
काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा अपराजित यात्रा कायमै राखेको छ । आफ्नो छैटौं खेलमा सुदूरपश्चिमले चितवनलाई ४९ रनले पराजित गर्दै अपराजित यात्रा कायमै राखेको हो ।
सुदूरपश्चिमले दिएको १७० रनको लक्ष्य पछ्याएको चितवन १७ ओभर एक बलमा १२० रनमा अलआउट भयो । चितवनका लागि रवि बोपाराले सर्वाधिक २९ रन बनाए पनि जित दिलाउन सकेनन् । देव खनाल २८, अर्जुन साउद १६, डेविड मलान ६, सैफ जैव ६, कप्तान कुशल मल्ल १५, अमर रौटेला ९, जर्ज स्क्रिम्श ०, कमलसिंह ऐरी ६ र रिजन ढकाल २ रनमा आउट भए । रञ्जित कुमार १ रनमा अविजित रहे ।
बलिङमा सुदूरपश्चिमका पुनित मेहराले ३, कप्तान दीपेन्द्रसिंह ऐरी, हिक्मत महरा, अविनाश बोहरा र इसान पाण्डेले एक/एक विकेट लिए ।
त्यसअघि टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६९ रन बनाएको थियो । सुदूरपश्चिमका लागि ओपनर क्रिस लिनले सर्वाधिक ७५ रन बनाए । उनी रिटाइर्ड हर्ट भए । लिनले ५६ बलमा ५ चौका र ३ छक्का प्रहार गरे ।
ओपनर विनोद भण्डारी २१, इशान पाण्डे १, पुनिट मेहरा १३, हर्मित सिंह १ रनमा आउट भए । कप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेख दुवै २४–२४ रनमा अविजित रहे । बलिङमा चितवनका सैफ जैइवले २, रञ्जित कुमार र जर्ज स्क्रिम्शले एक/एक विकेट लिए । चितवनले एनपीएल–२ मा चौथो हार बेहोरेको छ । यो हारसँगै प्लेअफमा पुग्ने चितवनको सम्भावनामा कठिन बनेको छ ।

Leave a Reply