
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले सी डिभिजन लिग फुटबलमा हामी दाजुभाइ एफसीलाई बढी गोल दिएको भन्दै लिखु भुजी रामेछाप युवा क्लबले आपत्ति जनाएको छ ।
मंसिर १० गते खेलका क्रममा बिना कारण रेफ्रीले दाजुभाइ एफसीलाई पेनाल्टी दिएको भन्दै हुम्ला फुटबल एकेडेमीले विरोध जनायो । हुम्ला एकेडेमीका खेलाडीले खेल बहिष्कार गरे ।
त्यसपछि रेफ्रीले दाजुभाइ एफसीलाई विजयी घोषणा ग¥यो । खेल सकिएको ६ दिनपछि एन्फाले दाजुभाइ एफसी ८–० को गोलअन्तरले विजय हुँदै नकआउटमा प्रवेश गरेको निर्णय सुनायो ।
एन्फाले सहिद स्मारक सी डिभिजन लिग क्वालिफायर प्रतियोगिता नियमावली बुँदा नम्बर ६.३ अनुसार खेल रोकिँदासम्म हानेको ५ गोल र बहिष्कार गरेको ३ गोल थप गरी दाजुभाइ एफसीलाई विजयी बनाएको उल्लेख गरेको छ ।
एन्फाको उक्त निर्णयले दाजुभाइ एफसी नकआउट चरणमा प्रवेश ग¥यो । उक्त बुँदामा कुनै पनि अवस्थामा खेल रद्द भएमा, विपक्षी टोलीलाई ३–० स्कोर वा उच्चतम गोल भिन्नताका साथ ३ अंक प्रदान गरिने उल्लेख छ ।
एन्फाको उक्त निर्णयमा दाजुभाइ एफसी र हुम्ला एकेडेमी रहेको समूह ‘बी’मा रहेको लिखु भुजी रामेछाप युवा क्लबले आपत्ति जनाएको हो । नियमअनुसार ३–० अथवा ५–० को नजिता दिनुपर्नेमा पक्षपातपूर्ण तरिकाले ८–० को नजिता दिइएको भन्दै क्लबले विरोध जनाएको छ ।

Leave a Reply