
काठमाडौं । इन्डोनेसियाको सुमात्रा टापुमा बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या मंगलबार ७५३ पुगेको छ भने ५०४ जना बेपत्ता भएको प्रकोप निकायले जनाएको छ ।
सोमबार एजेन्सीले ६०४ जनाको मृत्युको भएको तथ्यांक सार्वजनिक गरेको थियो ।
द गार्जियनका अनुसार यस हप्ता भारी मनसुनी वर्षा र उष्णकटिबंधीय चक्रवातले इन्डोनेसिया, श्रीलंका र दक्षिणी थाइल्याण्ड लगायत एसियाका केही भागहरूलाई तहसनहस पारेको छ । यस क्षेत्रभरि १,२०० भन्दा बढी मानिसको मृत्यु भएको छ । पूर्वाधार नष्ट भएको छ र शहरहरू डुबानमा परेका छन् । इन्डोनेसियामा मात्र बाढीबाट ३२ लाख मानिस प्रभावित भएका छन् भने २,६०० जना घाइते भएका छन् । उच्च जोखिम भएका क्षेत्रहरूबाट दश लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
सहायताकर्मीहरू र प्रतिक्रिया टोलीहरूले बाँचेकाहरूसम्म पुग्ने प्रयास गरिरहेको जनाएका छन् । अवरुद्ध सडकहरू र भत्किएका पुलहरूले बाधा पुर्याइरहेको उनीहरुको भनाइ छ । उत्तरी सुमात्राका केही क्षेत्रमा सडक पहुँचयोग्य छैनन् ।
सबैभन्दा बढी प्रभावित क्षेत्रहरू मध्ये एक आचेहमा बजारहरूमा चामल, तरकारी र अन्य आवश्यक वस्तुहरू सकिँदै गएका छन् । बजार मूल्य तीन गुणा बढेको इस्लामिक रिलीफले जनाएको छ । जसले १२ टन आपतकालीन खाद्य सहायता पठाइरहेको छ।
‘यदि आगामी सात दिनमा आपूर्ति लाइनहरू पुन: स्थापित गरिएन भने आचेहभरिका समुदायहरू खाद्यान्न अभाव र भोकमरीको गम्भीर जोखिममा छन् ।’ च्यारिटीका लागि योगदान गरिरहेका संस्थाले जनाएका छन् । इन्डोनेसियाली सरकारले सोमबार आचेहका साथै उत्तरी सुमात्रा र पश्चिम सुमात्रा प्रान्तहरूमा ३४,००० टन चामल र ६८ लाख लिटर खाना पकाउने तेल पठाउने बताएको छ।
विश्व स्वास्थ्य संगठनले यस क्षेत्रमा द्रुत प्रतिक्रिया टोली र महत्वपूर्ण आपूर्तिहरू तैनाथ गरिरहेको र रोग निगरानीलाई सुदृढ गरिरहेको बताएको छ । एजेन्सीका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले जेनेभामा पत्रकारहरूलाई जलवायु परिवर्तनले बारम्बार र चरम मौसमी घटनाहरू निम्त्याएको बताए । यसले विनाशकारी प्रभाव निम्त्याएको उनको भनाइ छ ।
धेरैजसो उद्धार आश्रयस्थलमा बसिरहेकाले शक्तिशाली बाढी कसरी द्रुत गतिमा आयो र गाउँहरू डुबायो भनेर वर्णन गरेका छन् । ‘हामीले त्यो रात बाँच्नेछौं भन्ने सोचेका थिएनौं किनभने अवस्था यति अराजक थियो, सबैजना आफूलाई बचाउने बारेमा सोचिरहेका थिए । पानी आउनुभन्दा पहिले कुनै पूर्व चेतावनी दिइएको थिएन,’ इस्लामिक बोर्डिङ स्कूलकी १७ वर्षीया विद्यार्थी गहित्सा जहिरा काह्यानीले भनिन्, ‘स्कूलका सयौं विद्यार्थीहरू रातमा सुरक्षित स्थानमा भागे, तिनीहरूमध्ये केही रूखहरू र मस्जिदको छानामा टाँसिएर बसेका थिए ।’
समाचार अनुसार यो समयको मनसुनमा प्रायः भारी वर्षा हुन्छ जसले पहिरो र बाढी निम्त्याउन सक्छ । तर यस वर्षको मुसलधारे वर्षालाई मलाक्का स्ट्रेटमा बनेको दुर्लभ उष्णकटिबंधीय आँधीले जटिल बनायो । जसले सुमात्रा र दक्षिणी थाइल्याण्डका केही भागहरूमा विनाश गर्यो । जहाँ १८१ जनाको मृत्यु भयो ।
श्रीलंकाले पनि एउटा छुट्टै आँधी दिट्वाका कारण आएको विनाशकारी बाढी र पहिरोको सामना गर्नु परेको छ । यसले ४१० जनाको मृत्यु भएको छ भने ३३६ जना अझै बेपत्ता छन् । राष्ट्रपति अनुरा कुमार दिसानायकेले ‘हाम्रो इतिहासको सबैभन्दा चुनौतीपूर्ण प्राकृतिक प्रकोप’ भनेर सम्बोधन गर्दै आपतकालीन अवस्थाको घोषणा गरेका छन् ।
देशभर वर्षा कम भएको छ, यद्यपि पहिरोबाट सबैभन्दा बढी प्रभावित मध्यक्षेत्रका अधिकांश भागमा पहिरोको चेतावनी अझै लागू रहेको अधिकारीहरूले बताएका छन् ।

Leave a Reply