बलियो ठानिएको कर्णालीको ‘अर्ली एक्जीट’, कसको प्रदर्शन कस्तो ?

काठमाडौं । पाँचौं हारसँगै कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को प्लेअफको होडबाट बाहिरिएको छ । मंगलबार भएको आफ्नो छैटौं खेलमा पोखरा एभेन्जर्ससँग ३४ रनले पराजित हुँदै कर्णाली समूह चरणबाटै निस्किने पहिलो टिम बन्यो ।

कर्णालीले अहिलेसम्म ६ म्याच खेल्दा एक मात्र जितका साथ २ अंक जोडेर अंकतालिकामा पुछारबाट दोस्रो स्थानमा छ । अब जनकपुरविरुद्धको अन्तिम खेल कर्णालीका लागि प्रतिष्ठाको विषय मात्रै हुनेछ । उक्त खेलमा जित निकाले पनि कर्णालीलाई प्लेअफमा पुग्न सम्भव छैन ।

पहिलो सिजनमा भारतीय क्रिकेटर शिखर धवनलाई भित्र्याएर चर्चामा आएको कर्णाली यसपटक पनि कागजीरुपमा कमजोर थिएन । टिममा ब्याटिङ र बलिङको सन्तुलन राम्रो मिलेको थियो । कम्तिमा प्लेअफमा स्थान बनाउन सक्ने टिमका रुपमा हेरिएको थियो कर्णालीलाई । तर टोलीले आफ्नो क्षमता अनुसार खेल देखाउन सकेन ।

अघिल्लो सिजनमा खराब सुरुवात गरेको कर्णालीले उत्कृष्ट कमब्याक गर्दै लगातार ४ खेलमा जित निकालेर प्लेअफमा स्थान बनाएको थियो । यसपाली भने कमब्याकको आशा निराशामा परिणत भयो । हारबाट दोस्रो सिजन सुरुआत गरेको कर्णालीले दोस्रो खेलमा लुम्बिनी लायन्समाथि ९ विकेटको शानदार जित दर्ता गरेको थियो । तर त्यसपछि लगातार चार हार बेहोर्दै प्लेअफको होडबाट बाहिरिनुपरेको छ ।

विराटनगर किङ्सविरुद्धको म्याचमा बाहेक कर्णालीले अन्य म्याचमा प्रतिस्पर्धी टिमलाई कडा चुनौतीसमेत दिन सकेन । कर्णालीको न ब्याटिङ सन्तोषजनक रह्यो न बलिङ । कर्णालीविरुद्ध पोखरा एभेन्जर्सले एनपीएलकै दोस्रो ठूलो स्कोर बनाउन सफल भयो भने दोस्रो सिजनको दोस्रो सानो स्कोर पनि कर्णालीले नै बनायो ।

टपअर्डरमा थिएन समस्या

अक्सनपछि कर्णालीको समस्याको रुपमा हेरिएको थियो –टपअर्डर ब्याटिङ । तर, राम्रा विदेशी खेलाडी भित्र्याउँदै कर्णालीले टपअर्डर मजबुत बनाउने प्रयास गर्‍यो ।

कर्णालीको ६ खेलमध्ये ५ खेलमा टपअर्डर चलेको छ । पहिलो खेलमा चितवन राइनोजविरुद्ध ओपनर प्रियान्क पञ्चालले ४८ बलमा ९० रन बनाएर शानदार ब्याटिङ गरे । अर्का ओपनर म्याक्स ओ’डाउड २० रनमा आउट हुँदा मार्क वाटले १६ रन बनाए । उक्त खेलमा कर्णालीले ३ विकेट मात्र गुमाएर १६६ रनको स्कोर खडा गरेको थियो, तर यो जितका लागि पर्याप्त रहेन ।

दोस्रो खेलमा टपअर्डर झनै शानदार रह्यो । लुम्बिनी लायन्सले दिएको १५७ रनको लक्ष्य कर्णाली टपअर्डर ब्याटरले १३औं ओभर मै पूरा गरे । त्यसक्रममा ओपनर वाटले ४४ बलमा ११४ रनको शतकीय इनिङ खेले । उनले दोस्रो विकेटका लागि विलियम वोसिस्टोसँग अविजित १२३ रनको साझेदारी गरे ।

तेस्रो खेलमा कर्णालीको टपअर्डरसहित सबै ब्याटिङ धरासायी बन्यो । सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा कर्णाली ९४ रनमै अलआउट हुन पुग्यो । चौथो खेलमा पुनरागमन गर्दै टपअर्डर ब्याटिङ उत्कृष्ट रह्यो । उक्त खेलमा ओपनर प्रियांकले ४७ बलमा ६३ रन बनाउँदा अर्का टपअर्डर ब्याटर बोसिस्टो ४८ रनमा अविजित रहे ।

पाँचौ खेलमा ओपनर प्रियांक शून्य रनमै आउट हुँदा अर्का ओपनर वाटले कर्णालीको ब्याटिङ उकास्न प्रयास गरे । उनलाई पवन सर्राफले साथ दिए । लोअर्डरमा गुल्सन झाले आक्रामक ब्याटिङ गर्दा कर्णालीले १४९ रनको आँकडा तयार गर्‍यो ।

छैटौं खेलमा २०२ रनको विशाल लक्ष्य पछ्याएको कर्णालीले सुरुआत शानदार गर्‍यो । ओपनर वाटले ३४ बलमा ५९ रन हान्दै कर्णालीलाई अघि बढाए । तर, त्यसपछिका ब्याटरबाट गतिलो साझेदारी हुन नसक्दा कर्णालीले पाँचौं हार बेहार्नुपर्‍यो ।

चलेनन् स्पिनर

अघिल्लो सिजनमा स्पिन आक्रमणलाई मुख्य हतियार बनाएको कर्णालीले यसपटक स्पिनरबाट निराशा बेहोर्‍यो । कुनै खेलमा कप्तान सोमपाल कामीले ५ स्पिनरसम्म प्रयोग गरे । तर, कुनै स्पिनरबाट चाहेअनुसार प्रदर्शन हुन सकेन । आफ्नो पाँचौं खेलमा काठमाण्डु गोर्खाजविरुद्ध कर्णालीका ५ स्पिनर प्रयोग भएका थिए । तर, आवश्यकता परेको बेला विकेट आउन सकेन ।

स्पिनरको रुपमा भित्र्याइएका स्कटल्याण्डका वाट बलिङमा चल्न सकेनन् । उनले ६ खेलबाट मात्र ४ विकेट लिए । बरु ब्याटिङमा भने उनले कमाल गरे । उनले एक शतक र एक अर्धशतकसहित २४२ रन बनाए । उनको योगदान बलिङमा खासै हुन सकेन ।

पहिलो सिजनमा ट्यालेन्ट हन्टबाट आएर शानदार प्रदर्शन गरेका स्पिनर विपिन खत्री यसपटक चल्न सकेनन् । ५ खेलमा विपिनले मात्र २ विकेट लिए । अघिल्लो सिजनमा विपिनले ८ खेलबाट १३ विकेट लिएका थिए । यस्तै ठूलो आशासहित अक्सनबाट भित्रिएका युवराज खत्रीबाट पनि सोचेजस्तो प्रदर्शन हुन सकेन । ५ खेलबाट मात्र ३ विकेट लिए । तीन मुख्य स्पिनर नै चल्न नसक्दा कर्णालीबाट स्पिनर अट्याक प्रभावकारी बन्न सकेन । अन्य टोलीका स्पिनरले खेलको नतिजा परिवर्तन गर्दा कर्णालीका स्पिनर फितला देखिए ।

सोमपाल र नन्दन ठिकठाक, चलेनन् ब्याटिङमा

बलिङमा कप्तान सोमपाल कामी र नन्दन यादवले सन्तुलित प्रदर्शन गरे । ६ खेलमा सोमपालले ८ र नन्दनले ९ विकेट लिएका छन् ।

पछिल्ला दुई खेलमा भने सोमपाल विकेटविहीन रहे । नन्दन पहिलो खेलबाहेक अन्यमा विकेटविहीन भएका छैनन् । पेस बलिङमा खासै विकल्प नभएको कर्णालीलाई सोमपाल र नन्दनले निराश पारेनन् । तेस्रो विकल्पको रुपमा रहेका गुल्सन झाबाट भने सोचेअनुरुप प्रदर्शन हुन सकेन ।

बलिङमा ठिकठाक गरेका सोमपाल र नन्दन ब्याटिङमा भने चल्न सकेनन् । सोमपालले ३ खेलमा ब्याटिङको अवसर पाए । जहाँ उनले मात्र ३३ रन बनाए । ३ खेलमा ब्याटिङको अवसर पाएका नन्दनले मात्र ५ रन बनाए  ।

गुल्सन र पवनको औसत प्रदर्शन

पछिल्लो समय राष्ट्रिय टोलीमा रहेर उत्कृष्ट प्रदर्शन गरिरहेका गुल्सन झाबाट धेरैले उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेका थिए । युवा अलराउण्डर गुल्सनले बलिङमा प्रभाव देखाउन सकेनन् भने ब्याटिङमा पनि सोचेजस्तो भएन । काठमाण्डु गोर्खाजविरुद्ध २२ बलमा ४९ रन बनाउनुबाहेक एनपीएलका ६ खेलमा गुल्सनले उल्लेखनीय योगदान दिएका छैनन् । ६ खेलमा उनले मात्र ९१ रन बनाउनुका साथै ३ विकेट लिएका छन् । गुल्सनका विनिङ सटहरु यसपटक दर्शकले देख्न पाएनन् ।

अर्का आश गरेका अलराउण्डर पवन सर्राफ ब्याटिङमा ठिकठाक रहे । घाइते भएका कारण एनपीएलको पहिलो सिजन गुमाएका पवनलाई दोस्रो सिजनमा कर्णालीले अधिकतम मूल्यमा अनुबन्ध गरेको थियो । मध्यक्रममा आएर उनले केही उपयोगी रन बनाए । यद्यपि, ठूलो स्कोर बनाउन भने चुके । काठमाण्डुविरुद्ध बनाएको ३५ रन नै उनको सर्वाधिक स्कोर हो । बलिङमा भने उनले मात्र २ विकेट लिए ।

यस्तै युवा खेलाडी दीपक डुम्रे, युनिस सिंह ठकुरी, दीपेन्द्र रावतजस्ता खेलाडीबाट गतिलो प्रदर्शन हुन सकेन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *