ईंग्ल्यान्डका जोय रुटले शतक हान्दा अष्ट्रेलियाका म्याथु हेडेनलाई राहत !

काठमाडौं । एसेजको दोस्रो टेस्टमा ईंग्ल्यान्डका ब्याट्सम्यान जोय रुटले शतक प्रहार गरेका छन् । उनका लागि यो शतक विशेषरुपमा मूल्यवान् छ ।

अहिलेसम्म टेस्टमा ४० शतक हानिसकेका रुटको अष्ट्रेलियामा यो पहिलो तीन अंकको स्कोर हो । उनले अष्ट्रेलियाको भूमिमा ३० पटक ब्याटिङ गर्दा शतक हान्न सकेका थिएनन् ।

रुटको यो शतकले ईंग्ल्यान्डलाई संकटबाट बाहिर निकालेको छ । आजको खेल समाप्त हुँदा उनी २०२ बल खेल्दै १३५ रनमा अविजित छन् । ईंग्ल्यान्डले २६४ रनमा ९ विकेट गुमाएर कमजोर स्थितिमा पुगेको थियो । तर, रुटले ११ औँ नम्बरका ब्याटर जोफ्रा आर्चरसँग मिलेर अविजित ६१ रन जोडे । यो साझेदारीले ईंग्ल्यान्डलाई ठूलो राहत मिलेको छ ।

राहत ईंग्ल्यान्डलाई मात्र होइन, अष्ट्रेलियाका दिग्गज क्रिकेटर म्याथु हेडेनलाई पनि मिल्यो । उनले गत सेप्टेम्बरमा एउटा अनौठो प्रतिज्ञा गरेका थिए । एक पोडकास्टमा हेडेनले भनेका थिए, ‘यदि आगामी एसेज शृङ्खलामा जोय रुटले अष्ट्रेलियाविरुद्ध पहिलो शतक हान्न सकेनन् भने म एमसीजीको मैदानमा नाङ्गै हिँड्नेछु ।’

बुबाको यो घोषणाले उनकी छोरी ग्रेस, जो क्रिकेट कमेन्टेटर पनि हुन्, चिन्तामा परेकी थिइन् । उनले ट्विट गर्दै लेखेकी थिइन्– प्लीज जोय रुट एउटा शतक बनाइदेऊ ।’

नभन्दै रुटले शतक हानेर हेडेनलाई राहत दिए । हेडेनले अब आफ्नो प्रतिज्ञा अनुसार एमसीजीमा नाङ्गै हिँड्नुपर्ने छैन ।

३४ वर्षीय रुटको टेस्ट करिअरमा यो ४० औँ शतक हो । सर्वाधिक टेस्ट शतक हान्ने रेकर्ड भारतका सचिन तेन्दुलकरको नाममा छ, जसले ५१ शतक हानेका छन् । सक्रिय ब्याट्सम्यानहरुमा सर्वाधिक शतक हान्ने रुट नै हुन् । तेन्दुलकरको रेकर्ड तोड्न सक्ने अनुमान गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *