
काठमाडौं । भारतका चर्चित क्रिकेट कमेन्टेटर आकाश चोपडा अहिले काठमाडौंमा छन् । उनी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा कमेन्ट्री गर्न ढिला गरी आइपुगेका हुन् ।
चोपडाले हिजो भएका दुई म्याचमा पहिलोपटक कमेन्ट्री गरे । पहिलो म्याचमा पोखरा एभेन्जर्स र काठमाण्डु गोर्खाज भिडेका थिए भने दोस्रोमा सुदुरपश्चिम रोयल्स र चितवन राइनोज । पोखरा र काठमाण्डुको म्याचपछि मैदानबाटै चोपडाले आफ्नो नियमित भ्लग ‘आकाशवाणी’ का लागि समेत समय निकाले ।
ढाका टोपी र कालो चश्मामा ‘कुल’ देखिएका चोपडाले आफ्नो भ्लगमा बढी चर्चा भने भारतीय क्रिकेटकै गरे । बिराट कोहलीले १०० सतक लगाउलान् कि नलगाउन् भनेर टियु मैदानबाट विश्लेषण गरिरहँदा त्यति सान्दर्भिक लाग्दैन । यद्यपि, उनले एनपीएल र टियु ग्राउन्डको विषयमा पनि थोरै बोलेका छन् । सवा १२ मिनेटको भ्लगमा उनले नेपालको सन्दर्भमा मुस्किलले एक मिनेट टिप्पणी गरेका छन् ।
टियु मैदानका दृष्य देखाउँदै उनी भन्छन्- ‘यो मैदान निकै सुन्दर छ । अहिले जुन स्ट्यान्ड देखिरहनुभएको छ, एक वर्षअगाडि घाँस थियो । तपाईंहरूले जुन फ्लडलाइट्स देख्नुभएको छ, यो अघिल्लो वर्ष थिएन । यो प्रतियोगिताको ठिक अगाडि फ्लडलाइट तयार गरिएको हो । म दुई-तीन दिनका लागि एनपीएलमा कमेन्ट्री गर्न आएको छु । यहाँ क्रिकेटको माया बयान गरिनसक्नु छ । एकछिनमा दिपेन्द्रसिंह ऐरी आउनेछन् । उनी आएपछि यहाँ यति होहल्ला हुने छ कि मानौं भगवान् नै धर्तीमा उत्रेर आएका हुन् । म पनि उनको खेल हेर्न आतुर हुँ । मैदानमा उनी आँधिजस्ता छन् । क्या थ्रो मार्छन् । मैले उनको एउटा रिल्स पनि बनाएको छु । अनि मेरो टोपी कस्तो लाग्यो बताउनुहोला ।’
चोपडाले आफू पशुपतिनाथ मन्दिरको दर्शन गर्न जाने र थप सामग्री प्रस्तुत गर्ने प्रतिवद्धता जनाएका छन् ।

Leave a Reply