लुम्बिनीबाट आएका एमालेका ७ पदाधिकारी, यसपालि कसको के तयारी ?

रूपन्देही । नेकपा एमालेको ११ औँ महाधिवेशन संघारमा आएसँगै नेतृत्वको समीकरणका विषयमा चासो बढ्दै गएको छ । नेताहरूले आगामी नेतृत्वका लागि आआफ्नो दाबेदारी प्रस्तुत गर्न थालिसकेका छन् । दशौं महाधिवेशनबाट एमालेको पदाधिकारीमा लुम्बिनी प्रदेशको राम्रै वर्चस्व रहेको थियो । १९ मध्ये ७ पदाधिकारी लुम्बिनीबाट निर्वाचित भएका थिए भने ५२ जना केन्द्रीय कमिटी र १० जना विभिन्न आयोगमा पुगेका थिए । अहिले तीमध्ये अधिकांश आकांक्षी नै छन् भने नयाँ अनुहार पनि चियाइरहेका छन् ।

पदाधिकारीसहित सबै पद संख्या कटौती हुँदा प्रतिस्पर्धा पेचिलो बनेको छ । दशौं महाधिवेशनमा उपाध्यक्ष बनेका विष्णुप्रसाद पौडेल र युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र सचिवहरू गोकर्ण विष्ट, छविलाल विश्वकर्मा र टोपबहादुर रायमाझी (निलम्बित) मध्ये २ जना नदोहोरिने निश्चितजस्तै छ । रायमाझी भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् भने युवराज ज्ञवालीले अब नदोहोरिने संकेत निकटस्थहरूलाई गरेका छन् । तर, सर्वसम्मत भए ज्ञवाली रहन पनि सक्ने केही नेताहरूको आंकलन छ । यी दुई बाहेक अन्य पाँचै जना पदाधिकारी आकांक्षी हुन् ।

चुनावमा दुई प्यानलको प्रतिस्पर्धा हुने स्थितिमा को कताबाट उम्मेदवार बन्छन् भन्ने विषयले अझै आकार लिएको छैन । अध्यक्ष केपी ओलीपछिको जिम्मेवारीमा उपाध्यक्ष पौडेल र महासचिव पोखरेलको दाबी छ । संसदीय फाँट र पार्टी जिम्मेवारीमा दशकौँदेखि उपाध्यक्ष पौडेल स्थिर रूपमा हाबी छन् । २०५० को दशकदेखि निरन्तर प्रभाव र २०५६ देखि रूपन्देहीमा गाढेको स्थायी राजनीतिक जरो अहिले पनि खुकुलो भएको छैन । तत्कालीन एमाले र माओवादीको एकताबाट बनेको नेकपाको शक्तिशाली महासचिव बनेका उनी दशौं महाधिवेशनबाट उपाध्यक्ष बनेका हुन् ।

लुम्बिनीका अर्को प्रभावशाली अनुहार हुन् महासचिव पोखरेल । दाङलाई राजनीतिक गृह जिल्ला बनाएका पोखरेल पार्टीभित्र र बाहिर वैचारिक आधारमा चिनिन्छन् । संगठन सञ्चालन र राजनीतिक प्रशिक्षणमा उनको पकड बलियो मानिन्छ । यद्यपि संसदीय राजनीति उनका लागि सजिलो पथ बनेको छैन । २०५१ को मध्यावधि र २०७४ को प्रदेशसभा चुनावमा पराजय व्यहोर्नु नपरे पनि अरु निर्वाचनमा उनले सहजै जित निकाल्न सकेनन् ।

नवौँ महाधिवेशनमा घनश्याम भुसालसँग उपमहासचिवमा पराजित भए पनि त्यसपछि नेतृत्व तहमा उनको ओज घटेन । उनलाई ओलीले स्थायी कमिटीमै राखेर जिम्मेवारी दिइरहे । पोखरेलले ०५१ मा चुनाव जितेर मनमोहन अधिकारीको प्रचार सदस्यका रूपमा काम गरेका थिए । एमाले सरकारले अघि सारेको नौ ‘स’ कार्यक्रमको प्रस्तावक उनी नै रहेको निकटस्थहरू बताउँछन् । जनताको बहुदलीय जनवादलाई पार्टीको मार्गदर्शक सिद्धान्तका रूपमा अगाडि बढाएका नेताको पहिचान पनि उनको छ ।

पौडेल र पोखरेलबीच आगामी नेतृत्वको विषयलाई लिएर कहिलेकाहीँ देखिने आन्तरिक मतभेदका विषय बाहिर आए पनि अहिले उनीहरू एउटै खेमामा उभिएको सन्देश एमालेमा गएको छ । यही कारण, महासचिवका रूपमा पोखरेल पुनः दोहोरिन सक्छन् भन्ने आँकलन तीव्र बन्दैछ । यदि नेतृत्वले नयाँ समीकरण बनायो भने उनी उपाध्यक्षतर्फ पनि सारिन सक्छन् ।

‘उहाँको तयारी र चाहना नै महासचिवमा दोहोरिने हो, तर सहजताका लागि उपाध्यक्ष बन्ने मूल नेतृत्वको प्रस्ताव आए उहाँलाई बाध्यता बन्न सक्छ,’ उनी निकटस्थ एक नेताले भने । गुल्मीबाट एमाले केन्द्रमा बलियो पहुँच बनाएका दुई अनुहार प्रदीप ज्ञवाली र गोकर्ण विष्ट पनि यस पटक ‘अपग्रेड’ हुने योजनामा छन् । उपमहासचिव ज्ञवाली वैचारिकरुपमा प्रखर र संयमित छविका नेता हुन्, जबकि विष्ट विकास प्रेमी र कार्यसम्पादन–केन्द्रित व्यक्तित्वका रूपमा चिनिन्छन् ।

महाधिवेशनले बनाउने खेमाका कारण यी दुईबीच नै महासचिव वा उपमहासचिवतर्फ प्रतिस्पर्धा हुनसक्ने आँकलन गर्न थालिएको छ । संस्थापन इतर समूहमा नेतृत्व लिएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको ‘क्याम्प’ बाट लुम्बिनीमा सचिव गोकर्ण नै अग्रपंतिमा रहनेछन् । त्यही खेमाबाट योगेश भट्टराई वा गोकर्ण विष्टमध्ये एक जनालाई महासचिवतर्फ अघि सार्न सकिने चर्चा एमाले वृत्तमै तातिएको भए पनि अझै टुंगो लागेको छैन । विष्ट दोहोरिएर सचिव बनिसकेकाले अब पक्कै माथिल्लो पद खोज्नेछन् ।

त्यसो त संस्थापन पक्षको विरोधी खेमामा खुलेका उपाध्यक्ष युवराज ज्ञवाली अब पुरानै जिम्मेवारीमा नबस्ने निकटस्थहरूलाई भनेकाले पनि विष्टलाई अगुवाइ गर्नुपर्ने बाध्यता आइलागेको हुनसक्छ । उनले लामो समयदेखि ओली नेतृत्वमा पुस्तान्तरण आवश्यक छ भन्ने बहस उठाइरहेकाले नेतृत्वले उनलाई कुन जिम्मेवारी दिने हो, अझै स्पष्ट खुलेको छैन । अचम्म त दाङमा वर्षौँदेखि ‘राष्ट्रिय केन्द्रमा पुग्ने नेता’ ठानिएका युवराज पछिल्ला वर्षमा शंकर पोखरेलको उचाइका कारण छायामा परेका छन् ।

लुम्बिनीबाट पदाधिकारीमा जान सक्ने नयाँ अनुहारमा निकटस्थहरूका अनुसार सूर्य थापा पहिलो सूचिमा छन् । पार्टी अध्यक्ष ओलीको पक्षमा बलियो समर्थन व्यक्त गर्दै आएकाले उनलाई नेतृत्वले समेट्ने दाबी निकटस्थहरूको छ । सूर्य थापा पनि प्युठानको जनमत बटुल्दै महाधिवेशनमा पदाधिकारीको दाबेदारीसँगै अघि बढिरहेका छन् । पत्रकारिताबाट उठेर एकाएक राजनीतिक केन्द्रमा पुगेका थापाले पार्टीभित्र आफ्नो उचाइ कहाँ पुग्ने हो महाधिवेशनमै टुंगो लाग्ने भन्दै ‘मलाई यो पद चाहियो’ भनेर बाहिर भन्दै नहिँड्ने जवाफ दिइरहेका छन् ।

एमालेभित्र केही समयदेखि चर्चा कम र विवाद धेरै भोगेकी नेतृ रामकुमारी झाँक्री पनि यस पटक पदाधिकारीमा प्रवेश गर्ने मनसायमा छिन् । एकीकृत समाजवादीमा सचिव भइसकेकी उनी एमालेमै सो तहको जिम्मेवारी खोज्दै सक्रिय भएकी हुन् । गुल्मीकी झाँक्री पार्टीभित्र महिलाको सशक्त प्रतिनिधिको रूपमा चिनिन्छिन् । निकटस्थहरूले एमालेमा आउने समयमै उनलाई सचिवमा ल्याउने कुरा भएको दाबी गरे पनि ओली पक्षले झाँक्री पार्टी प्रवेश गर्दा कुनै सर्त नराखेको बताइरहेका छन् ।

लुम्बिनी प्रदेशकै नेताहरू ठाकुर गैरे र बलराम अधिकारीको पनि दाबी पदाधिकारीमा छ । तर, अहिलेको अवस्थामा उनीहरू आइहाल्ने अवस्था नदेखिएको नेताहरू बताउँछन् । मतदानबाट नेतृत्व छानिने स्थिति आयो भने ओली-पोखरेल समूहभित्र कसको स्थान कहाँ पर्छ भन्ने अझै पूर्ण रूपमा स्पष्ट छैन । तर, लुम्बिनीमा अहिले महाधिवेशनको राजनीतिक चहलपहलले एकै पटक धेरै आकांक्षीहरूलाई सक्रिय बनाएको छ । एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलका अनुसार लुम्बिनी अझै पनि पार्टीभित्र नेतृत्व उत्पादन गर्ने ‘पावर हाउस’ नै हो ।

‘उपाध्यक्षदेखि महासचिव, उपमहासचिव र सचिवसम्म मुख्य पद नै यही प्रदेशबाट गएका नेताहरूले जिम्मेवारी लिएको अवस्था छ । नयाँ महाधिवेशनमा पदको संख्या घट्ला, तर लुम्बिनीको प्रतिनिधित्व घट्दैन,’ कँडेल भने । ५२ केन्द्रीय सदस्य, १० आयोगका सदस्यहरूसहित १९० जना प्रतिनिधि लुम्बिनीबाट महाधिवेशनमा जाने टुंगो लागिसकेको छ केही मनोनीतमा पक्कै पर्नेछन् । यी सबैले उम्मेदवारीको अधिकार राख्ने भएकाले आकांक्षी व्यवस्थापनमा नेतृत्वलाई केही सकस पक्कै हुने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *