राष्ट्रियसभा चुनावको तालिका : पुस २३ मा मनोनयन दर्ता

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि विस्तृत निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।

आयोगका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को अधिकार प्रयोग गरेर निर्वाचनको विस्तृत कार्यतालिका निर्धारण गरेको हो । निर्वाचन आयोगका अनुसार माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रक्रिया आगामी पुष १९ गतेबाट सुरु हुनेछ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६ बमोजिमको यो निर्वाचन कार्यक्रम निर्धारण गरिएको हो ।

आयोगका अनुसार निर्वाचन अधिकृतको कार्यालयमा पुष १९ गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिनेछ । त्यसै दिन बिहान ११ बजेदेखि भोलिपल्ट पुष २० गते दिउँसो ४ बजेसम्म प्रकाशित नामावलीमा नाम छुट भएका व्यक्तिले नाम समावेश गर्न दरखास्त दिने, नाम सच्याउन दरखास्त दिने वा नामावलीमा रहेका मतदाताको विरोधमा उजुरी दिने समय तोकिएको छ । यसरी परेको निवेदन तथा उजुरीमाथी पुष २१ र २२ गते छानबिन गरी आयोगले पुष २२ गते दिउँसो ३ देखि ४ बजेभित्र अन्तिम मतदाता नामावली प्रकाशन गर्नेछ ।

उम्मेदवार बन्न चाहने व्यक्तिले पुष २३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता गराउनुपर्नेछ । त्यसै दिन ३ बजेदेखि ४ बजेसम्म मनोनयन पत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गरिनेछ । उम्मेदवारको विरोधमा उजुरी दिनका लागि पुष २४ गते बिहान १० देखि ४ बजेसम्मको समय छुट्याइएको छ । मनोनयन पत्र र उजुरीमाथी जाँचबुझ गरी निर्णय गर्ने काम पुष २५ र २६ गते हुनेछ भने उम्मेदवारको नामावली प्रकाशन पुष २६ गते दिउँसो ३ देखि अपराह्न ४ बजेसम्म गरिनेछ ।

यदि कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा पुष २७ गते बिहान १० देखि दिउँसो १ बजेसम्मको समय दिइएको छ । त्यसपछि १ देखि २ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ र पुष २८ गते बिहान १० देखि १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

तोकिएका मतदान केन्द्रमा आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । आयोगका अनुसार मतदान सुरु हुनुभन्दा ४८ घण्टा अगाडि अर्थात् आगामी माघ ८ गते राति १२ बजेदेखि प्रचारप्रसार निषेध अवधि (मौन अवधि) लागु हुनेछ । मतदानपछि मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भएपछि मतगणना कार्य तुरुन्त सुरु हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *