
काठमाडौं । पाँचौं हारसँगै कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को प्लेअफ दौडमा बाहिरिएको छ ।
मंगलबार भएको आफ्नो छैटौं खेलमा पोखरा एभेन्जर्ससँग ३४ रनले पराजित हुँदै कर्णाली प्लेअफ दौडबाट बाहिरिएको हो । ६ खेलमा एक खेलमा मात्रै जित निकालेको कर्णाली प्लेअफबाट बाहिरिने पहिलो टोली बनेको छ ।
पाँचौं खेलमा दोस्रो जित निकालेको पोखराले प्लेअफको सम्भावना कायमै राखेको छ । पोखरा एभेन्जर्सले दिएको २०२ रनको लक्ष्य पछ्याएको कर्णाली १९ ओभरमा १६७ रनमा समेटियो ।
कर्णालीका लागि ओपनर मार्क वाटले सर्वाधिक ५९ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन । ओपनर प्रियांक पञ्चाल १६, जयकिशान कोल्शावाला ६, पवन सर्राफ १९, नजिबुल्लाह जद्रान २४, गुल्सन झा ९, कप्तान सोमपाल कामी १३, दीपेन्द्र रावत १०, विपिन शर्मा ० र युनिष सिंह ठकुरी एक रनमा आउट भए । नन्दन यादव ३ रनमा अविजित रहे ।
बलिङमा पोखराका ऋषि धमला र धनन्जय लक्षनले ३–३ विकेट लिए । किरण ठगुन्ना, सन्दीप क्षेत्री र कप्तान कुशल भुर्तेलले एकएक विकेट लिए ।
त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा २ विकेट गुमाउदै २०१ रन बनाएको थियो ।
पोखराका लागि ओपनर एडम रोसिङटनले शतक प्रहार गरे । एडम ५८ बलमा १०८ रनमा अविजित रहे । जेसोन रोय ४६ र कप्तान कुशल भुर्तेल १८ रनमा आउट भए धनन्जय लक्षन २३ रनमा अविजित रहे । बलिङमा कर्णालीका मार्क वाट र गुल्सन झाले एकएक विकेट लिए ।

Leave a Reply