हर्क साम्पाङ भन्छन्ः मलाई रोक्न देशी-विदेशी तत्त्वले कुलमान भन्ने मान्छेलाई अघि सारेका छन्

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तथा नवगठित श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ऊर्जामन्त्री कुलमान घिसिङविरुद्ध खनिएका छन् । आउँदो चुनावमा आफ्नो पार्टीलाई बहुमत ल्याउन नदिन देशी विदेशी तत्त्वले कुलमानलाई प्रयोग गरेको उनको दाबी छ । फेसबुक लाइभमा बोल्दै साम्पाङले नेपालमा काम गर्ने मान्छे सत्तामा नपुगुन् र देश दरिद्र भइराखोस् भनेर षडयन्त्र भइराखेको बताए ।

त्यसका बाबजुद आफ्नो श्रम संस्कृति पार्टीले बहुमत ल्याएर छोड्ने उनको भनाइ छ । साम्पाङले घिसिङलाई चुनौती दिँदै भने, ‘तपाईँविरुद्ध यसरी प्रयोग भइराख्नुभयो भने हाम्रो श्रम संस्कृति पार्टीले साइड लगाउँछ वा नाघेर जान्छ । त्यो हुनुभन्दा पहिले बचेखुचेको छविलाई बचाउनुस् र मन्त्रीको काममा केन्द्रित हुनुस् ।’

साम्पाङको भनाइका मुख्य अंश

काम गर्ने मान्छे सत्तामा नपुगुन् र नेपाल देश दरिद्र भइहराखोस् भन्ने एकथरि र विदेशी इशारामा नाच्ने दुवै तत्त्वहरू सलबलाएका छन् । ती तत्त्वहरूले हर्क साम्पाङलाई रोक्नका लागि कुलमान भन्ने मान्छेलाई अघि सारेको देखिन्छ । आन्दोलनपछि तहसनहसको स्थितिमा विदेशी हस्तक्षेप हुन सक्छ भने पनि म यो देशलाई सम्हाल्न सक्छु भनेर साहस देखाउँदा जेन-जीले समर्थन गरेर माहौल बनाउनुभयो । मैले चाहेको भए त्यस बेला धेरै कुरा हुन सक्थ्यो । तर म ‘सुद्ध र बुद्ध मन’ ले लागेको, कसैको रगतमाथि टेकेर सत्ताको कुर्सीमा पुग्ने नियत छैन । कमिला र किराफट्याङ्ग्राको पनि माया गर्ने मान्छे हुँ । मैले त्यस्तो रक्तपात चाहिनँ । तर, त्यहाँ ठूलो माहौल सिर्जना भएपछि मलाई रोक्न छेक्न कुलमानलाई अघि ल्याइयो । उहाँलाई प्रधानमन्त्री बनाउने भनेर मिडिया ट्रायल गरियो । अहिले पनि त्यस्तै धृष्टता भइराखेको छ ।

हर्क सत्तामा नआओस् भनेर कुलमानजीलाई अघि सारिएको छ । उहाँ प्रयोग भइराख्नुभएको छ । हर्क आयो भने नेपालमा विदेशी चलखेल रोकिन्छ, उत्पादन हुन्छ, गरिबी निवारण हुन्छ, गरिब मान्छे नरहे कसलाई सानोतिनो प्रलोभनमा किनेर र्‍याली गर्ने ? सबैको दोकान बन्द हुन्छ । अन्य धेरै कारणहरू छन्, जुन खुलाउन वाञ्छनीय ठान्दिनँ । त्यसैले जसरी पनि रोक्नुपर्छ भनेर (हाँसो) । यो देशमा दुई धारको राजनीति छ । यो देश बचाउ, माटो बचाउ स्वाभिमान बचाउ इज्जत बचाउ भन्ने एउटा हर्कवादी विचार । अर्को विचार चाहिँ विदेशी चलखेल, विदेशी सिद्धान्त, विदेशी ऋण लिएर व्यक्तिगत स्वार्थपूर्ति गर्न खोज्ने ।

कुलमानजी आफैँ पनि एमसीसी लगायत राष्ट्रघाती सन्धि-सम्झौतामा मुछिएको व्यक्ति हो । उहाँलाई बोर्डिङ पासको रूपमा प्रयोग गरिँदै छ । बोर्डिङ पास भनेको यहाँबाट काठमाडौं जाँदा एउटा कार्ड दिइन्छ । त्यो कार्ड नदेखाई जान सकिँदैन (हाँसो) । त्यो कार्ड गन्तव्यसम्म पुगेपछि काम हुँदैन । (लामो हाँसो) कुलमानजीलाई बोर्डिङ पासको रूपमा प्रयोग गरिँदै छ । मसित यसको प्रमाण छ । अहिले आएको एउटा पार्टी छ, जसमा उहाँको नाम जोडिएको छ । उहाँले त्यो मेरो पार्टी होइन भन्नुभएको थियो । हेर्दाखेरि लिस्टमा उहाँको नाम छैन । तर, उहाँले त्यो भन्नुभयो ।

अहिले घोषणा सभामा गएर उहाँ नै सबै थोक हो भनेर वक्तव्यबाजी गरिराख्नुभएको छ । यसले देखाउँछ या त उहाँ अन्योलमा हुनुहुन्छ या दोहोरो चरित्रको मान्छे हो । दोहोरो चरित्रको मान्छे खतरा रहस्यमयी हुन्छन् । यो कुरा सुन्दा कति उहाँलाई मन पराउने समर्थक मसित रिसाउन सक्नुहुन्छ, तर मलाई मतलब छैन । हर्क बोल्दा कसैलाई मन पर्दैन, तर एक साता, एक महिना बितेपछि सबैले बुझ्न थाल्छन् । अहिले जेन-जीलाई यो सरकार बनाएकोमा कति पछुतो भइरहेको छ । जाति समुदायको कुरा पनि आउला । तर, मैले जाति विशेषलाई दोषेको होइन । व्यक्तिलाई भनेको हो । हि इज बिङ युज्ड । मलाई सरकारमा जान्न भनेर उहाँले प्रष्टरुपमा भन्नुभएको थियो । २४ घण्टा नबित्दै… (हाँसो) ।

त्यसले गर्दा मित्रहरू ह्वाट यु थिंक यु सुड स्पिक द सेम, ह्वाट यु स्पिक यु सुड डु द सेम । त्यो भयो भने मात्रै बोली र कर्ममा एकरूपता आउँछ । सत्यवादी मान्छेले मात्रै सही नेतृत्व दिन सक्छ । मलाई मन नपराउने मान्छेहरूले उहाँलाई अघि सारेर जेन-जीको आन्दोलनमा मेरो बाटो छेकियो, त्यसै गरी बाँसको भाटाको रूपमा मेरो यात्रामा आइराख्नुभएको छ । हाम्रो बाटो त्यसरी छेकिँदैन । बहुमत जसरी पनि ल्याउँछौँ । आइसकेको छ । हरेक मान्छेलाई श्रम संस्कृतिले छोइसकेको छ । तपार्ईं त्यसरी प्रयोग हुनुभयो भने हाम्रो श्रम संस्कृतिले साइड लगाउँछ वा नाघेर जान्छ । त्यो हुनुभन्दा पहिले बचेखुचेको छविलाई बचाएर मन्त्रीको काममा केन्द्रित हुनुपर्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *