नेकपा एमालेको आगामी बाटो

नेपालको कम्युनिस्ट तथा राष्ट्रिय स्वाभिमानको आन्दोलनको मूल नेतृत्व दल नेकपा एमालेमाथि आज चौतर्फी आक्रमण छ । यस परिस्थिति निर्माणका कारणहरू बिस्तारै उजागर हुँदै जनताले बुझ्ने तहमा जालान् । भोलि इतिहासमा पनि लेखिने नै छ । नेकपा एमालेका सम्पूर्ण नेता कार्यकर्ता उच्च मनोबलका साथ क्रियाशील भएर भोलिका दिनमा नेपाली जनता नेकपा एमाले पार्टी र यसको अभियानको पक्षमा उभिने कुरा शाश्वत छ ।

नेकपा एमालेले नेपाल राष्ट्र नेपाली जनताको पक्षमा गरेका असल दीर्घकालीन र युगान्तकारी कामहरू नयाँ पुस्तालाई प्रवाह गर्न वा बुझाउन पो सकेनौँ कि अथवा नयाँ पुस्ताले विश्वका विभिन्न मुलुकसँग नेपालका विभिन्न विषयहरूमा विभिन्न सञ्चारमाध्यमबाट तुलनात्मक अध्ययन गर्दा सन्तुष्ट भएनन् कि यसको मार्क्सवादी हिसाबले गहिरो विश्लेषण गर्नुपर्ने जरुरी छ ।

हामीले गरेका भौतिक विकासले मात्र नभएर जनताको आक्रोश र असन्तुष्टिहरूमा टेकेर अदृश्य शक्तिहरूले गरेको चलखेललाई समयमै ध्यान पुर्‍याउन नसक्दा आज देश विध्वंस र राज्य आतंकमा परिणत हुँदै धेरै ऐतिहासिक र राष्ट्रिय महत्वका संरचना नष्ट हुँदा भौतिक विकासका र आर्थिक हिसाबले धेरै वर्षपछाडि धकेल्नुका साथै नागरिकको ज्यान र धनको अपूरणीय क्षति भएको छ ।

राष्ट्रियता र भौतिक पूर्वाधारको विकासको पक्षमा मानक स्थापित गरेको पार्टी र नेतृत्व माथिसमेत गम्भीर प्रहार भएको छ । नेकपा एमाले पार्टी र यसको नेतृत्वहरूप्रति जनआक्रोश इतिहासमै सबैभन्दा उच्च बिन्दुमा पुगेको अवस्थामा जनताको यस आक्रोशपूर्ण भावनालाई आत्म समीक्षाका साथ आत्मसात् गर्दै जनताकै पक्षमा काम गर्ने प्रयत्नकै बीच पार्टी र नेतृत्वहरूले विगतमा गरेका सबल पक्षहरू र कमीकमजोरीहरूको निर्मम समीक्षा गरी आफ्ना कमीकमजोरीलाई आत्म समीक्षा गर्नुपर्ने देखिन्छ ।

नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर (२७-२९)ले निर्वाचित गर्ने नयाँ नेतृत्वहरू पात्र फेरिए पनि प्रवृत्ति फेरिएन भने व्यक्ति फेरिए पनि व्यवहार फेरिएन भने त्यसको मूल्याङ्कन कार्यकर्ता र जनताले भविष्यमा गर्ने नै छन् । निम्न कुराहरूमा परिवर्तन भयो भने कार्यकर्ता र जनतामा अझ धेरै सकारात्मक सन्देश जानुको साथै गतिशील र सुदृढ हुन सक्दछ ।

१. पार्टी र नेतृत्वले गरेका राम्रा कामहरू जनतालाई बुझाउनु पर्ने ।

२. नेकपा एमाले पार्टी नेता प्रधान नभई नीति प्रधान हो भन्ने आम नेता कार्यकर्ता र जनतालाई महसुस दिलाउनु पर्ने ।

३. नेता तथा कार्यकर्ताको कार्यशैलीमा परिवर्तन गर्नुपर्ने ।

४. कुनै पनि कमिटीको बैठक सभा जस्तो नेताले भाषण गर्ने र सदस्यहरूले ताली पिट्ने मात्र नभई एजेन्डामा केन्द्रित भई छलफल गरेर राय लिएर पास गर्ने पद्धति पुनरावृत्ति गर्नुपर्ने ।

५. नेता कार्यकर्ताहरूले कम्युनिस्ट आचरण प्रदर्शन गरी भड्किलो व्यवहार परिवर्तन गर्नुपर्ने ।

६. आर्थिक अनियमिततामा जुनसुकै ठाउँबाट प्रश्न उठेको भए पनि कमिटीको जिम्मेवारीबाट अलग गर्नुपर्ने ।

७. नैतिक आचरणमा प्रश्न उठेका व्यक्तिहरूलाई कुनै पनि जिम्मेवारीमा राख्न नहुने ।

८. नेतृत्व चयन गर्दा आर्थिक रूपमा पारदर्शी, भौगोलिक, राजनीतिक, सामाजिक विषयमा जानकारी राख्ने प्रतिस्पर्धात्मक क्षमता भएका जनतामा उत्साह भर्न सक्ने सैद्धान्तिक र वैचारिक रूपले खारिएका व्यक्तिहरूलाई बढी प्राथमिकता दिनुपर्ने ।

९. कमिटी निर्माण गर्दा असल कार्यकर्तालाई पाखा लगाई एजेन्ट कार्यकर्ता बनाउने प्रवृत्ति अन्त्य गर्नुपर्ने ।

१०. भड्किलो खर्च गर्ने नेता कार्यकर्ताको वैधानिक स्रोत देखाउनु पर्ने ।

११. नीति निर्माण गर्ने ठाउँमा पठाउने उम्मेदवार कम्तीमा स्नातक उत्तीर्ण गरेको हुनुपर्ने ।

१२. पार्टीमा प्राप्त गर्न होइन योगदान गर्न तयार असल क्षमतावान् र समाजले रुचाएका व्यक्तिहरूलाई जिम्मेवारी दिनुपर्ने ।

१३. अहिलेको घटनालाई मार्क्सवादी ढङ्गले विश्लेषण गर्नुपर्ने ।

१४. जनसङ्गठनहरू राजनीतिक आबद्धता सांगठनिक स्वतन्त्रताको मूल मर्ममा सञ्चालित हुनुपर्ने ।

१५. पार्टीले चुनावमा जाँदा संविधान संशोधनको यो यो विषय र धारामा संशोधनको लागि स्पष्ट खाका तयार पारी जनतामा जानुपर्ने ।

१६. अहिलेको समाजको असन्तुष्टि र आवश्यकताको गहिरो पहिचान गर्नुपर्ने ।

१७. केन्द्रबाट नेता जाँदा जुन जिल्लाको कार्यक्रममा गएको हो सो जिल्लाबाहेकका नेता कार्यकर्ता एयरपोर्टदेखि कार्यक्रम स्थलसम्म लावालस्कर लाग्ने प्रवृत्ति रोक्नुपर्ने ।

१८. राजकीय जिम्मेवारीमा जाँदा कुन पदको लागि कति पटक हो अगाडि नै तोक्नुपर्ने ।

१९. संसदीय निर्वाचन कम खर्चिलो बनाउन नयाँ विधि बनाउने व्यवस्था गर्न पहल गर्नुपर्ने ।

२०. कुनै विषयमा आफ्नो धारणा राखेको कारण जिम्मेवारी प्राप्त गर्न कठिन हुने अवस्था सिर्जना हुन नहुने ।

२१. पार्टीमा आन्तरिक लोकतन्त्र बलियो हुनुपर्ने ।

२२. पार्टीको काम कम गर्ने नेतृत्वको वरिपरि घुम्नेलाई जिम्मेवारी दिने प्रवृत्ति अन्त्य गर्नुपर्ने ।

२३. नेता कार्यकर्ता र जनताको सम्बन्ध टाढिएको छ यसलाई जोडेर जानुपर्ने ।

२४. महाधिवेशनपछि नेताहरूको सम्पत्ति सार्वजनिक गर्नुपर्ने ।

२५. सादा जीवन र कम्युनिस्ट आचरण भएका नेतृत्वलाई हेप्नुको सट्टा सम्मान व्यक्त गर्ने वातावरण बनाउनुपर्ने ।

२६. असल नेतृत्व जन्माउन नसक्ने असल नेतृत्व हुन नसक्ने कुरा मनन गरी वैकल्पिक नेतृत्व उत्पादन गर्ने ।

२७. नेता जन्मायौँ नेतृत्व जन्माएन, अब यो दिशामा काम गर्नुपर्ने ।

२८. देश बनाउनु कर्मचारीतन्त्रमा पनि रिफर्म गर्नुपर्ने कुरामा पहलकदमी लिनुपर्ने ।

२९. पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूको व्यवहारमा सुधार गर्नुपर्ने ।

३०. कार्यकर्ता सन्तुष्ट पनि छैनन्, बोल्न पनि चाहँदैनन् । यसको सही निदान गर्नुपर्ने ।

३१. पार्टी सत्ताको पहुँचको आधारमा टिकट लिएर गयो भने चुनाव जित्न कठिन हुने त्यसैले सोच्छ र राम्रा व्यक्तिलाई उम्मेदवार बनाउनुपर्ने ।

३२. नेतृत्वको बोलीमा अनुशासन र एकरूपता नहुँदाको समस्या यसमा सुधार गर्नुपर्ने ।

३३. शक्तिमा हुँदा नसुन्ने संकटमा हुँदा बोल्न नहुने पार्टी कहिले सुधार्ने हो समयको पहिचान हुनुपर्ने ।

३४. आफूलाई सहयोग गरे खराब पनि असल सहयोग नगरे असल पनि खराब नजरले देख्ने प्रविधि अन्त्य गर्नुपर्ने ।

३५. पार्टीको काम गरेको तर नेता खुसी बनाउने काम नगरेको कारण कुनै पनि कार्यकर्ताले त्यसको सिकार हुन नपर्ने अवस्था सिर्जना हुनुपर्ने ।

३६. व्यक्ति होइन पार्टी बनाउने अभियानमा लाग्नुपर्ने ।

३७. एमालेलाई वामपन्थी मूल चरित्रमा फर्काउने प्रतिबद्धता गर्नुपर्ने ।

३८. पार्टीमा फरक मत राखेबापत कसैलाई भेदभाव गर्न नहुने ।

३९. पहिलेजस्तै कमिटी प्रणाली पुनर्स्थापना गर्नुपर्ने ।

४०. आगामी चुनावमा सबै निर्वाचन क्षेत्रमा नेकपा एमालेकै उम्मेदवार हुनुपर्ने ।

४१. नेकपा एमालेको आगामी महाधिवेशनबाट ६०% पुरानो र ४०% (१०१जना) नयाँ व्यक्तिलाई केन्द्रीय कमिटीमा प्रतिनिधित्व गराउने व्यवस्था गर्नुपर्ने ।

४२. महाधिवेशनमा केन्द्रीय नेतृत्वमा १% विशिष्टीकृत क्षेत्रबाट होरिजन्टल इन्ट्रीको लागि खुला गर्ने र उसले विशिष्ट क्षमता देखाउन नसके अर्को पटक बिदा हुने व्यवस्था गर्नुपर्ने ।

४४. पार्टीले ज्ञान भण्डार स्थापना गरी त्यसको आधारमा नीतिगत निर्णय लिने काम सुरुवात गर्नुपर्ने ।

४५. राज्यको प्रशासनिक पुनर्संरचना तयार पारेर जानुपर्ने कुराको अगुवाइ गर्नुपर्ने ।

४६. देशको राष्ट्रिय सुरक्षा र सुरक्षाकर्मीको सङ्ख्या पुनरावलोकनको लागि गहिरो अध्ययन गरी धारणा बनाउनुपर्ने ।

४७. एमालेको अन्तर्राष्ट्रिय सम्बन्धमा आएको फेरबदलको मिहिन समीक्षा गरी नयाँ आयाममा सम्बन्ध विस्तार गर्नुपर्ने ।

नेकपा एमालेको सिद्धान्तमा कुनै समस्या छैन, नीति र कार्यक्रममा कुनै समस्या छैन, समस्या छ त आचरण, व्यवहार र कार्यशैलीमा । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनबाट आउने नयाँ नेतृत्वहरूले आफ्ना आचरण व्यवहार र कार्यशैली परिवर्तन र पुनर्गठन गरेर जानुको विकल्प छैन ।

जसले नेकपा एमालेको आगामी बाटो र पाटोलाई अझ फराकिलो बनाउँदै धेरै भन्दा धेरै व्यक्ति हिँड्न र अट्न सक्ने बनाउनै पर्छ । नेकपा एमाले यस्तो नेताहरूको पुञ्ज भएको पार्टी हो जसले अझै देशको मुहार फेर्ने काममा धेरै योगदान गर्न बाँकी नै छ र यो सम्भव बनाउन एघारौँ राष्ट्रिय महाधिवेशनले त्यस्तै अब्बल नेतृत्व छनोट गर्न सकोस् शुभकामना ।

(थपलिया नेपाल बौद्धिक परिषद्का अध्यक्ष हुन्)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *