
रुपन्देही । नेकपा एमालेको ११ औं महाधिवेशनबाट उल्लेख्य संख्यामा युवाहरूले केन्द्रीय कमिटीमा पहिलोपटक प्रवेश गर्ने प्रयास थालेका छन् । उनीहरूले ४० वर्षमुनिको युवा प्रतिनिधित्व विधानमा सुनिश्चित गर्न पनि संगठितरूपमै पार्टी नेतृत्वलाई दबाब बढाएका छन् । अनेरास्ववियु र युवा संघको नेतृत्वबाट बिदा भएका धेरै नेता पहिलोपटक केन्द्रीय कमिटीमा डेब्युको तयारी गर्दैछन् ।
जेन-जी आन्दोलनपछिको अवस्थामा विधान संशोधनको आवश्यकता रहेकाले ४० वर्षमुनिका युवालाई क्लस्टर नै तोकेर केन्द्रीय कमिटीमा प्रतिनिधित्व गराउने तयारी छ । महाधिवेशन प्रतिनिधि छनौटमै युवा कोटा तोकिएकाले विधानमा संशोधन गरेर युवको प्रतिनिधित्व सुनिश्चित गर्न लागिएको उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।
एमालेले पार्टीमा युवा प्रतिनिधित्व ग्यारेन्टी गराउने गरी प्रत्येक निर्वाचन क्षेत्रबाट १ जना गरी १ सय ६५ जना (४० वर्ष मुनिका) युवा महाधिवेशन प्रतिनिधि छनौट भइसकेका छन् भने युवा क्लस्टरबाहेक खुलाबाट पनि केही युवा प्रतिनिधि छानिएकाले पार्टी जिम्मेवारीमा जानेहरूको दौडधुप सुरू भएको हो ।
अनेरास्ववियुका पूर्वउपाध्यक्ष यम पाण्डेका अनुसार अहिले युवासंघमा भन्दा अनेरास्ववियुबाट पार्टीको नेतृत्वमा जान चाहेका अनुहार धेरै छन् ।
‘प्रतिनिधि छनौटमा आएका धेरै साथीहरूको अनुहार पढ्दा अखिलबाटै आएकाहरू धेरै आकांक्षी भएको देखिन्छ, युवासंघबाट सीमित हुनुहुन्छ, महाधिवेशनको मिति नजिकिएसँगै उम्मेदार आकांक्षी अझै बढ्न सक्छन्, अहिले युवाको निश्चित प्रतिशत ग्यारेन्टी गरिएकाले पनि यस्ता भएको हो’ उनले भने ।
उपमहासचिव प्रदीप ज्ञवालीले करिब २ सयको हाराहारी युवा प्रतिनिधि छनौट भएको र यसपटक केन्द्रीय कमिटीमा युवालाई १० प्रतिशत कोटा सुरक्षित गरिने तयारी भएपनि यसको आधिकारिक निर्णय भने महाधिवेशनको हलबाटै गरिने जनाएका छन् । यसपटक एमालेको केन्द्रीय कमिटी २५१ सदस्यीय हुनेछ । जसअनुसार १० प्रतिशतले करिब २५ जना युवाले एमालेको केन्द्रीय कमिटी सदस्य बन्ने अवसर पाउनेछन् ।
‘नेपालका राजनीतिक दलमध्ये कोटा छुट्याएरै पालिकादेखि केन्द्रीय कमिटीमा युवाको प्रतिनिधित्व गराउने एमाले नै हो, एमाले यसअघि सेल कमिटीहरूमा एक तिहाइ, वडा कमिटीमा २५, पालिका कमिटीमा २० र जिल्ला कमिटीमा १५ प्रतिशत युवाको प्रतिनिधित्व गराइसकेको छ । अब यसै आधारमा संगठनबाट पार्टीमा प्रतिनिधित्व हुनेछ’ उनले भने ।
केन्द्रसहित सबै प्रदेशमा यसका बलिया संरचनाहरू भएकाले र उमेर हदबन्दीका कारण पनि विद्यार्थी संगठन र युवा संघका नेताहरू पार्टीको जिम्मेवारीमा जान चाहेका हुन् । पार्टीको जिम्मेवारीमा जान चाहेकाहरू केही प्रतिनिधिमै रोकिएका छन् भने केही निर्वाचनमै उठेर पनि पराजित भएका छन् ।
पार्टीको महाधिवेशन नजिकिएसँगै र प्रतिनिधि छनौट पूरा भइसकेपछि यसको जिम्मेवारीमा जान अनेरास्ववियु र युवा संघका नेताहरू आफू निकटस्थ नेता कार्यकर्ताहरूलाई साथ दिन दौडधुपमा लागेका छन् । अहिले प्रतिनिधि नछानिए मनोनीत कोटामा पर्ने आश गरेकाहरू पनि भने भित्री तयारीमा छन् ।
अखिलको विरासतबाट केन्द्रमा जान खोज्नेहरू
अनेरास्ववियुका हालसम्मका सबै अध्यक्ष केन्द्रीय सदस्य भइसकेकाले अब निवर्तमान अध्यक्ष समिक बडाल केन्द्रीय कमिटीको स्वभाविक दाबेदार देखिएका छन् ।
बडाल ४० वर्ष कटेकाले उनी खुला वा भूगोल प्रदेशबाट केन्द्रीय सदस्य बन्ने तयारी छ । त्यस्तै बडालसँगै बिदा भएका अखिलका पूर्वमहासचिव नरेश रोकाय बाजुराबाट प्रतिनिधि बनेर आएसँगै केन्द्रीय सदस्यको दाबेदार देखिएका छन् । बडालकै कमिटीका उपाध्यक्षहरू गोविन्द गिरी, धर्म गिरी, नारायण घर्तीलगायत पनि केन्द्रीय सदस्यका आकांक्षी छन् ।
नविना लामा र ऐन महरको कार्यकालका उपाध्यक्षमध्ये रश्मी आचार्यमात्र एमालेको केन्द्रीय सदस्य बन्न नपाएका युवा नेता हुन् । गण्डकीबाट प्रतिनिधि बनेका आचार्य यसपटक केन्द्रीय कमिटीमा उम्मेदवार बन्दैछन् । पूर्व वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने केन्द्रीय सदस्यका स्वाभाविक दाबेदार हुन् भने अखिलकै अनुशासन आयोगको अध्यक्षबाट बिदा भएकी जुम्लाकी मेनका पछाई पनि डेब्युको तयारीमा छन् ।
यी बाहेक अखिलबाट बिदा भएका रामप्रसाद न्यौपाने, निशा अधिकारी, राधिका खतिवडा, कल्पना वाइबा, सुदर्शन शिवाकोटी, सञ्जिव धिताल, विनिता काफ्लेलगायत पनि केन्द्रीय सदस्यका सम्भावित उम्मेदवार हुन् ।
अखिलबाटै गएका अछामका मोति विक, रुपन्देहीका बालकृष्ण पाण्डेले प्रदेशगत रूपमा युवा क्लष्टरबाट प्रतिनिधित्व गर्ने अवस्थामा जाने मनस्थिति बनाएका छन् । त्यसैगरी एमाले रुकुमपूर्वको अध्यक्ष बनिसकेका लीलामणि गौतम पनि युवाबाटै प्रतिनिधित्व गरेका छन् उनको बढी सम्भावना रहेको छ । उनी अनेरास्ववियुमै काम गरेर पार्टीको जिल्ला अध्यक्ष बनेका हुन् ।
जेन-जी आन्दोलनपछि अनेरास्ववियुको अध्यक्षबाट बिदा लिएका डा. सुजन कडेरिया पनि प्रतिनिधि मनोनीत भएर पार्टी राजनीतिमा जोडिने तयारी गरेका छन् ।
अरु युवा नेता को-को ?
उता युवासंघबाट सर्वसम्मत रुपमा अध्यक्ष क्षितिज थेबेलाई उम्मेदारी बनाउने निर्णय गरिए पनि क्लष्टरबाट जिम्मेवारी आउँदा अरु नेताहरूले पनि तयारी गरेका छन् ।
युवासंघका नेताहरूका अनुसार थेबे पार्टी जिम्मेवारीमा जाँदा उपाध्यक्ष रहेका महाराज गुरुङ त्यसको नेतृत्वमा जाने भद्र सहमति छ । निर्वाचनका बेला यो अनौपचारिक समझदारी पनि भएको विषय बाहिर आएको थियो । त्यसैगरी अर्का उपाध्यक्ष विनय शाह पनि संघकै जिम्मेवारी रहने इच्छा गरेका छन् ।
युवासंघको अध्यक्ष उठेर पराजित भएका सुमन पुरी प्रतिनिधि बनेर एमालेको नेतृत्वमा जाने तयारी गरे पनि रुपन्देहीमा भएको प्रतिनिधि छनौटको निर्वाचनमा पराजित भएर थन्किएका छन् । युवासंघबाट केन्द्र तथा जिल्लाबाट थेबे समूहमै लागेकाहरू प्रतिनिधि छनौट भएका छन् । पुरीको समूहमा लागेका धेरै सहमति र निर्वाचन दुवै विधिबाट गरिएको प्रतिनिधि छनौटमै फालिएका छन् ।
युवासंघको पूर्वउपाध्यक्ष बनेका र नेकपा एसको केन्द्रीय कमिटी सदस्य बनेर अहिले एमालेमा आएका राजु गुरुङ पनि अहिले प्रतिनिधि बनेका छन् ।
युवा संघका अध्यक्ष क्षितिज थेबे, पूर्व अध्यक्ष बचनवहादुर सिंह, पूर्वउपाध्यक्ष अमित लामा, क्रान्ति बुर्लाकोटी पनि केन्द्रीय सदस्यको रूपमा पहिलोपटक प्रवेश गर्ने तयारीमा छन् ।
इलामका पूर्वसांसद सुहाङ नेम्वाङ केन्द्रीय सदस्यको प्रबल दाबेदार हुन् । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई पनि युवा पुस्ताबाट सम्भावित केन्द्रीय सदस्यका रूपमा हेरिएको छ । यद्यपि उनी महाधिवेशन प्रतिनिधिको चुनावमा भने सहभागी भइनन् । सम्भवतः उनलाई मनोनीत गर्ने सूचीमा राखिएको नेताहरूले बताएका छन् ।

Leave a Reply