निसमदेखि भीमसम्म, यी हुन् एनपीएलमा द्रुत अर्धशतक हान्ने १२ ब्याटर

काठमाडौं । नेपालको एक दिवसीय टिमका सदस्य समेत रहेका ब्याट्सम्यान भीम शार्की रक्षात्मक ब्याटिङका लागि चिनिन्छन् । तर, एनपीएलमा आज उनले विष्फोटक ब्याटिङको नमूना देखाउँदै आफ्नो नयाँ परिचय दिए ।

काठमाण्डु गोर्खाजका यी ब्याट्सम्यानले पोखरा एभेन्जर्सविरुद्ध १९ बलमै अर्धशतक बनाए । आफ्नो शैलीविपरीत आक्रामक पावर हिटिङ गर्दै उनले काठमाण्डुलाई १६५ रनको बलियो स्कोरमा पुर्‍याएका थिए । र, यो इनिङले उनलाई प्लेयर अफ दि म्याचको पुरस्कार पनि दिलायो ।

जारी सिजनमा १९ बलमा अर्धशतक हान्ने उनी पहिलो ब्याट्सम्यान भने होइनन् । यसअघि सुदूरपश्चिमका हर्मित सिंहले काठमाण्डु विरुद्ध नै १९ बलमा अर्धशतक हानेका थिए । एनपीएलमा सर्वाधिक छिटो अर्धशतकको कीर्तिमान भने उनीहरू दुवैले तोड्न सकेनन् । यो कीर्तिमान कसको नाममा छ त ?

यहाँ हामी एनपीएलका दुवै सिजनमा अहिलेसम्म कम बलमा अर्धशतक हान्ने १२ ब्याटरको चर्चा गर्दैर्छौं, जसमा ५ नेपाली र ७ जना विदेशी नाम छन् ।

कुशल मल्ल (२८ बल)

पहिलो सिजनमा चितवन राइनोजका कप्तान कुशल मल्लले पहिलो सिजनमा जनकपुर बोल्ट्सविरुद्ध २८ बलमा अर्धशतक हानेका थिए । ४६ रनमा दुई विकेट गएपछि चौथो नम्बरमा ब्याटिङ गर्न आएका उनले ४१ बलमा ७२ रन बनाए, जसमा ७ छक्का र ३ चौका सामेल थिए । उनको इनिङको मद्दतमा चितवनले ५ विकेट क्षतिमा १८० रन जोडेको थियो । खेल चितवनले जित्यो र मल्ल प्लेयर अफ द म्याच भए ।

अनिलकुमार साह (२८ बल)

दोस्रो सिजनमा जनकपुर बोल्ट्सका लागि अनिलकुमार साहले चितवन राइनोजविरुद्ध २८ बलमा अर्धशतक हाने । एनपीएलका अघिल्ला तीन म्याचमा ब्याट नचलेपछि साहको कप्तानी खोसिएको थियो । चौथो म्याचमा ड्रप भएका उनले पाँचौंमा सानदार पुनरागमन गरे । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका साहले ३६ बलमा ३ छक्का र ४ चौकाको मद्दतले ६१ रन हानेर आउट भए, जतिबेला टिम जितको नजिकै पुगेको थियो । यही म्याचमा जनकपुरले सिजनको पहिलो जित निकाल्यो र साह म्यान अफ द म्याच भए ।

स्टेफन स्किनाजी (२८ बल)

पहिलो सिजनमा काठमाण्डुका ब्याट्सम्यान स्टेफन स्किनाजीले पनि २८ बलमा अर्धशतक प्रहार गरेका थिए । उनले पोखरा एभेन्जर्स विरुद्धको म्याचमा काठमाण्डुबाट ओपनिङ गर्दै अर्धशतक हानेका हुन् । पोखराले दिएको १३९ रनको लक्ष्य काठमाण्डुले १४.१ ओभरमै भेट्टायो । स्किनाजी प्लेयर अफ द म्याच बने ।

ऋषि धवन (२७ बल)

पोखरा एभेन्जर्सका भारतीय ब्याटर ऋषि धवनले आज भएको म्याचमा उत्कृष्ट प्रदर्शन गर्दै काठमाण्डुविरुद्ध २७ बलमा अर्धशतक हाने । तर, उनले टिमलाई जितसम्म डोर्‍याउन सकेनन् ।

काठमाण्डुले दिएको १६६ रनको लक्ष्य पछ्याउने क्रममा ५५ रनमा ४ विकेट गुमाएपछि धवन ब्याटिङमा आएका थिए । उनले श्रीलंकन ब्याटर धनन्जय लक्षणसँग ७६ रनको बलियो साझेदारी गरे । ३१ बलमा ५४ रन बनाएर आउट भएका धवनले २ छक्का र ३ चौका प्रहार गरेका थिए ।

जोन सिम्पसन (२५ बल)

काठमाण्डु गोर्खाजका जोन सिम्पसनले दोस्रो सिजनमा चितवन राइनोज विरुद्ध २५ बलमा अर्धशतक प्रहार गरे । काठमाण्डुले २४ बलमै ३ विकेट गुमाएपछि ब्याटिङमा आएका उनले काउन्टर अट्याक गर्दै टिमलाई अघि बढाए । उनी २९ बलमा ६० रन बनाएर आउट भए । सिम्पसनको इनिङम ५ छक्का र तीन चौका सामेल थिए ।

काठमाण्डुले १४२ रनको मध्यम स्कोर खडा गरेको थियो । जवाफमा चितवन ८९ रनमै रोकियो । सिम्पसन प्लेयर अफ दि म्याच बने ।

कुशल भुर्तेल (२५ बल)

पहिलो सिजनमा फ्लप रहेका पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले दोस्रो सिजनको पहिलो म्याचमै शानदार प्रदर्शन गरेका थिए । यद्यपि, उनले आफ्नो टिमलाई जित दिलाउन सकेनन् ।

विराटनगर बोल्ट्सले पहिले ब्याटिङ गर्दै २२० रनको विशाल स्कोर खडा गरेको थियो, जुन एनपीएलमा अहिलेसम्मकै ठूलो हो । पोखराले पनि कडा जवाफ दिँदै पावर प्लेका ६ ओभरभित्र केवल १ विकेट क्षतिमा ७७ रन जोड्यो । पहिलो विकेट छिट्टै गुमाएपछि भुर्तेल र ईंग्ल्यान्डका विकेटकिपर ब्याटर एडम रोसिङटनबीच विष्फोटक साझेदारी भएको थियो ।

यस म्याचमा कुशलले २५ बलमा अर्धशतक प्रहार गरे । उनी ३१ बलमा ५९ रन बनाएर आउट भएका थिए । कुशलले म्याचमा ४ छक्का र ५ चौका प्रहार गरे । विराटनगर ५३ रनको जित हात पारेको थियो ।

माज सद्दाक (२४ बल)

जनकपुर बोल्ट्सका ब्याट्सम्यान माज सद्दाकले जारी दोस्रो सिजनमा २४ बलमा अर्धशतक हानेका छन् । चितवन राइनोजविरुद्धको म्याचमा उनको जनकपुर बोल्ट्सबाट ओपनिङ गर्दै आक्रामक सुरुवात दिलाएका थिए । उनी ३० बलमा ६३ रन बनाएर आउट भए । खेलमा प्लेयर अफ द म्याचको पुरस्कार भने ६१ रन बनाएका अनिल साहलाई दिइयो ।

२० वर्षीय सद्दाक पाकिस्तानी ब्याटिङ अलराउन्डर हुन् । उनीसँग पाकिस्तानको ए टिमबाट खेलेको अनुभव छ । उनी गत सिजनमा एनपीएलमा जोडिएका थिएनन् ।

दीपेन्द्र सिंह ऐरी (२३ रन)

सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले एनपीएलका दुवै सिजनमा उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका छन् । पहिलो सिजनमा उनी सर्वोत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडी चुनिएर कार पुरस्कार पनि जितेका थिए ।

ऐरीले गत सिजनमा विराटनगर किङ्सविरुद्धको खेलमा २३ बलमै अर्धशतक हानेका थिए । सुदूरपश्चिमले ८९ रनमै ५ विकेट गुमाएपछि सातौँ नम्बरमा ब्याटिङमा आएका थिए उनी । उनले टिमबाट संकटबाट मात्र निकालेनन्, १८२ रनको मजबुत स्कोरमा पुर्‍याए । सुदूरपश्चिमले ९० रनको विशाल अन्तरले खेल जित्यो र ऐरी प्लेयर अफ दि म्याच पनि भए ।

मार्क वाट (२२ बल)

दोस्रो सिजनमा कर्णाली याक्स खराब प्रदर्शन गर्दै समूह चरणबाटै बाहिरिएको छ । तर, यही टिमका केही खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्, जसमध्ये एक हुन् स्कटिस खेलाडी मार्क वाट ।

कर्णालीका मार्क वाटले दोस्रो सिजनमा पोखराविरुद्ध २२ बलमै अर्धशतक प्रहार गरे । पोखराले दिएको २०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा मार्क वाटले आक्रामक सुरुवात दिलाएका थिए । उनले ३४ बलमा ५ छक्का र ४ चौका सहित ५९ रन प्रहार गरे । तर, टिमलाई जित दिलाउन सकेनन् ।

मार्क वाट यस सिजनमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा दोस्रो स्थानमा रहेका छन् । उनले अहिलेसम्म ६ खेलमा एक शतकसहित २४२ रन जोडिसके । रोचक चाहिँ के भने उनी खासमा ब्याट्सम्यान नभएर बलर हुन् । स्पिनरका रूपमा भित्र्याइए पनि ब्याटिङमा चम्केपछि पोखरालाई अतिरिक्त लाभ भएको छ ।

हर्मित सिंह (१९ बल)

सुदूरपश्चिमले एनपीएलको पहिलो सिजनमा जस्तै दोस्रो सिजनमा पनि उत्कृष्ट प्रदर्शन गरिरहेको छ । यस सिजनमा भारतीय मूलका अमेरिकी खेलाडी हरमित सिंहले सुदूरपश्चिमका लागि अलराउन्ड प्रदर्शन गरेका छन् ।

काठमाण्डु गोर्खाजविरुद्धको म्याचमा हर्मितले १९ बलमा नै अर्धशतक हाने, जुन यो सिजनको सर्वाधिक द्रुत अर्धशतक हो । ६ विकेटमा सुदूरपश्चिमले ८ विकेट गुमाएका दयनीय स्थितिमा हर्मित ब्याटिङमा आएका थिए । उनले विष्फोटक काउन्टर अट्याक गर्दै सुदूरपश्चिमलाई १४७ रनको स्कोरमा उकाले । अन्ततः सुदूरपश्चिमले २९ रनले खेल जित्यो र हरमित प्लेयर अफ दि म्याच बने ।

भीम सार्की

आज भएको म्याचमा काठमाण्डुका भीम सार्कीले म्याच विनिङ प्रदर्शन गर्दै १९ बलमा अर्धशतक प्रहार गरे । प्राय रक्षात्मक शैलीमा खेल्ने भनेर आलोचित सार्कीले आफू टी २० का लागि पनि सक्षम रहेको प्रमाणित गरिदिएका छन् ।

यसअघिका म्याचहरूमा खासै चल्न नसकेका सार्कीलाई पोखराविरुद्ध सातौँ नम्बरमा पठाइएको थियो । ७९ रनमा ४ विकेट गुमाएर लड्खडाइरहेको अवस्थाबाट काठमाण्डुलाई उकास्दै भिमले १६५ रनको मजबुत स्कोरमा पुर्‍याए । उनी २३ बलमा ५५ रन बनाएर अन्तिम ओभरमा आउट भए । भिमले आफ्नो इनिङमा ४ छक्का र ५ चौका प्रहार गरेका छन् । उनी प्लेयर अफ दि म्याच पनि भए ।

जिम्मी निसम

एनपीएलको पहिलो सिजनमा सर्वाधिक चम्केका ओभरसिज ब्याट्सम्यान हुन् न्युजिल्यान्डका जिम्मी निसम । जनकपुर बोल्ट्सलाई उपाधि दिलाउन उनको अहम् भूमिका रह्यो ।

समूह चरणमा चितवन राइनोजविरुद्धको म्याचमा निसमले १८ बलमा अर्धशतक बनाएर कीर्तिमान रचेका थिए । १८० रनको लक्ष्य पछ्याउने क्रममा निसमले २४ बलमा ६५ रन बनाएर आउट भए । उनले ६ छक्का र ५ चौका प्रहार गरेका थिए । खेल पनि जनकपुरले हारेको थियो ।

निशमले बनाएको सर्वाधिक छिटो अर्धशतकको रेकर्ड अहिलेसम्म तोडिएको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *