कांग्रेसमा नेतृत्व दौड : शेखर-गगन दुवै सभापतिका आकांक्षी, संस्थापनमा देउवाकाे आशीर्वाद कसलाई ?

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको मिति घोषणा गरेसँगै नेतृत्वको आकाङ्क्षीहरू खुल्न थालेका छन्। पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेसँगै आकाङ्क्षीहरूले दाबी गर्न थालेका हुन्।

यद्यपि, निर्धातिर समयमा महाधिवेशन हुनेमा कांग्रेसका नेताहरू नै ढुक्क हुन सकेको छैनन्। महाधिवेशनको सबैभन्दा महत्त्वपूर्ण हिस्सा क्रियाशील सदस्यताको विषय अझै टुङ्गिएको छैन। महामन्त्री गगन थापाले क्रियाशील सदस्यताको विषय टुङ्ग्याउने गृहकार्य थालिसकेका छन्।

अब हुने महाधिवेशनबाट कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वबाट बिदा हुँदैछन्। अहिले नै उनले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइसकेका छन्। देउवालाई नेतृत्वमा दोहोरिने विधानले पनि दिँदैन।

देउवा नेतृत्वमा नआउने भएपछि आगामी महाधिवेशनमा उनको आशीर्वाद लिएर नेतृत्व हत्याउने दाउमा उनी निकट नेताहरूको हानथाप छ। देउवाले अहिले महाधिवेशन गर्ने जिम्मेवारीका साथ उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएका छन्।

अहिले कार्यवाहक भूमिकामा रहेका खड्काको आगामी नेतृत्वमा दाबी स्वाभाविक हो। तर, महाधिवेशनको मिति विवाद सल्टाउन समेत देउवाकै मुख ताकेको भन्दै उनको कार्यक्षमतामाथि नेताहरूले प्रश्न उठाएका छन्।

असोज २८ गतेबाट सुरु भएको बैठकले महाधिवेशनको मिति विवाद समाधान गर्न नसकेपछि देउवा आफैँ सक्रिय भएर पार्टीभित्रको विवाद समाधान गरेका थिए। देउवाको उत्तराधिकारी बन्न सात पूर्वपदाधिकारीहरूले निरन्तर छलफलमा छन्।

संस्थापन पक्षबाट गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, प्रकाशमान सिंह र डा. प्रकाशशरण महत निरन्तर संवादमा छन्।

हिजो पनि श्रेष्ठ र कोइरालाबाहेक पूर्वपदाधिकारीहरू आफूनिकट केन्द्रीय सदस्यहरूसँग छलफलमा बसेका थिए। सभापति देउवासँग परामर्श लिएर पूर्व पदाधिकारीहरूबाट एक जनाको नाममा सहमति जुटाउन केन्द्रीय सदस्यले दबाब दिएका छन्।

यो टिममा कार्यवाहक सभापति खड्का, उमाकान्त चौधरी, बालकृष्ण खाण र एनपी साउदलगायत नेताहरू पनि एक ठाउँमा उभिनसक्ने बताइन्छ। उनीहरूको एउटै बटमलाइन छ– आगामी सभापति आफूहरूभन्दा बाहिरबाट नहोस्।

‘हाम्रो टिमबाट सहमतिमै टुङ्ग्याउँछौँ’

तर प्रवक्ता डा. प्रकाशशरण महत नेतृत्वबारे अहिलेसम्म आफ्नो टिममा कुनै छलफल नभएको जिकिर गर्छन्। टिममा सल्लाह गरेरै नेतृत्व तय गर्ने बताए।

उनले भने, ‘नेतृत्वको दाबी त सबैले गरिरहेका छन्। आगामी सभापति त महाधिवेशनले नै निर्णय गर्छ। टिममा सल्लाह भएर सबैको सहमतिमा अघि बढ्ने हो। सभापतिसँग नेतृत्वबारे अहिलेसम्म कुरा भएको छैन।’

कार्यवाहक सभापति खड्काको सम्भावनालाई पनि उनले नकारेनन्। उनले निर्धारित समयमा महाधिवेशन हुनेमा नै आशंका व्यक्त गरे।

उनले भने, ‘महाधिवेशनको मिति भर्खरै तय भएको छ। नेतृत्वबारे बिस्तारै छलफल हुन्छ। महाधिवेशनको मिति तोकिएको भएपनि समय टाइट छ निर्धारित समयमा हुन्छ हुँदैन भन्न सकिँदैन।’

कार्यसमितिको माघसम्म म्याद थपबारे उनले थपे, ‘काम गर्दै जाँदा सकिए पुसभित्रै हुन्छ, माघमा त महाधिवेशन हुँदैन। ढिला भयो भने आम निर्वाचन पछि नै हो। चुनावको तयारी गर्ने बेलामा माघमा महाधिवेशन गर्न सकिँदैन। माघमा सम्भव छैन। जति तहसम्म हुन्छ नभए पछि हुन्छ।’ समयमै महाधिवेशन गर्नको लागि चुनौती रहेको बताए।

‘शेखर र गगन एक ठाउँमा उभिनुपर्छ’

सहमहामन्त्री जीवन परियारले अहिले नेतृत्वको बहसमा आफूहरू नपुगेको बताए। १४ औँ महाधिवेशनको टिम एक ढिक्का भएर अघि बढ्नुपर्ने बताए।

उनले भने, ‘१४ औँ महाधिवेशनमा शेखर दाइ र गगनजीहरू एक ठाउँमा हुनुहुन्थ्यो। त्यो टीमका साथीहरू एक ढिक्का नै हुनुपर्छ। र अरू थप साथीहरूलाई जोडेर आगामी महाधिवेशनमा चुनाव जित्ने प्रयत्न गर्नुपर्छ भने हो।’ शेखर कोइराला र गगन थापा बसेर एक ठाउँमा दृढतापूर्वक उभिने सङ्कल्प गर्नुपर्ने उनको मत छ।

उनले भने, ‘शेखर दाइ सभापतिमा नलड्ने भए गगन थापाको पालो हो। शेखर दाइले नै एक पटक लड्छु भन्नुहुन्छ भने गगन थापाले नमान्नुपर्ने कारण नहोला। शेखर दाइले लड्दिनँ भन्नुभयो भने मात्रै विकल्पमा जाला।’ उनले संस्थापन पक्षका नेताहरू पनि संवादमा रहेको र महाधिवेशनसम्म खुल्ने जिकिर गरे।

गगनको बेग्लै तयारी

जेनजी आन्दोलनपछि पार्टीमा रूपान्तरणको मुद्दा उठाएका महामन्त्री थापाले आगामी नेतृत्वको लागि तयारी गरिरहेका छन्। उनीनिकट केन्द्रीय सदस्य मधु आचार्यले निर्वाचनअघि महाधिवेशन कार्यतालिका विशेष महाधिवेशनको हस्ताक्षरकर्ताहरूबाटै मात्रै सम्भव भएको बताए।

उनले भने, ‘यो कार्यतालिका २४८८ को हस्ताक्षरले नै सम्भव भएको हो। कांग्रेसमा नयाँ नेता, नयाँ नीति, जेनजी आन्दोलनले उठाएको एजेन्डा सम्बोधन गर्ने र हिजो भएको गल्ती कमजोरी सुधार गरेर जानुपर्ने कुरा महामन्त्री गगन थापाले नै उठाउनुभएको हो। परिवर्तनको आवाजको नेतृत्व जसले गरेको छ, अबको नेतृत्व पनि त्यही हुनुपर्छ भन्ने हाम्रो कुरा हो।’

१४ औँ महाधिवेशनमा शेखर कोइराला जिताउन आफूहरू लागेको भन्दै अहिलेको महाधिवेशनमा गगनले साथ पाउनुपर्ने उनको मत छ।

उनले थपे, ‘अहिले परिस्थिति र आवश्यकता पनि नयाँ भएको छ। त्यसैले हामीले नेता पनि नयाँ ल्याउनुपर्छ भनेका हौँ। हिजो गगनको समर्थनमा शेखर कोइराला, आज शेखरको समर्थनमा गगन थापा हुनुपर्छ भन्ने हाम्रो कुरा हो।’

पार्टीभित्र सर्वसम्मत सभापति गगनलाई नै बनाउँदा उपयुक्त हुने पार्टीपंक्तिको माग रहेको जिकिर गरे।

उनी भन्छन्, ‘विमलेन्द्र निधि दाइले सर्मसम्मत सभापति छानौँ भन्ने प्रस्ताव ल्याउनुभएको छ, त्यसलाई सकारात्मक रूपमा लिनुपर्छ, अहिलेको माग अनुसार नेतृत्व हस्तान्तरणको राम्रो सन्देश जाने भएकाले सभापतिले पनि युवा पुस्ता गगनजीलाई नेतृत्व दिन सकारात्मक हुनुपर्छ भन्ने हाम्रो बुझाइ हो, हुनुहुन्छ होला पनि।’

गगनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्मा, युवा नेता प्रदीप पौडेलसहित युवा नेताहरूको साथ छ। गगनकै अगुवाइमा विशेष महाधिवेशनको लागि हस्ताक्षर संकलन गर्दा ५४ प्रतिगत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गर्न सफल भएका थिए।

१४ औँ महाधिवेशनमा देउवाको प्यानलबाट जितेका सहमहामन्त्री फरमुल्लाह मन्सुरले गगन थापालाई सभापति र अबको प्रधानमन्त्री प्रस्ताव गरेर पार्टी चुनावमा जानुपर्ने बताएका थिए।

केन्द्रीय समितिको बैठकमै भनेका उनले भनेका थिए, ‘म कुरा लुकाउने मानिस होइन। गगन थापा सभापति र प्रधानमन्त्री भए राम्रो हुन्छ भनेर मानिसहरूले भनेका छन्। उनी १४ औँ महाधिवेशनमा पनि धेरै मतसहित महामन्त्री जितेका हुन्। अहिले उनकै पहलमा ५४ प्रतिशतले विशेष महाधिवेशन गर्न हस्ताक्षर पनि गरेको अवस्था छ। त्यसैले आउने चुनावमा गगन थापालाई प्रधानमन्त्री उम्मेदवार र सभापति बनाएर नयाँ नेताको नेतृत्वमा प्रतिनिधि सभा चुनावमा पार्टी जानुपर्छ।’ गगनले स्वंयमले पनि आगामी महाधिवेशनमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन्।

नयाँ समीकरणको संकेत

कांग्रेसमा देउवा नेतृत्वमा नदोहोरिने निश्चित भएपछि समीकरणमा उलटफेर आउने संकेत देखिएको छ। संस्थापन पक्षका नेताहरू मात्रै नभई १४ औँ महाधिवेशनमा एउटै टिममा रहेका शेखर र गगन थापा पनि अलग हुने सम्भावना बढेको छ। उनीहरूले दुवैले आआफ्नै तयारी गरिरहेका छन्।

नेता डा. शशांक कोइरालाले १५ औँ महाधिवेशनमा आफू र शेखर कोइरालामध्ये एक जना सभापतिको उम्मेदवार हुने बताएका छन्। चितवन पुगेका कोइरालाले शेखरसँग आफ्नो कुरा भइरहेको बताए।

उनले भने, ‘सभापतिका लागि लड्ने भनेको थिएँ। शेखर दाइ पनि इच्छुक हुनुहुन्छ। कुरा भइरहेको छ। दुई जनामध्ये एक जना लड्छौँ।’ उनले विगतमा कुरा नमिलेको भएपनि अहिले मिलेको र दाजुभाइ एक ठाउँमा उभिनुपर्ने निष्कर्ष निकालेको बताए।

आजै मात्रै पनि शेखर कोइरालानिकट नेताहरूको बेग्लै भेला बसेको थियो। बैठकमा सहभागी ती नेताले भने, ‘आज पनि शेखर दाइको टिमको बैठक बसेको थियो। शेखर दाइलाई सभापति र गगनलाई पनि सँगै लिएर जानुपर्छ भनेर निष्कर्ष निकालेका छौँ। छलफल जारी छ।’

भेला कोइरालासहित सहमहामन्त्रीद्वय जीवन परियार, बद्री पाण्डे, नेता गुरुराज घिमिरे, केन्द्रीय सदस्य गोविन्द्र पोखरेलसहित एक दर्जन नेताहरू सहभागी थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *