आफ्नै चलचित्रको प्रिमियरमा आएनन ‘अभिमन्यु’ का निर्माता

काठमाडौं । यहीँ मंसिर १८ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र हो, ‘अभिमन्यु च्याप्टर १’। निर्माता विनोद पौडेल निर्मित यो चलचित्रको हिजो अर्थात सोमबार राजधानीमा ग्राण्ड प्रिमियरको आयोजना गरिएको थियो। प्रिमियरमा चलचित्रको टिमसहित केही चलचित्रकर्मी, निर्देशक र निर्माताहरु उपस्थित थिए।

तर १ करोड १५ लाख खर्च गरेर बनाएको आफ्नै चलचित्रको प्रिमियरमा निर्माता विनोद पौडेल भने उपस्थित भएनन् । सबै टिम कार्यक्रममा उपस्थित भई दर्शकको प्रतिक्रिया लिइरहँदा, उनी भने आफ्नै चलचित्रको प्रिमियरमा अनुपस्थित रहे। चलचित्र निर्माणदेखि प्रचारप्रसारसम्म झण्डै २ करोड खर्च गरेका निर्माता पौडेल किन आफ्नै चलचित्रको प्रिमियरमा पुगेनन ?

खासमा उनी अहिले आफ्नो अर्को चलचित्र ‘रोल नंं. १’ को छायांकनमा व्यस्त छन् । आइतबार शुभ मुर्हूत गरी सोमबारबाट यो चलचित्रको छायांकन म्याग्दीबाट सुरु भएको हो। दुई हप्ता लामो वर्कसपपछि निर्माण टिम छायांकनमा निस्किएकाले उनी अभिमन्युको प्रिमियरमा उपस्थित हुन सकेनन् । अहिले पनि उनी म्याग्दीमै छन् ।

‘रोल नंं. १’ को छायांकन करिब डेढ महिना चल्नेछ। सो अवधिभर उनी यहीँ चलचित्रको छायांकनमा व्यस्त हुनेछन् ।

यति भनिरहदा, डेढ महिना उनी अर्को चलचित्रमा व्यस्त हुँदा यता ‘अभिमन्यु’ को के हुन्छ ? र यता कसले म्यानेज गर्छ ? भन्ने धेरैको चासोको विषय हुन सक्छ। यहीँ कुरालाई मध्यनजर गर्दै हामीले उनलाई प्रश्न गर्यौ, ‘एउटा चलचित्र रिलिजको मुखमा छाडेर अर्कोतर्फ लागीहाल्नुपर्ने हतार किन ?’

उनले भने, ‘यहीँ बेला यता ‘रोल न.१’ को शुभ मुर्हूत गरेर छायांकनमा जानु परेकाले म यता आउनुपर्यो। नत्र मलाई पनि आफ्नो चलचित्रको कार्यक्रममा उपस्थित भई सबैको प्रतिक्रिया प्रत्यक्ष सुन्न मन थियो। तर केही छैन, म यता भएपनी, उता मेरो चलचित्रको सबै जिम्मेवारी सम्हाल्ने भाईहरु हुनुहुन्छ। टिम छ। दुईतिर राम्रै म्यानेज हुन्छ।’

आफू म्याग्दीमा भएपनी, प्रिमियरमा उपस्थित सबैको सकारात्मक प्रतिक्रियाले थप उर्जा मिलेको पौडेलको भनाई छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *