केन्द्रीय कमिटीमा १० प्रतिशत युवा सुनिश्चित गर्ने एमालेको तयारी

दाङ । नेकपा एमालेले आगामी महाधिवेशनबाट १० प्रतिशत केन्द्रीय सदस्य युवा छनौट गर्ने तयारी गरेको छ । प्रत्येक निर्वाचन क्षेत्र बाट १ जनागरी १ सय ६५ जना (४० वर्ष मुनिका) युवा महाधिवेशन प्रतिनिधि छनौट भइसकेका छन् ।

युवा क्लस्टर बाहेक खुलाबाट पनि युवा प्रतिनिधि छानिएका छन् । करिब २ सयको हाराहारी युवा प्रतिनिधि छनौट भएको उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिए । उनका अनुसार यसपटक केन्द्रीय कमिटीमा युवालाई १० प्रतिशत कोटा सुरक्षित गरिने छ ।

तर, यसको आधिकारिक निर्णय भने महाधिवेशनको हलले नै गर्ने उनले बताए । यसपटक एमालेको केन्द्रीय कमिटी २५१ सदस्यीय हुनेछ । जसअनुसार १० प्रतिशतले करिब २५ जना युवाले एमालेको केन्द्रीय कमिटी सदस्य बन्ने अवसर पाउनेछन् ।

नेपालका राजनीतिक दलमध्ये कोटा छुट्याएरै पालिकादेखि केन्द्रीय कमिटीमा युवाको प्रतिनिधित्व गराउने एमाले पार्टी बनेको ज्ञवालीले बताए । एमाले यसअघि सेल कमिटीहरूमा एक तिहाइ, वडा कमिटीमा २५, पालिका कमिटीमा २० र जिल्ला कमिटीमा १५ प्रतिशत युवाको प्रतिनिधित्व गराइसकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *