
चितवन । नेपालको मुख्य पर्यटकीय गन्तव्य हो चितवन । पर्यटकीय नगरी चितवनको सौराहा विश्वभर परिचित छ ।
चितवन राष्ट्रिय निकुञ्जको सीमाना- राप्ती किनाराको बस्ती हो सौराहा । यहाँ विशेष गरी एकसिङे गैँडा र बाघको अवलोकन गर्न सकिन्छ । यहाँको शान्त मनोरम दृष्यले पर्यटकलाई आह्लादित बनाउँछ ।
भीडभाड र बढ्दो भौतिक संरचना निर्माणले प्राकृतिक सुन्दरतामा ह्रास आएको गुनासो सुनिन्छ । पर्यटकको गुनासो कम गर्न र प्रकृतिको प्रवर्धन गर्न सौराहामा जलविहारको सुविधा थप गरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको अनुमतिमा सौराहामा जलमार्गको गन्तव्य थप गरिएको हो । यहाँ नौकाविहार गर्न सक्ने तीन वटा गन्तव्य पहिले नै छन् । चितवन राष्ट्रिय निकुञ्जलाई सीमा बनाएर बग्ने राप्ती नदी, बुढी राप्ती, ढुङग्रेखोला र नारायणी नदीमा डुङ्गाशयर र जलयात्राको सुविधा छ ।
यी सुविधाबाहेक नौकाविहारका लागि अर्को एउटा गन्तव्य थपिएको छ । जहाँ जङ्गल सफारीको मनोरञ्जन, सीमसार अवलोकन, विभिन्न प्रजातिका चरा, जङ्गली जनावर र गोहीलगायतका जलचरको अवलोकन गर्न पाइन्छ ।
जिन्दगानी घाटदेखि भीमपुर घाटसम्म सञ्चालन भइरहेको जलयात्राले सौराहाको पर्यटनमा अझ विविधता थपेको छ । राप्ती नदीको सङ्लो र कलकल पानीको सङ्गीतमा पर्यटकले अनुपम आनन्द लिन सक्छन् ।

स्थानीय पर्यटन व्यवसायीले सञ्चालन गरेको जलयात्राको दूरी करिब ६ किलोमिटर छ । एक घण्टादेखि सवा घण्टासम्म नौकाविहार गर्न सकिने यो गन्तव्य अद्भूत रहेको सञ्चालक बासु ढुङ्गाना बताउँछन् ।
निकुञ्जको क्षेत्र विस्तारका लागि खाली गराइएको पुरानो बस्ती पदमपुर यो यात्राका क्रममा भेटिन्छ । जहाँ अधिकांश आदिवासी थारुको बसोबास थियो । सरकारले उनीहरुलाई हालको कालिका नगरपालिकामा स्थानान्तरण गराएको छ । खेतीपाती गरिएको र मलिलो माटो रहेको यो क्षेत्र वन्यजन्तु साथै चराचुरुङ्गीका लागि उपयुक्त बासस्थान रहेको ढुङ्गाना बताउँछन् ।
सिङ्गो पदमपुर गाउँ स्थानान्तरणपछि यो क्षेत्र शान्त छ । यहाँको यात्रामा मानिसले निर्माण गरेका भौतिक संरचना देख्नु पर्दैन । केवल चराचुरुङ्गीको चिर्बिराहट, हात्ती, गैँडाका आवाज अनि मौसम खुलेको दिन राप्तिको कलकल बगेको पानी, पहाड र हिमालको अभूतपूर्व दृष्यावलोकन गर्न सकिन्छ ।
डुङ्गा शयरका क्रममा दुई किसिमका गोही, चिसो मौसममा बसाइँ सरी आउने चरा, बाघ, गैँडा, जंगली हात्ती देख्न सकिने ३५ वर्षदेखि नेचरगाइडको काम गरिरहेका रामप्रसाद पराजुली बताउँछन् ।
यहाँ भीडभाड छैन । मानव निर्मित भौतिक संरचना छैनन् । पर्यटकहरुले यो क्षेत्र रुचाउनुको कारण नै यहाँको शान्त र मनोरम वातावरण रहेको नेचरगाइड पराजुलीको भनाइ छ ।
सौराहाको नयाँ गन्तव्य ‘जिन्दगानी घाट’ का केही तस्बिर हेरौँ

तस्बिरहरू : कोमलचन्द्र भगत ।

Leave a Reply