
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफ्नो पार्टी अन्तरपार्टी लोकतन्त्रको च्याम्पियन भएको दाबी गरेका छन्। प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा बोल्दै एमालेलाई अधिनायकवादी र निरङ्कुश छ भन्ने गलत प्रचार भइरहेको बताए।
उनले भने, ‘पार्टीभित्रको लोकतन्त्रको बारेमा अरूले एमालेमाथि प्रश्न उठाउनु उचित लाग्दैन। हामी लोकतन्त्रको अभ्यास गर्दै आइरहेको छौँ। अहिले हामी नेतृत्व निर्माण गर्ने महाधिवेशनमा छौँ। नीतिको महाधिवेशन गरिसक्यौँ।’
उनले विकसित राजनीतिक घटनाक्रमबारे पनि पर्याप्त छलफल गरिसकेको भन्दै अध्यक्षले प्रस्तुत गर्ने बताए। उनले थपे, ‘अध्यक्षले बोल्न दिन्न भन्नुभयो, मात्रै बोल्छु भन्नुभयो भन्ने खालको कुराको सान्दर्भिकता छैन।’
उनले आगामी महाधिवेशनमा आफू कुन पदमा रहन्छु भन्ने कुरालाई महत्त्वहीन ठानेको बताए। आफ्नो जस्तो क्षमता भएको पार्टीमा हजारौँ नेताहरू रहेको भन्दै आफू जुनसुकै ठाउँमा रहेर पनि काम गर्न तयार रहेको बताए।
उनले भने, ‘मैले कुनै जिम्मेवारीका लागि कुनै इच्छा व्यक्त गरेको छैन। मेरो ट्याक रेकर्ड हेर्दा हुन्छ। मलाई यो चिज चाहियो भनेको छैन। त्यसैले भन्छु, म पार्टी र आन्दोलनको चिन्ता गर्छु आफ्नो बारेमा गर्दिनँ। मलाई किङमेकर भनेर तपाईँहरूले बोक्न नसक्ने तक्मा दिनुभयो। मलाई किङमेकरको रूपमा पनि नबुझ्दिनुस्।’
उनले पार्टीभित्र समस्या भए त्यसको समाधान गर्नको लागि काम गर्ने आफ्नो स्वभाव रहेको बताए। अहिले एमालेभित्र कुनै संकट नरहेको बताए। पार्टीभित्र अहिले दुई ध्रुव रहेको भन्दै चर्चा भइरहे पनि २९ गतेसम्म नरहने दाबी गरे। ११ औँ महाधिवेशन सर्वसम्मत रूपमा टुङ्गिने उनको भनाइ छ।

Leave a Reply