुरातात्त्विक स्थल एकर्काका सहयोगी बन्नेछन्, यसबाट पर्यटक आकर्षित हुनेछन् र स्थानीयवासीको व्यापार व्यवसायमा लाभ हुनेछ।’
सिग्नेचर ब्रिज निर्माणका लागि यसअघि पनि बुटवलमा छलफल भएको थियो । यो क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि पुल निर्माण कोसेढुंगा साबित हुने उपप्रमुख सावित्रादेवी अर्यालले बताइन्। ‘यसले बुटवलको विकासमा ठूलो महत्त्व राख्ने भएकाले योजना सम्पन्न गर्न उपमहानगरको साथ र सहयोग रहन्छ,’ उनले भनिन्।
सिग्नेचर ब्रिजका लागि भारतमा मुख्य कार्यालय रहेको अन्तर्राष्ट्रिय कम्पनी टोटल सिनर्जी कन्सल्टिङले आर्किटेक्ट डिजाइन तयार पारेको छ । पुलको स्ट्रक्चर डिजाइन भने स्वीस सरकारको स्वीस डेभलपमेन्ट कोअपरेशनले गरेको छ । विश्व बैंकको ऋण सहयोगमा बुटवलसहित मुलुकका विभिन्न १० स्थानमा आकर्षक सिग्नेचर ब्रिज डिजाइनका लागि यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारका अर्थमन्त्री तथा रुपन्देहीका सांसद विष्णुप्रसाद पौडेलले बजेट विनियोजन गरेका थिए ।
आयोजना निर्देशक सुरेश पौडेलले यो योजनालाई डिजाइन र निर्माण गर्ने गरी ठेक्का आह्वान भएको जनाएका छन् । ‘करिब साढे २ अर्बको लागत अनुमान गरिएको छ, यो योजनामा डिजाइन एन्ड बिल एकै ठाउँमा गर्न खोजिएको छ । यसमा हामीले पनि स्टिमेट गरेका छौँ, हामीले आह्वान गरेको २ महिनाभित्रमा आएका कम्पनीको प्राविधिक र आर्थिक डकुमेन्ट हेरेर आर्थिक प्रतिस्पर्धाका आधारमा छनोट गर्ने हो’ उनले भने–‘अब करिब १० महिनामा यो कार्यान्वयन चरणमा जान्छ र २ वर्षमा निर्माण सक्ने लक्ष्य छ ।’
अहिलेसम्म सडक विभागको पुल आयोजनामार्फत काम भइरहे पनि ठेक्का प्रक्रियामा गइसकेपछि भने यसको कार्यालय नै बुटवल क्षेत्रमा राखेर अघि बढ्ने निर्देशक पौडेलले नेपाल प्रेसलाई जनाए ।
पूर्वअर्थमन्त्री विष्णु प्रसाद पौडेलले आफूले धेरै पहिलेबाट बोकेको सपना पूरा हुने चरणमा पुग्दा निकै खुसी लागेको जनाएका छन् । ‘धेरै पहिलाबाट सुरु गर्न खोजेको योजना हो, यो बुटवल रुपन्देहीका लागि मात्रै होइन, लुम्बिनी र पश्चिम क्षेत्रका लागि सबैको लागि खुसीको कुरा हो ।’ उनले नेपाल प्रेससँग भने–‘समयमै यो योजनालाई गुणस्तरीय रूपमा बनाउन साथ सहयोग गरौं, आफूले बोकेको सपना पूरा हुने चरणमा पुगेको खुसी निकै ठूलो हुने रहेछ । अब यसलाई कार्यान्वयनमा सबैले साथ दिनुपर्दछ ।’

Leave a Reply