
काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने गरी घोषणा गरिसकेको छ। तर, निर्धातिर समयमा महाधिवेशन हुनेमा नेताहरू नै आश्वस्त हुन सकेका छैनन् ।
महाधिवेशनको मिति विवाद सल्टाउन झन्डै डेढ महिना बैठक बसेको कांग्रेसलाई तोकिएकै समयमा महाधिवेशन गर्नुपर्ने दबाब छ। महाधिवेशनको मिति घोषणा भएसँगै सभापतिका आकाङ्क्षीहरूले दाबी प्रस्तुत गर्न थालिसकेका छन्।
सभापति शेरबहादुर देउवा नेतृत्वबाट बिदा हुने भएकाले संस्थापन पक्षबाट कार्यवाहक सभापतिको जिम्मेवारी पाएको पूर्वउपसभापति पूर्णबहादुर खड्का, कृष्ण सिटौला, विलमेन्द्र निधि र डा. शशांक कोइराला सभापतिको दाबेदार देखिन्छन्।
१४ औँ महाधिवेशनमा एउटै टिममा रहेका शेखर र गगन थापा पनि अलग तयारीमा छन् । दुवैले आआफ्नै तयारी गरिरहेका छन्। विशेष महाधिवेशनको मागसहित पेस भएका हस्ताक्षरकै कारणले अहिले महाधिवेशनको मिति तोक्न सफल भएको इतर पक्षका नेताहरू दाबी गर्छन्।
तोकिएको समयमा महाधिवेशन नभए विशेष महाधिवेशनको विकल्प नभएको उनीहरूको अडान अझै कायमै छ। पुसमा महाधिवेशनको मिति तोकेर माघ मसान्तसम्म कार्यकाल थप गर्नुले महाधिवेशन नगर्ने नियत देखिएको उनीहरूको आशंका छ।
संस्थापन पक्षका नेताहरू प्रक्रिया थालेपछि नभ्याइए चुनावपछि गर्ने बताउन थालिसकेका छन् । यी नै विषयमा केन्द्रित रहेर विशेष महाधिवेशनको अगुवाइ गरेको नेता गुरुराज घिमिरेसँग गरेको कुराकानी:
– महाधिवेशनको मिति घोषणा भए पनि हुने नहुने आशंका पार्टीभित्रकै नेताहरूबाट सुरु भएको छ । त्यसलाई कसरी हेर्नुभएको छ ?
पार्टीको महाधिवेशनको लागि हामीले अगाडिदेखि नै तयारी गर्नुपर्थ्यो त्यो गरेनौँ । केन्द्रीय समितिले कुनै तयारी नगरेपछि हामीले विशेष महाधिवेशन माग गर्न बाध्य भएका हौँ । त्यही मागको बलमा पार्टीले १५ औँ महाधिवेशनको कार्यतालिका घोषणा गरेको छ। कार्यतालिकाको सेड्युल टाइट छ। त्यसले आशंका उब्जाएको छ।
केन्द्रीय कार्यसमितिको कार्यकाल माघसम्मको थप गरेको छ। पुस मसान्तमा महाधिवेशन सम्पन्न गराउने भन्छौँ अनि माघसम्मको कार्यकाल थप्छौँ। यसबाट पनि सार्ने योजना देखिन्छ। त्यसैले आशंका छ। तर हाम्रो विशेष महाधिवेशनको प्रस्ताव यथावत् भएकाले सार्न सजिलो छैन।
– संस्थापन पक्षका नेताहरूको एउटै कुरा छ, कार्यतालिका अनुसार प्रक्रिया थाल्ने, चुनावपछि मात्रै महाधिवेशन गर्ने, त्यो अवस्थामा तपाईँहरू के गर्नुहुन्छ ?
निर्वाचनपछि महाधिवेशन गर्ने सुविधा हामीसँग छँदै छैन । पार्टीमा नयाँ पनि नल्याई निर्वाचनमा गएर हामीले राम्रो नतिजा निकाल्न पनि सक्दैनौँ ।
पार्टीको नेतृत्व परिवर्तन अहिलेको अपरिहार्य आवश्यकता हो। नीतिगत परिवर्तन पनि पार्टीमा आवश्यक छ। पुराना नीतिहरूलाई पुनरावलोकन गर्नुछ। विधान संशोधन गरेर नयाँ पुस्ताको सहभागिता सुनिश्चित गर्नु छ। र समसामयिक राजनीतिमा हाम्रो धरातललाई क्लियर पार्नुपर्नेछ। विगतमा हामीले स्थानीयदेखि केन्द्रसम्म गठबन्धन गर्यौँ ।
अहिले अन्य राजनीतिक दलहरूसँगको सम्बन्ध र चुनावमा जाने हाम्रो तयारीको विषयलाई स्पष्ट पार्नुपर्नेछ। त्यसका लागि महाधिवेशन भन्दा अर्को थलो छैन। महाधिवेशनभन्दा उच्च थलो पार्टीको अरू केही नभएकाले निर्वाचनभन्दा पछाडि लैजाने सुविधा हामीलाई छैन।
– तर महाधिवेशनको नियमित महाधिवेशनको कार्यतालिका आएसँगै विशेष महाधिवेशनको मागको औचित्य सकियो भन्ने तर्क पार्टीभित्रबाटै भइरहेका छ नि ?
विशेष महाधिवेशनको मागको कुनै औचित्य सकिएको छैन। हामीले औचित्य सिध्याउने कुरा गरेको भए माग फिर्ता लिइहाल्थ्यौँ । हाम्रो निवेदन यथावत् छ। हाम्रो माग ज्युँ का त्युँ छ। त्यसको समय सीमा पुस २८ हो, महाधिवेशनको पनि पुस २८ नै हो, त्यसैले महाधिवेशनको सम्पूर्ण प्रक्रिया पूरा गरिसकेपछि सार्न आवश्यकता पनि छैन । फेरि हामी सबैले महाधिवेशनको प्रक्रिया अघि बढाउन सहभागी हुने, सघाएरै जाने भनेका छौँ ।
– नेतृत्व परिवर्तनको कुरा गर्दै गर्दा तपाईँहरूको तर्फबाट महाधिवेशनमा सभापतिको उम्मेदवार को हुन्छ ?
हामीले नेतृत्व परिवर्तन अपरिहार्य भनेकै हौँ । हाम्रो तर्फबाट अबको सभापतिको उम्मेदवार को रहने भन्नेबारे छलफल प्रारम्भ गरेका छैनौँ । क्रियाशील सदस्यताको विषय टुङ्गिएपछि मात्रै हामी नेतृत्वबारे केन्द्रित हुन्छौँ।
– १४ औँ महाधिवेशनको तपाईँहरूको टिम अहिले एक ठाउँमा नरहेको देखिन्छ। शेखर कोइराला र गगन थापाले दुवै सभापतिको उम्मेदवारी घोषणा गरिसक्नुभएको छ ?
उहाँहरूलाई एक ठाउँमा ल्याउन हामीले प्रयास गर्छौँ। एक ठाउँमा उभिनुपर्छ भन्ने हाम्रो बुझाइ हो। उहाँहरूलाई मिलाएर जान अन्तिम समयसम्म प्रयास गर्दैछौं। अब कतिको सफल होला न होला त्यो बेग्लै कुरा हो। हामी १४ औँ महाधिवेशनको टिमलाई एक ढिक्का बनाएर अगाडि बढाउने प्रयास गर्छौँ।
– उहाँहरूलाई एक ठाउँमा ल्याउन तपाईँहरूको तर्फबाट पहल हुँदै छ ?
भइरहेको छ, हामीले दुवैतिर छलफल गरिरहेका छौँ। उहाँहरू सकारात्मक पनि हुनुहुन्छ।
– १४ औँ महाधिवेशनको टिम एक ठाउँमा आउने सम्भावना कतिको देख्नुभएको छ ?
हामी आशावादी छौँ। नेतृत्व परिवर्तनको लागि सबै एक ढिक्का हुनुको विकल्प पनि छैन।
– तपाईँ आफैँले चाहिँ कुन पदमा उम्मेदवारी दिने तयारी गर्नुभएको छ ?
साथीहरूलाई मैले सोधिरहेको छु, मैले सर्वेक्षण गरिरहेको छु। साथीहरूको भावना नै सबैभन्दा ठूलो कुरा हो। साथीहरूको भावना बुझेर मैले महामन्त्रीमा उम्मेदवारी दिने सोचेको छु। त्यही ढङ्गले तयारी गर्दै छु।

Leave a Reply