सुधन गुरुङसँग रविले भने- ममाथि छानबिन गर्ने भए यो सरकारले अर्को आयोग बनाएर गरोस्

काठमाडौं । जेनजी अभियन्ता सुधन गुरुङले नख्खु कारागार पुगेर रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन्। भेटमा सभापति लामिछानेले आफूमाथि अघिल्लो सरकारले प्रतिशोध राखेर अन्याय गरेको बताएको सुनाए।

रविको भनाई उद्धृत गर्दै उनले भने, ‘मलाई अन्याय भएको छ, मलाई यिनीहरूले दिएको धेरै दुख दिएका छन्। अहिले आएको सरकारले पनि कुनै सहायता गरेको छैन। सहयोग गर्नुहुन्छ होला भन्ने अपेक्षा छ। मलाई छानबिन गर्ने भएपनि अर्को आयोग बनाएर गरियोस्। यसमा मलाई कुनै समस्या हुँदैन।’

अहिले आफूमाथि लगाइएको आरोप दुई सय वर्षसम्म पनि लडेर नभ्याउने अवस्था बनेको लामिछानेको भनाइ रहेको गुरुङले बताए।

गुरुङले थपे, ‘उहाँ राम्रो काम गर्नको लागि अगाडि बढेका मान्छे हो, हामी पनि देशकै लागि अघि बढेका हौँ। साधारण मान्छेलाई राम्रो काम गर्दा साइबर सेना लगाएर खेदिने रहेछ। देशलाई राम्रो गर्छु भन्ने मान्छेहरूलाई सत्तामा बस्नको लागि फसाइँदो रहेको छ।’

जेनजीहरूसँग लड्नुबाहेक अरू कुनै विकल्प नभएको बताए। रवि लामिछानेले जेनजीले उठाएको मुद्दामा रास्वपाको समर्थन रहेको बताएको पनि सुनाए।

उनले गृहमन्त्री ओमप्रकाश अर्याललाई काम नगर्न भए कुर्सी छाड्न चेतावनी दिए। उनले भने, ‘हामीले ०८४ को चुनावलाई ८२ मा सार्नको लागि यत्रो सङ्घर्ष गरेका होइनौँ। त्यत्रो मान्छे मारिएको छ। चुनाव सार्नको लागि मात्रै होइन।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *