योगमाया र षडानन्दको बाटो पछ्याउँदै प्रमिला

काठमाडौं । शताब्दी अघि सामाजिक रूपान्तरणको लागि सङ्घर्ष गर्ने विदुषी योगमाया र सबैका लागि शिक्षाको उज्यालो दिलाउन लागिपर्ने बालागुरु षडानन्दको ऐतिहासिक योगदानलाई शिरोपर गर्दै सकारात्मक परिवर्तनको यात्रामा कम्मर कसेर हिँडिरहेकी जनप्रतिनिधि हुन्: प्रमिला राई ।

भोजपुर जिल्लाको षडानन्द नगरपालिकाको जनप्रतिनिधिको रूपमा सेवाको मैदानमा खटिन पाउँदा प्रमिला गर्व महसुस गर्छिन् । ‘इतिहासमा पनि जगजाहेर छ । सामाजिक रूपान्तरणको लागि आफ्नो जीवन बलिदान गर्ने र आफूसँगै धेरै महिलाको जीवन आहुति दिन सक्ने क्षमता भएको विदुषी योगमायाको भूमि संगसंगै शिक्षाको क्षेत्रमा आम जनताको छोराछोरीले पढ्न पाउनुपर्छ भनेर तत्कालीन राणा शासकविरुद्ध आवाज उठाउने र जनताका छोराछोरीले पढ्ने पहिलो विद्यालय स्थापना गर्ने गुरु षडानन्दको भूमि नै षडानन्द नगरपालिका हो,’ उनी भन्छिन् ।

प्रमिला आफूले नेतृत्व गरिरहेको भूमिप्रति गौरवान्वित छिन् । इतिहासको गौरव लाई आत्मसाथ गर्दै वर्तमान समयमा चेतनालाई अझ उन्नत बनाउन तथा विकास र समृद्धिको लहर फैलाउन प्रमिला कर्मरत छिन् ।

प्रमिला राई कोशी प्रदेश अन्तर्गत भोजपुर जिल्लाको षडानन्द नगरपालिकाकी उपप्रमुख हुन् । २०४३ साल माघ १८ गटे दिल ब. राई र सीता राईको कोखबाट जन्मिएकी प्रमिला सानो उमेरदेखि नै आत्मविश्वासी, स्वाभिमानी र संवेदनशील स्वभावकी थिइन् ।

उनले बाल्यकालमा निकै सङ्घर्षशील समय गुजारिन् । काम नगरी खान लाउन पुग्ने स्थिति थिएन । एक दाजु र एक भाइसँगै आर्थिक अभाव झेल्दै हुर्किएकी प्रमिला आफ्नो बाल्यकालको भोगाइ र अनुभव लाई महत्त्वपूर्ण शिक्षाको रूपमा लिन्छिन् ।

‘आमाले रक्सी पारेर, सुँगुर पालेर कमाएको पैसाले मलाई पढाउनुभयो।’ विद्यालय जाँदा एउटा हातमा किताब अर्को हातले गेलिनमा रक्सी बोकेर बजार सम्म बेच्न पुर्‍याउने गरेको उनी स्मरण गर्छिन्। राम्रो लगाउने, मिठो खाने छोराछोरीको रहर उनकी आमाले निकै परिश्रमले कमाएको कमाइबाट पूरा गर्ने गरेको उनी सम्झन्छिन् । आमाले गरेको दुःखको उनी निकै कदर गर्छिन् ।

घरको काममा सघाउँदै, दुःख सुख आत्मसात् गर्दै उनी पढिन्। कलेज पढ्न थालेसँगै उनले विद्यालयमा पढाउँथिन् । शिक्षाको लागि आफूले गरेको सङ्घर्ष उनी विद्यार्थीलाई सुनाउँथिन। अभाव र दुःख लाई नजिकबाट साथी बनाएकी प्रमिला निडर स्वभावकी स्पष्ट वक्ता एक सामाजिक अगुवाको रूपमा स्थापित हुँदै गइन् ।

डाक्टर÷नर्स बनेर सेवा गर्ने सपना उनको आँखामा थियो, आर्थिक स्थिति र अन्य परिस्थितिले उनको यो सपना पूरा भएन, पछि उनलाई आर्मी बन्ने रहर पनि जाग्यो तर त्यो पनि पूरा हुने वातावरण बनेन तर उनले शिक्षक, सामाजिक सेवक हुँदै नगरपालिकाको उपप्रमुखको भूमिकामा देश र जनताको सेवा गर्ने अवसर प्राप्त गरेकी छन् ।

‘जसरी पनि राष्ट्रको सेवा गर्नु रहेछ, आर्मी बन्ने, नर्स बन्ने रहर सपनामा सीमित रहे पनि अझ फराकिलो रूपमा सेवा गर्ने र नेतृत्व लिने ठाउँमा छु, सन्तुष्ट छु’ प्रमिलाले सुनाइन् । पढ्दै पढाउँदै स्नातकोत्तर तह सम्मको शिक्षा पूरा गरिन् र एक इमानदार सामाजिक सेवकका रूपमा आफूलाई उभ्याउन सफल भइन् । बिहेपछि महिलाहरूलाई एकताबद्ध गर्दै उनीहरूका समस्या सुन्ने र समाधानको बाटो पहिल्याउने काममा उनी लागिन् ।

महिला लक्षित कार्यक्रमहरूलाई जनस्तर सम्म पुर्‍याउन दिङ्ला नारी समाज नामक समूह बनाएर अघि बढिन्। जसमा उनलाई उनका साथीहरूले राम्रो साथ र सल्लाह दिए । सामाजिक अभियन्ताका रूपमा उनको सक्रियता बढ्दै गयो । उनी २०६३ सालबाट राजनीतिक यात्रामा लागिन् । उनलाई राजनीतिमा लाग्न श्रीमानले प्रेरित गरे । सामाजिक सेवा लाई अझ फराकिलो बनाउन र रूपान्तरण गर्न राजनीतिक आबद्धता अझ प्रभावकारी हुने श्रीमानको सल्लाहलाई उनले मनन गरिन् ।

२०७४ सालमा स्थानीय तहको निर्वाचनमा भाग लिएकी प्रमिला त्यतिबेला पराजित भइन् । तर पराजयपछि पनि उनले हिम्मत हारिनन् । समाजमा आफ्नो भूमिका बढाउँदै लागिन्, जनस्तरका समस्या समाधानमा आफूलाई खरो रूपमा उतारिरहिन् । २०७९ सालको स्थानीय निर्वाचनमा उनी फेरि उपप्रमुख पदमा नै चुनावी प्रतिस्पर्धामा आइन् । उनले ७,२५७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वीले ४,३५८ मत ल्याएकी थिइन् । २०७४ सालको निर्वाचनमा जो सँग पराजित भएकी थिइन् उनैलाई भारी मतले उछिन्दै उनी नगर उपप्रमुखको भूमिकामा पुगिन् ।

भोजपुर जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित षडानन्द नगरपालिकाको ऐतिहासिक परिचय दिङ्ला सभ्यता र समाज सुधारक शिक्षासेवी ब्रम्हाचारी षडानन्द गुरुसँग गाँसिएको छ । वि.सं. १९३२ मा स्थापित षडानन्द संस्कृत पाठशालाले नेपालको शिक्षाक्षेत्र र समाज सुधारमा ठूलो योगदान पुर्‍याएको छ । यस्तै योगमायाको जातीय, लैङ्गिक विभेद विरुद्ध सल्काएको सामाजिक जागरणको राँकोको ताप बोकेको षडानन्द नगरपालिका कि उपप्रमुख प्रमिला राईले महिला, अपाङ्ग, दलित समुदायको सशक्तीकरण, न्यायमा पहुँच, र पूर्वाधारको गुणस्तरीय विकासलाई प्राथमिकता दिँदै काम गर्दै आएकी छन् । उनको प्रत्यक्ष सहभागितामा जनस्तरका समस्या समाधान, पारदर्शिता र समावेशिता अभिमुखीकरण कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

उपप्रमुख प्रमिला ग्रामीण भेगका महिलाहरूको स्वास्थ्य बारे निकै गम्भीर छन् । पाठेघर खस्ने समस्या भएका महिलाहरू जो अझै पनि परिवार, समाज र बाहिर खुल्न, आफूले भोगेका समस्या बारे बताउन हिचकिचाउँछन् । उनीहरू सँग भावनात्मक रूपमा नजिकको साथी बनेर उपचारको स्थिति सम्म ल्याउन प्रमिलाले खेलेको भूमिका प्रसंसनीय छ ।

त्यस्ता आमाहरु जो आर्थिक रूपमा विपन्न छन्, सामाजिक रूपमा, सांस्कृतिक डर, संकोच को सामना गरिरहेका छन्, सहाराविहीन छन्, उनीहरूको लागि प्रमिला छोरी जस्तै बनेर घर देखि अस्पताल सम्म सारथी बन्छिन् । ग्रामीण क्षेत्रमा विकराल बनेको पाठेघर खस्ने समस्यालाई उजागर गर्दै समाधानमा तल्लीन प्रमिला गाउँमा शिविर चलाउने देखि लिएर हस्पिटलमा बिरामीको आफन्त बनेर उपचारको प्रक्रियामा सक्रियतापूर्वक नेतृत्व गर्दै आएकी छन् ।

आफूले चुनावको बेला गरेको प्रतिबद्धता बमोजिम आफू महिला स्वास्थ्यको क्षेत्रमा गम्भीर रूपमा काम गरिरहेको उनी बताउँछिन् । आङ खसेकी ७१ वर्षीय एकजना महिला जो साग बेचेर आफ्नो जीविका चलाइरहेकी थिइन् उनी अहिले उपचारपछि निको भएकी छिन् ।

‘हालसम्म १५ जना महिलाको निःशुल्क अपरेशन गरिसकिएको छ, ७० काटिसकेका आमाहरू जो उपचारपछि निको हुनुभयो उहाँहरूले मेरो हात समाएर जीवनदान दियौ, तिमी उपमेयर होइन आमा बन्यौ भन्नुहुन्छ,’ प्रमिला सुनाउँछिन् । उनले आफै हस्पिटलमा कुरुवा, आफन्त बनेर सहाराबिहिन आमाहरूको उपचार सफल बनाएकी छन् । यसलाई उनी आफ्नो महत्त्वपूर्ण काम र कर्तव्यका रूपमा व्याख्या गर्छिन् । उपमेयरको सक्रियतामा नगरपालिकाले उपचार गरिदिएपछि महिलाहरूले अभिभावक प्राप्त गरेको महसुस गरिरहेका छन् ।

यस्तै अपाङ्गता भएका व्यक्तिहरूलाई वडा वडामा पुगेर सरकारले दिएका सेवा सुविधा प्राप्त गर्ने वातावरण बनाएको प्रमिलाले सुनाइन् । आधारभूत आवश्यकताका लागि नै सङ्घर्ष गरिरहेका परिवार तथा समुदाय उनको प्राथमिकतामा पर्दछन् । उनीहरूको परम्परागत पेशाहरुको प्रवर्द्धन तथा सबालिकरणको लागि उनी लागिपर्छन् ।

सामाजिक न्याय संगसंगै नगरपालिकाको भौतिक पूर्वाधारको विकासमा पनि उनी क्रियाशील छिन्। सडक सञ्जाल, पुल जस्ता पूर्वाधारको आबस्यकता पूरा गर्न प्रमिला र सिंगो नगरपालिकाको टिमले प्रदेश तथा संघ सरकारसँग सहकार्य गरिरहेको छ । अरुण नदीमा मोटरेवल पुल नहुँदा स्थानीयले खेपेका सास्ती, रोकिएको विकासको समस्या समाधान गर्न तत्परता पूर्वक लागेको प्रमिला बताउँछिन् ।

समता, न्याय र विकासको सम्बन्धमा आफ्नो दृष्टिकोणलाई मूल प्रवाहमा लागू गराउन उनी हरदम प्रयत्नशील छिन् । उपप्रमुख भएको कारण वा महिला भएको कारण परम्परागत रूपमा काम चासो राख्ने वा महत्त्व नदिने, सोधी खोजी नगर्ने प्रवृत्ति विरुद्ध उनी आवाज उठाइरहन्छिन् र त्यसको प्रभाव पालिकामा देखिएको छ । आफ्नो अनुपस्थिति वा बिना जानकारी गरिएका निर्णयप्रति आफ्नो विमति भए उनी निर्धक्क प्रश्न गर्छिन् । जसले उनलाई शक्तिशाली र प्रभावशाली नेताको रूपमा स्थापित गरेको छ ।

यस्तै क्रान्तिकारी स्वभाव र गतिशील कार्यशैलीले षडानन्द नगरपालिकाको सामाजिक रूपान्तरणको योद्धाका रूपमा प्रमिला परिचित छन् । अभाव, दबाब र प्रभावमा नपरी षडानन्द नगरपालिकाको भौतिक, सामाजिक विकास गर्ने प्रमिलाको सपना छ । समुन्नत षडानन्दको सपना पूरा गर्न हरदम क्रियाशील रहने उनको प्रतिबद्धता छ । सबैको आदर्श बनेका योगमाया र षडानन्दको बाटोमा उनी आफूलाई पनि उभ्याउने सकारात्मक महत्वकांक्षासहित उनी कर्मभूमिमा छन् ।

(नेपाली महिला जनप्रतिनिधिहरूको सुकर्मलाई सञ्चार गर्ने अभियान शि लिड्स आइकन दोस्रो संस्करणको ३१ प्रेरणादायी महिला जनप्रतिनिधि रूपमा उनी छनोट भएकी छन्।)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *