
काठमाडौं । सुनसरीको वराहक्षेत्रमा आयोजना हुने विद्यार्थीलक्षित कविता वाचन रियालिटी शो ‘स्कुलमा कविता’ आगामी माघ-३ गतेबाट सुरु हुने भएको छ ।
वराहक्षेत्रको साविक भरौलबाट अडिसन सुरु भई क्रमश चतरा, चक्रघट्टी र प्रकाशपुरमा अडिसन आयोजना हुने स्वर्णिम साहित्य समाजका निवर्तमान अध्यक्ष प्रकाश दिप्साली राईले जानकारी दिए ।
प्रतियोगितामा वराहक्षेत्रभरिका माध्यमिक विद्यालबाट कक्षा ६ देखि १० सम्मका विद्यार्थी सहभागी हुन पाउने छन् । विद्यालय आफैंले प्रतिनिधित्वका रुपमा एक छात्रा अनिवार्यसहित दुई उत्कृष्ट प्रतियोगी छनोट गर्दै आएका छन् । ‘प्रत्येक विद्यालयका उत्कृष्ट दुई जना फाइनल राउण्डमा प्रवेश गर्नेछन्, ‘ कवि दिप्सालीले भने, ‘फाइनलका उत्कृष्टलाई स्कुलमा कविताको विजेता घोषणा गरिने छ ।’
उनका अनुसार फाइनल राउण्डका प्रथमसहित, द्वितीय, तृतीय र सान्त्वनाले नगद र आकर्षक पुरस्कार प्राप्त गर्नेछन् । स्कुलमा कविताको तेस्रो संस्करणलाई प्याब्सन बराहक्षेत्रले मुख्य प्रायोजन गर्ने बताइएको छ ।
प्रतियोगितामा प्रत्येक राउण्डमा अतिथि निर्णायक र फाइनल राउण्डमा विशिष्ट निर्णायक रहँदै आएका छन् । पहिलो संस्करणमा आर्यन निरौला र दोस्रो संस्करणमा सबिना बानियाँले स्कुलमा कविताको उपाधि जितेका थिए ।

Leave a Reply