
काठमाडौं । लामो समयदेखि नेपाली राष्ट्रिय टीमका नियमित ओपनर हुन् आसिफ शेख र कुशल भुर्तेल । नेपाल प्रिमियर लिगमा भने उनीहरूले फरक फरक टीमबाट खेल्छन् । कुशल पोखरा एभेन्जर्सका कप्तान हुन् भने आसिफ जनकपुर बोल्ट्सका ओपनर ।
एनपीएलको दोस्रो संस्करणमा यी दुवै ब्याटर उस्तै-उस्तै लयबाट गुज्रिरहेका छन् । पछिल्ला तीन म्याचमा त उनीहरूको स्कोरकार्ड दुरुस्तै एउटै छ, मानौं सल्लाह नै गरेर खेलिरहेजस्तो ।
भुर्तेल पहिलो र दोस्रो म्याचमा उत्कृष्ट लयमा देखिएका थिए । विराटनगरविरुद्धको पहिलो म्याचमा उनले विष्फोटक अर्धशतक बनाए । ३१ बलमा ५९ रन हान्दा उनले ४ छक्का र ५ चौका प्रहार गरेका थिए । २२१ रनको कीर्तिमानी लक्ष्य पछ्याएको पोखरा कुशल क्रिजमा हुँदासम्म जितको दिशामा थियो । उनी आउट भएसँगै टीम धराशयी बन्यो र ५३ रनको पराजय व्यहोर्यो ।
सुदूरपश्चिमविरुद्धको दोस्रो म्याचमा पनि भुर्तेलले उस्तै आक्रामक अन्दाजमा अर्धशतक बनाए । ३२ बलमा ५२ रन बनाएका उनले ४ छक्का र ४ चौका प्रहार गरेका थिए । यो म्याचप नि पोखराले हार्यो ।
तेस्रो म्याचदेखि भने भुर्तेल फ्लप छन् । जनकपुर र लुम्बिनीविरुद्धको म्याचमा उनी लगातार गोल्डेन डकआउट भए । आज जारी कर्णालीविरुद्धको म्याचमा उनले १८ बलमा १८ रन बनाएर आउट भएका छन् ।
कुशलजस्तै अवस्थाको छ आसिफको पनि । उनले पनि पहिलो म्याचमा उत्कृष्ट अर्धसतक हान्दै शानदार सुरूवात गरे, तर टीमलाई जिताउन सकेनन् । दोस्रो म्याचबाट भने उनको ब्याट सेलायो । विराटनगरविरुद्धको दोस्रो म्याचमा उनले ११ बलमा १३ रन मात्रै जोड्न सके । त्यसपछिका तीन खेलमा उनको स्कोर ठ्याक्कै कुशल भुर्तेलकै जस्तो छ । पोखरा र सुदुरपश्चिमविरुद्ध लगातार शून्यमा आउट भए । आज चितवन राइनोजविरुद्ध १८ बलमा १८ रन जोडे ।
जनकपुरले आज सिजनको पहिलो जित दर्ता गरेको छ । यससँगै जनकपुरले पोखरालाई पुछारमा झार्दै सातौं नम्बरमा उक्लिएको छ । दुवै टीम समूहचरणबाट बाहिरिने उच्च जोखिममा छन् ।
कुशल र आसिफ आउँदो टी-२० विश्वकपमा पनि सम्भवत नेपालका ओपनिङ जोडी हुन् । उनीहरू दुवैको फर्म नेपाली राष्ट्रिय टीमका लागि निकै महत्वपूर्ण छ ।

Leave a Reply