अध्यक्ष र महासचिव बाहेकमा मेरो उम्मेदवारी : विष्णु पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने दाबी गरेका छन् ।

बुधबार प्रेस चौतारी नेपालले आयोजना गरेको सञ्चारकर्मीसँगको संवाद कार्यक्रममा उनले एमालेको आन्तरिक जीवन कुनै समस्यामा नभएको स्पष्ट पारे ।

‘हामी सहज ढङ्गले अगाडि बढ्न सक्ने ठाउँमा छौँ, एमालेभित्र जुन ध्रुव देखिएको छ के तपाईँहरूलाई लाग्छ यो मंसिर २९ गतेसम्म रहला ? मंसिर २९ अघि नै यो समाप्त हुन्छ, कुनै ध्रुव रहँदैन’, उनले भने ।

केपी ओलीकै नेतृत्वमा फेरी पनि नेकपा एमाले अघि बढ्ने उनको भनाइ छ । एमालेलाई निरङ्कुश छ भन्ने भ्रम फिँजाउने प्रयास भइरहेको भन्दै पौडेलले एमाले आन्तरिक लोकतन्त्रको च्याम्पियन पार्टी भएको दाबी गरे ।

महाधिवेशनमा सहभागी हुँदा आफू एमालेको सदस्य मात्र हुने बताउँदै उनले भने, ‘मेरो स्थान के भन्दा पनि पार्टीको स्थान के भनेर सोच्नु पर्छ, मेरो ठाउँ के भनेर ङार्रङुर्र गर्नुपर्दैन, हजार जना कार्यकर्ता भित्र परिहाल्छु, त्यहीँ बसेर काम गर्दा हुन्छ, केही फरक पर्दैन ।’

आजसम्म पार्टीमा पाएको जिम्मेवारी मागेर नलिएको उनको भनाइ छ ।

‘पार्टीले उचित जिम्मेवारी दिन्छ, मैले के पाउँछु भनेर आजसम्म सोचेको छैन । म महासचिवको उम्मेदवार होइन, म यसअघि नै महासचिव भएर काम गरिसकेको मान्छे हु, ११ औँ महाधिवेशनमा मेरो उम्मेदवारी हुन्छ तर अध्यक्ष र महासचिव बाहेकमा हुन्छ, मैले अध्यक्षमा केपी ओलीलाई समर्थन गरिसकेको छु, महासचिव पहिला नै भइसकेको छु, त्यसैले काहीँ न काहीँ उम्मेदवारी त हुन्छ, तर त्यो पछि नै तय हुन्छ’, पौडेलले भने ।

एमाले गमलामा मल हालेर हुर्काएको पार्टी नभएको भन्दै उनले थपे, ‘कस्ता कस्ता प्रतिकूलता त सामना गरेको आएको एमालेलाई अहिलेको प्रतिकूलता केही होइन ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *